२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी आयुर्वेद औषधालयमा अकुपञ्चर र क्षारसूत्र सर्जरी सेवा सुरू

धौलागिरी आयुर्वेद औषधालयमा अकुपञ्चर र क्षारसूत्र सर्जरी सेवा सुरू

अकुपञ्चर र क्षारसूत्र सर्जरी सेवा नसा, हाडजोर्नी र प्यारालाइसिसका बिरामीका लागि प्रभावकारी


पोखरा—बाग्लुङस्थित धौलागिरी आयुर्वेद औषधालयले न्यून शुल्कमा अकुपञ्चर तथा क्षारसुत्र सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । अकुपञ्चर सेवा गण्डकीका सरकारी स्वास्थ्य संस्थामा नै पहिलोपटक सुरु गरिएको औषधालयका प्रमुख डा. शरद पन्थीले जानकारी दिए ।

‘लमजुङमा अनौपचारिक हिसाबले सञ्चालन भएको भएपनि औषधालय व्यवस्थापन समितिले निर्णय गरेर अकुपञ्चर सेवा सञ्चालन गरेको गण्डकीमा यो नै पहिलो हो,’ उनले भने । निजी रुपमा सञ्चालित संस्थामा महंगो शुल्क तिरेर बिरामीले सेवा लिनुपर्ने बाध्यता हटाउन सेवा सुरु गरिएको उनले बताए ।

अकुपञ्जर विशेषज्ञ डा. शरदले चीनबाट एमडी गरेका छन् । त्यसैले विशेषज्ञ डाक्टर व्यवस्थापनमा समस्या नभएको उनले बताए । यसअघि आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङमा रहेका उनी गत असोजमा धौलागिरीमा सरुवा भएका थिए ।

उनकै सक्रियतामा व्यवस्थापन समितिको निर्णयबाटै अकुपञ्चर सेवा सुरु गरिएको हो । डा. शरदकाअनुसार नसा, हाडजोर्नी, माइग्रेन, प्यारालाइसिसमा अकुपञ्चर प्रभावकारी हुन्छ । अकुपञ्चर सेवा लिन बिरामीले दैनिक १ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

औषधालयमा क्षारसुत्र सर्जरी सेवा पनि सञ्चालनमा छ । क्षारसूत्र उपचारका लागि विशेषज्ञ डाक्टर नभएपनि ४५ दिने तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था भएको प्रमुख पन्थी बताउँछन् । क्षार सूत्र सर्जरीमा डा. पन्थी, डा.कमल विक्रम पौडेलका साथै १ अनमी र कविराज खटिने गर्छन् । आयुर्वेद पूर्वकर्म तथा पञ्चकर्म थेरापी सेवा पनि औषधालयमा छ ।

औषधालयमा दैनिक औसतमा ५० हाराहारीमा ओपीडी बिरामी आउने गरेका छन् । पाइल्स, फिसर र फिस्टुलालगायत गुदद्वार सम्बन्धी शल्यक्रिया सेवा सञ्चालनपछि सेवाग्राहीको आउने क्रम बढेको प्रमुख डा. पन्थी बताउँछन् ।

क्षारसूत्र माइनर सर्जरीका लागि ५ हजार रुपैयाँ शुल्क लाग्छ । निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सर्जरीको २०/२५ हजार लिने भए पनि सरकारी संस्था भएकाले न्यूनतम शूल्क औषधालय व्यवस्थापन समितिले तोकेको उनी बताउँछन् । औषधालयले बिहान साढे ४ बजेदेखि योग कक्षा सञ्चालन गरेको छ भने १० बजेदेखि ३ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।

नियमित आयुर्वेद चिकित्सा थेरापी, अकुपञ्चर, तेल मासिल, बाफले सेक्ने, प्रयोगशाला सेवा लिन आउने बिरामी बढिरहेको उनले जानकारी दिए । औषधालयबाट आयुर्वेदिक औषधी निःशुल्क वितरण हुन्छ भने योग पनि निःशुल्क नै छ । नसर्ने रोग निवारणका लागि योग महत्वपूर्ण हुने प्रमुख डा. पन्थी बताउँछन् । ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन सेवा, स्तनपान गराइरहेका आमालाई मातृशिशु सुरक्षाका लागि दुग्धवर्धक जडीबुटीजन्य औषधी वितरणलगायत कार्यक्रम पनि औषधालयले संचालन गरिरहेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ