२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशपाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना

पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना


चरिकोट–दोलखाका सहरदेखि गाउँसम्म एउटा हातमा व्लड ब्याग र अर्कोमा विपी सेट बोकेर लुखुर–लुखुर हिडिरहेकी हुन्छन्, एक युवती । रक्तदान कार्यक्रम आयोजना गरिएको हरेक स्थानमा पुगिरेहकी उनको सक्रियता अनौठो छ । सेतो ड्रेस लगाएर रक्तदानमा चाहिने सम्पूर्ण सामान बोकेर हिड्न उनी सधैं अग्रपंक्तिमा हुन्छिन् । उनी हुन्—तामाकोशी गाउँपालिकाकी–५ सहरेकी २५ वर्षीया सुशना फुयाँल ।

रक्तदान कार्यक्रमस्थलमा कहिलेकाही आयोजकभन्दा पहिला नै पुगेर व्यवस्थापनमा जुटिसकेकी हुन्छिन् । फुयाँल रक्तदान कार्यक्रममा खट्न बढी खुशी र आनन्द महसुस गर्छिन् । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखामा ल्याब असिष्टेण्ट हुन्, सुशना । यहाँ काम गर्न थालेको पनि ६ वर्ष पूरा भइसक्यो ।

अहिलेसम्म दोलखाका सबै पालिकामा आयोजना हुने रक्तदान कार्यक्रममा पुगेका छन्, उनी । सदरमुकाम चरिकोटमा त प्रायः हप्ता दश दिनमै कार्यक्रम आयोजना हुने भएकाले कुनै कार्यक्रम उनले छोडेकी छैनन् । अहिलेसम्म उनले दिनमा ५० जनाभन्दा बढीको रगत तानेको अनुभव संगालेकी छन् । रगत तान्ने काम सुरु गरेदेखि उनको हिसाबमा अहिलेसम्म पाँच हजार जना नाघिसकेका छन् ।

दोलखामा अहिले बजारमा मात्र होइन, अहिले गाउँ–गाउँमा रक्तदान कार्यक्रम आयोजना हुन थालेका छन् । पछिल्लो समय एकैदिन २ वटासम्म रक्तदान आयोजना गरेको रेकर्ड देखिन्छ । आफूले पनि अहिलेसम्म ११ पटक रक्तदान गरेको उनी सुनाउँछिन् । सुशनाकाअनुसार १८ वर्ष उमेर पुगेका सबैले रक्तदान गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ । उनी आफ्नै साथीहरुलाई पनि रक्तदान गर्नको लागि उत्साहित गर्दै आएका छिन् ।

बिहानदेखि बेलुकीसम्म खटेर काम गर्दा पनि कुनै थकाइ महसुस गर्दिनन् । दोलखाको कतिपय भूगोल टाढा रहेकाले बेलुकी अबेरसम्म समय लाग्ने गरेको उनी बताउँछिन् । दिनमा बढीभन्दा बढीलाई रक्तदानमा समावेस गर्न पाउँदा भने बढी खुशी हुन्छिन् । अहिले पनि कतिपय मान्छेलाई रक्तदानको बारेमा बुझ्न र बुझाउन नसकेकै कारण रगत अभावमा कयौंले ज्यान गुमाइरहेका छन् ।

कलेज पढ्ने विद्यार्थीहरुलाई मात्र रक्तदानबारे जनचेतना दिलाउन सकेमा रगत नपाएर कसैले ज्यान गुमाउनु नपर्ने उनको बुझाइ छ । ‘बुझेकै मान्छेले पनि रक्तदान गर्न मान्दैनन्,’ सुशना भन्छिन्, ‘रक्तदान नगरे तापनि ३ महिनापछि रगत त्यसै खेर जाने भएकाले स्वस्थ मान्छेले ३÷३ महिनामा रक्तदान गर्दा केही फरक पर्दैन् ।’

जिल्लामा रगत अभाव हुन नदिनका लागि अहिले जिल्ला प्रशासन कार्यालय दोलखाकै सल्लाहमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले क्यालेण्डर तयार पारेर मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा विभिन्न संघसंस्था निकायहरुले रक्तदान कार्यक्रम गर्दै आएका छन् । एक महिनामै २१० जनासम्मले रगत दिएको रेडक्रस दोलखाको रेकर्डमा रहेको नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका मन्त्री भरतनारायण प्रधानले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ