२०७९ असार २३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सा११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार

११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार



डा. सर्वेश्वर सौरभ (बिएएमएस)

कहिले कुनै लक्षणका साथ त कहिले बिना अन्य लक्षण सामान्य दिनचर्यामा टाउको दुख्ने भैरहन्छ । व्यस्त जीवनशैलीमा पहिला त त्यो दुखाई सहिन्छ त कहिले बढी हुँदा दुखाई कम गर्ने औषधि पसलबाट किनेर खाइन्छ । सामान्य जीवनमा यस्तो समस्या धेरै मानिसलाई भैरहेको हुन्छ ।

तर, समस्या तब विकराल देखिन्छ, जब त्यो टाउको दुखाईको क्षण बार–बार दोहोरिन्छ, दुखाईको वेग तीव्र हुन्छ, बढ़ी समयसम्म भैरहन्छ र दैनिक क्रियाकलापमा बाधा हुन थाल्छ । बढ़ी समस्या हुँदा जाने भनेको अस्पताल हो । तर, त्यहाँ पनि कतिपय मानिसको रगतको जाँच, एक्सरे, सिटी स्क्यान, एमआरआई आदि परीक्षण सामान्य हुन्छन् । औषधि खाइन्छ, ठीक भएजस्तो लाग्छ तर पछि दुखाई ज्युँका त्युँ हुन्छ । कतिपय अवस्थामा रगत, एक्सरे आदि असामान्य भै रोग पहिचान भैकन पनि औषधि उपचारले सुधार भैरहेको हुँदैन् ।

टाउको दुख्नुका विभिन्न कारणहरु हुन सक्छन् । आँखा, नाक, कान, दाँतका समस्या, पिनास, उच्च रक्तचाप, कपाल र छालाको समस्या, चिसो, टाउकोमा चोटपटक, मस्तिष्ककै अन्य जटिल रोग, चिन्ता, तनाव, मानसिक समस्या आदि विभिन्न कारणहरुले टाउको दुख्ने भैरहेको हुन सक्छ । आयुर्वेदमा टाउको दुख्ने समस्यालाई शिरोरोग अन्तर्गत राखेर यसको कारण, लक्षण, वर्गीकरण र उपचार गरिन्छ ।

वातज शिरोरोगमा बिना कुनै स्पष्ट कारण टाउको दुख्छ, दुखाई रातमा बढ़ी हुन्छ भने टाउकोमा कपड़ा कसेर बाँध्नाले र तातोपनको प्रयोगले दुखाई कम हुन्छ । यसमा सियोले घोचेजस्तो, टाउको फुट्न लागेजस्तो पीडाको अनुभूति हुन्छ । यस्तोमा कान कराउने र दुख्ने, आँखा दुख्ने, उज्यालोमा बस्न मन नलाग्ने, नाक बग्नेका साथै रिंगटा लाग्ने पनि हुन सक्छ । यस्तो दुखाई अचानक सुरु र शान्त हुने हुन्छ । टाउकोमा मालिस, तेल प्रयोग, तातोपना र कपड़ा बेर्नाले कतिपयलाई दुखाई कम भएको अनुभूति हुन्छ ।

११ थरी टाउको दुख्ने समस्या

पित्तज शिरोरोगमा टाउको, आँखा, नाकमा तातोपना र पोलेकोजस्तो अनुभूतिका साथ टाउको दुख्छ । यसमा ज्वरो, पसिना आउनुका साथै बेहोसीजस्तो अनुभूति पनि हुन सक्छ । यस्तो किसिमको दुखाई चिसो र रातमा घटने हुन्छ ।


कफज शिरोरोग
मा टाउको र घाँटी भारी भएको अनुभूति हुन्छ । घाँटीमा कफ बसेजस्तो र चिपचिप हुने हुन्छ । टाउको चिसो भएको, आँखामुनि र मुख सुन्निएको पनि हुन सक्छ । अर्को त्रिदोषज शिरोरोगमा माथिका सबै लक्षणहरुसँग मिल्दोजुल्दो हुन्छन् ।


रक्तज शिरोरोग
मा पित्तजजस्तै टाउको पोलेको अनुभूति, चिसो र रातमा दुखाई कम हुने हुन्छ । तर, यसमा विशेष गरी टाउको छोइनसक्नु हुन्छ ।


क्षयज शिरोरोग
विशेषगरी पौष्टिक आहारको कमी, अन्य रोग, रक्तस्राव आदिका कारण शरीर कमजोर भएपछि हुने कष्टदायी र तीव्र किसिमको टाउको दुखाइ हो । यस्तो दुखाई पसिना, बान्ता, धुँवा, नाकमा तेल हाल्नाले बढ़ने हुन सक्छ ।


कृमिज शिरोरोग
मा टाउकोमा सियोले घोचेजस्तो एकदम तीव्र पीड़ा हुन्छ । यसमा नाकबाट रगत जाने वा पातलो स्राव हुन सक्छ । रोगीलाई ज्वरो, खोकी, टाउकोमा घाउ, चिलाउने, टाउको भिजेकोजस्तो हुने आदि लक्षणहरु देखिन सक्छन् ।


सूर्यावर्त शिरोरोग
मा बिहान सूर्य उदयसँगै टाउको दुखाई मन्द रूपले शुरू भई दिउँसो तीव्र हुँदै जान्छ र सूर्य पश्चिम लाग्दै जाँदा अर्थात गर्मी कम हुँदा दुखाई पनि कम हुन्छ । दुखाई आँखा र आँखामाथि ललाटमा धेरै हुन्छ । भोक लाग्दा दुखाई बढ्छ । प्रायः शीतल द्रव्य र कुनै कुनै अवस्थामा तातो द्रव्यको प्रयोगले दुखाई कम भएको अनुभूति हुन्छ ।


अनन्तवात शिरोरोग
मा घांटीको पछाडि भाग, आँखा र कान वरिपरि दुख्ने, काम्ने र घांटी–टाउको चलाउन गाह्रो हुन्छ ।


अर्धावभेदक शिरोरोग
मा टाउकोको आधा भागमा १०–१५ दिनको अन्तरमा वा अचानक हड्डी भाँचेको जस्तो, सियोले घोचेजस्तो अत्यन्त तीव्र किसिमको पीड़ा हुन्छ । साथै वरिपरिको कुरा थाहा नपाउने गरी भ्रम पनि हुन सक्छ । केही मिनेट, घंटा वा दिन पछि दुखाई आफै शान्त पनि हुन्छ ।


शंखक शिरोरोग
मा शंख अर्थात दुवै कान पट्टी एकदम तीव्र दुखाई हुन्छ । यस्तो दुखाई पोल्ने, सियोले घोंचेजस्तो र समयमा उचित चिकित्सा नगरिए प्राणघातक समेत हुन सक्छ । यसमा तिर्खा बढी लाग्ने, बेहोसी र ज्वरो पनि आउने हुन्छ ।

के कारणले दुख्छ टाउको ?

यी रोगहरुको चिकित्सामा निदान परिवर्जन (रोगको कारण पता लगाई तिनको त्याग गर्ने), संशोधन (वमन, विरेचन आदि कर्म), संशमन (विभिन्न औषधिको सेवन) र पथ्य–अपथ्य आहार विहार, योग, ध्यान र प्राणायामको प्रयोगले दुखाई निको पार्ने, दुखाईको वेग, समय र दोहिरिने अंतराल कम गर्न सकिन्छ ।

शिरोरोगका सामान्य कारणहरु जस्तै धूलो, धुँवा, पानीमा धेरै पौड़ी खेल्ने, एकदम धेरै वा कम सुत्ने, गलत समयमा सुत्ने, अग्लो सिरानी, असजिलो ओछ्यानमा सुत्ने, चिन्ता, तनाव, धेरै रुने, शोक, रिस आदि मानसिक संवेग दबाउने, अधिक मद्यपान, शिरमा तेलको प्रयोग नगर्ने, टाउकोको अस्वाभाविक घुमाई, असात्मय गन्ध, दृश्य, आवाज आदि कारणहरुको त्याग गर्नुपर्छ ।

टाउको दुख्ने समस्याको उपचार ?

संशोधन चिकित्साकर्म अन्तर्गत यसमा नस्य अर्थात शिरोविरेचन (नाकबाट औषधि दिने कर्म), शिरोसेक (औषधिको हल्का तातो क्वाथ, दूध आदिले शिर सेक्ने), शिरोलेप र प्रलेप (हल्का तातो औषधियुक्त तेल, घृत, दूधको शिरमा लेप गर्ने), शीतल लेप र प्रलेप, उपनाह (औषधि द्रव्य राखी कपडा आदिले बाँध्ने–बेडने), परिषेक (शिरमा औषधि द्रव्य छर्कने), शिरोवस्ती (शिरको वरिपरि मासको पिठोले घेरा बनाई त्यसमा द्रव्य औषधि राख्ने), शिरोधारा (औषधियुक्त क्वाथ, तेल, दूधको धारा निश्चित उचाइबाट रोगीको टाउकोमा पार्ने), गण्डूष (मुखमा औषधि द्रव्य राखेर चलाउने), कवल (मुखमा औषधि द्रव्य नचलाईकन धारण गर्ने), धुम्रपान (औषधि द्रव्यको धूम–धुँवा सेवन), वमन, विरेचन, वस्ती आदिको आवश्यकता अनुसार प्रयोग गरिन्छ । यसका साथै संशमन चिकित्साकर्म अन्तर्गत औषधिको चूर्ण, क्वाथ, अवलेह आदिको पनि आभ्यन्तर सेवन गराइन्छ ।

आहार विहारको रुपमा पुरानो घिउ, शालि र साठी धानको चामल, दालको पानी, परवल, सहिजन, किसमिस, बथुवा साग, करेला, आँप, अमला, अनार, कागती, मही, हर्रो, घिउकुमारी नागरमोथा आदि पथ्य छन् ।

योग र आसनमा प्राणायाम, अनुलोम–विलोम, हस्तपादासन, सेतुबन्धासन, शिशवासन, पश्चिमोत्तासन, पद्मासन, शवासन, अधोमुख शवासन, प्रातःकाल स्वच्छ वातावरणमा भ्रमण आदि रोगअनुसार गर्न सकिन्छ ।

तर, साइड इफेक्ट हुँदैन भनेर जथाभावी जड़ीबूटी र आयुर्वेदिक औषधि खाने काम चाहिँ गर्नुहुन्न । साथै पहिलादेखि सेवन गर्दै आएको औषधि बिना चिकित्सकको परामर्श चटक्कै छोड़ने काम पनि गर्नु हुन्न । आयुर्वेद चिकित्सा सेवा लिन चाहे त्रिवि आयुर्वेद शिक्षण अस्पताल, नरदेवी आयुर्वेद चिकित्सालय, जिल्लास्थित आयुर्वेद औषधालयलगायतका ठाउँमा उपचार र सेवा लिन सकिन्छ ।

(लेखक त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्नसीप गर्दैछन् ।)

Email: [email protected]


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)