२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगयसरी बुझौं योगको महत्व

यसरी बुझौं योगको महत्व


नीतिगत र प्रयोगात्मक आधारमा योग विज्ञानलाई समय सापेक्ष बनाउन सके शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गरी देशलाई शान्ति र समृद्धिको दिशातिर अघि बढाउन सकिने सम्भाव्य आधारहरु धेरै देखिन्छन् । नेपालको सन्दर्भमा निम्न विषयसँग जोडेर योगलाई आम नागरिकसम्म पु¥याउन सके योगको महत्व अझ धेरै बढेर जाने थियो ।

१. चिकित्सामा योग
२. शिक्षामा योग
३. पुनर्स्थापनामा योग
४. खेलकुदमा योग
५. पर्यटनमा योग

चिकित्सामा योग

अहिलेको समयमा मानव स्वास्थ्यमा देखिने मुख्य समस्या भनेको नसर्ने रोग (उच्च रक्तचाप, मुटुजन्य रोग, मधुमेह, स्वासप्रश्वासजन्य समस्या तथा क्यान्सर) हुन् । नसर्ने रोगहरु असन्तुलित खानपान, शारिरीक निष्कृयता, व्यायामको कमी र कुलत तथा तनावजन्य मुख्य कारणले हुने गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्। विधिपूर्वक नियमित गरिने योगाभ्यासले सन्तुलित जीवन बिताउने कलाहरु सिकाउँदै यी रोगलाई न्यूनीकरण र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्दछ।

नियमित गरिने योगाभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। योगका विभिन्न अभ्यासहरु जस्तै आशन, सटकर्म क्रिया, सात्विक आहार विधि, मुद्रा, प्राणयाम, ध्यान, र प्राकृतिक जीवनशैलीसहित दिनचर्याले मानव अस्तित्वका सबै कोषहरु सन्तुलित हुन्छन्। जसले गर्दा काम, क्रोध, लोभ, मोह, भयजस्ता असंयमित भावहरुबाट मुक्त भएर आनन्दमा आधारित जीवनशैलीको विकास गर्न सकिन्छ।

शिक्षामा योग

पुराना ग्रन्थ, विभिन्न ऋषिमुनिहरुका दर्शन, सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासजस्ता विषयहरुको अध्ययन गर्दा योगले सिद्धान्तनिष्ठ, नैतिकता र सरल जीवन बिताउने जीवनशैलीले मार्गदर्शन गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । योग ध्यान र प्रणायामको नियमित अभ्यासले सम्पूर्ण स्नायु प्रणालीमा सकारात्मक उर्जा प्रवाह गर्दछ। हर्मनहरुलाई क्रियाशील बनाउँदछ।

मनको चञ्चलता हटाउँदै शिक्षक र विद्यार्थीहरुमा स्मृतिशक्ति वा सम्झने ज्ञानलाई बढाउँछ। बालबच्चाहरुमा उत्पन्न हुने मनोत्रासजन्य कारणबाट उत्पन्न हुने मानसिक तनावलाई पनि नियमित गर्ने योग अभ्यासले न्यूनीकरण गर्न सकिने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन्। त्यसैले विद्यालय योग शिक्षामा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासले शिक्षामा समेत नयाँ उर्जा थप्न सकिन्छ।

पुनर्स्थापनामा योग

विभिन्न किसिमका रोग, चोटपटक, दुर्घटना तथा मानसिक असन्तुलनजस्ता कारणहरुबाट उत्पन्न भएका समस्याहरुलाई सामान्य अवस्थामा फर्काउनु वा त्यसो हुन नसकेमा पनि ती दुःख पीडाहरुमा सहजता थप्नु नै पुर्नस्थापना हो । योग पुर्नस्थापनामा विशेष गरी हृदयघात मस्तिष्कघात, ठूला चोटपटक तथा दुर्घटनापछि हुने शारीरिक तथा मानसिक विचलन, क्यान्सर तथा कुलतमा रहेका बिरामीहरुमा प्रभावकारी छ।

वैज्ञानिक अध्ययनहरुका अनुसार सामान्य पुनर्स्थापनाभन्दा योगिक पुर्नस्थापनाले त्यस्ता किसिमका बिरामीहरुमा उच्च मनोबलका साथै आत्मबल बढाएको पाइन्छ।

खेलकुदमा योग

योगले खेल जगतमा नयाँ उर्जा थप्न महत्वपूर्ण भूमिका खेल्दछ। नियमित योग अभ्यासले खेलाडीहरुलाई शारिरीक सुगठन, मानसिक एकाग्रता, दबाब, थकान तथा समयको सन्तुलन कायम गर्दै अनुशासित र नैतिकवान बनाउँछ। योगले खेलाडीहरुमा अनुकुलता–प्रतिकूलता, जीत–हारमा समेत संयमित बनाउँदै सामाजिक सद्भाव कायम राख्ने मनोबलको विकास गराउँछ।

योग आफैंमा व्यायाम तथा खेलकूदसँग जोडिएको विषय पनि हो। विभिन्न आशन, सुर्यनमस्कार, प्रज्ञायोग आदिलाई जोडेर समेत खेल आयोजना गर्न सकिन्छ। त्यसैले खेलकुदमा योग कार्यक्रमले पनि हाम्रो जस्तो देशमा एउटा फरक किसिमको विशेषता स्थापित गर्न सक्दछ।

पर्यटनमा योग

प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण रहेको नेपाल भूमी योगको उद्गमस्थल हो। नाथ सम्प्रदायका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेको र गौतम वुद्धले योग र ध्यानको साधनाद्धारा शान्तिको सन्देश छरेको इतिहास हाम्रा सामु प्रष्ट छ। त्यसैले पनि हाम्रो भूमी योग पर्यटनका प्रसस्त सम्भावना रहेको ठाउँ हो।

पर्वतीय क्षेत्रमा पर्यटकहरुलाई अक्सिजनको कमीका कारण उत्पन्न हुने विभिन्न किसिमका नकारात्मक असरहरु न्यूनीकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै महत्वपूर्ण छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँहरु नेपालमा प्रसस्त छन्। हिमाल, पहाड र तराईको त्रिपक्षीय सन्तुलन कायम रहेको सानो क्षेत्रफल भएको हाम्रो देशमा विश्वका पर्यटकहरुलाई आकर्षित गर्ने थुप्रै आधारहरु छन्।

जहाँ योगका विभिन्न विधीहरुसहितका ध्यान केन्द्र र साधनास्थलहरु निर्माण गर्न सकिन्छ। जसबाट नेपाललाई छुट्टै पहिचान भएको देशका रुपमा विकास गर्दै आर्थिक समुन्नतमा समेत टेवा मिल्छ।

(लेखक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख तथा योग अभियन्ता हुन।)


क्याटेगोरी : योग, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ