२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारयौगिक कर्मद्धारा आफूलाई चिनौं –गुरुदेशलाई चिनाऔं

यौगिक कर्मद्धारा आफूलाई चिनौं –गुरुदेशलाई चिनाऔं


‘न तस्य रोगो नजरा न मृत्युः प्राप्तस्य योगाग्निमयं शरीरम् ।’

(श्वेताश्वतरोपनिषद, द्धितियोध्यायः १२ औं श्लोकको द्धितिय हरफ ।)

अर्थात योग अभ्यासद्धारा अग्नी स्वरुप बनेको हाम्रो शरीर रोग, बुढौलीपन र मृत्युको भयबाट पनि मुक्त हुन्छ ।

वर्तमान समय अत्यन्तै चुनौतीपूर्ण छ । प्राकृतिक कठिनाइहरु छन् । खानपान, दैनिकी, संगत र उठबस पनि त्यस्तै जटिल बन्दै गएको अवस्थामा शारीरिक, मानसिक र वौद्धिक रुपमा सक्षम अनि सम्पन्न भएर अगाडि बढ्नुुको विकल्प छैन । हो त्यही विकल्पको सहज मार्ग हो यौगिक कर्म र यौगिक जीवन । यी दुवैलाई सँगै अगाडी बढाउन आफूमा योगप्रतिको सकारात्मक अनुशासन (Discipline) र आत्मिक समर्पण (Dedication) आवश्यक छ । योगमा आउनको लागि नयाँ अभ्यासीहरुले सोध्नु हुन्छ समय त धेरै नै लाग्छ होला भनेर । समय त पक्कै लाग्छ । तर, उपलब्ध समयलाई व्यवस्थापन गर्ने र आफूलाई अति आवश्यक कर्महरुलाई प्राथमिकतामा राखेर अभ्यास गर्न सकिन्छ ।

यौगिक कर्ममा योगसँग जोडिएका मुख्यतयाः सुक्ष्म व्यायाम, मन्त्र साधना, योगासन, प्राणायाम र ध्यान पर्दछन् । जसमा सुक्ष्म व्यायामले निष्कृय शरीरलाई सुक्ष्म रुपमा तयार पार्ने काम गर्दछ । मन्त्र साधनाले मनको शुद्धकिरण गर्ने काम गर्दछ । योगासनले शरीरका हरेक अंगअंगलाई तताउने र लचकदार बनाउने काम गर्दछ भने प्राणायामले शरीरको भित्री अंगहरुको शुद्धीकरण गर्दै योगासनबाट प्राप्त उर्जालाई शरीरको हरेक भागमा पुर्याउने, पाचन क्रियालाई व्यवस्थित बनाउने, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बलियो बनाई रोग मुक्त बन्न अनि शरीरलाई स्वस्थ र मनलाई शान्त बनाउने काम गर्दछ । त्यस्तै ध्यानले स्व–आत्मालाई चिन्दै, निहाल्दै परमात्मासँग आत्मिक मिलन गरी जीवन मुक्त बनाई समाधिको पथमा जान महत्वपूर्ण भूमिका खेल्दछ । साथै व्यक्तिको रोग अनुसारको यौगिक कर्मको त झनै ठूलो योगदान रहन्छ ।

माथिको श्लोकले पनि त्यही कुरालाई इंगित गर्दछ । यौगिक क्रियाहरुबाट बनेको हाम्रो शरीर रोग मुक्त, बुढौलीपन अनि मृत्युको भयबाट मुक्त बन्न मद्धत गर्दछ । त्यसको लागि मुख्य उपाय हो । शारीरिक योग, स्वस्थ्य जीवनशैली, गतिलो संगत र प्राकृतिक जीवनयापन ।

हरेक वर्ष विश्व योग दिवस मनाइन्छ । यस वर्ष पनि ‘मानवताका लागि योग’ भन्ने साझा नाराका साथ हामी योग दिवस मनाइरहेका छौं । नाराको साझा उद्धेश्य पनि बालबालिकादेखि युवा, प्रौढ र वृद्धवृद्धासम्म सर्वाणिड्ग विकास गर्दै स्वस्थ्य र असल समाज निर्माण गर्ने र असल नागरिक बन्ने अनि बनाउने नै हुनु पर्दछ । तसर्थ वर्तमान समयमा दुई आधार स्तम्भलाई सुधार गरेर जानुपर्ने आवश्यकता प्रष्ट देखिन्छ –‘हाम्रो भौतिक व्यवस्था र आत्मिक अवस्था ।’

पहिलो कुरा हाम्रो भौतिक, आर्थिक, शारीरिक, सामाजिक र सांस्कृतिक व्यवस्थामा सुधार ल्याउनु छ भने त्योभन्दा पनि महत्वपूर्ण यस धराधाममा अस्तित्वसहितको जीवन भोगाइलाई चरितार्थ गर्न आध्यात्मिक, वौद्धिक र आत्मिक अवस्थामा सुधार गरेर अगाडि बढ्नुपर्ने छ । हामी चाहे जुनसुकै तहतप्का, परिवेश, मौसम र भूगोलमा हौं । यी दुवैको गतिलो आधार भनेकै यौगिक कर्म हो । आज योगलाई एउटा शारीरिक तोडमोडको सिमित ज्ञानभन्दा माथि उठेर जीवन र भोगाइलाई नै यौगिक बनाउनु अपरिहार्य भएको छ ।

‘तपाई राम्रो बानी बनाउनुहोस्, बानीले तपाईंलाई बनाउँछ’ भनेझै जीवनको भोगाइलाई पूर्णतातर्फ लैजान हाम्रो बानीलाई सोही तरिकाले व्यवस्थित बनाउन जरुरी छ । र, सुरु आफैंबाट आजैबाट गर्नु परेको छ । अनि यो वर्षको अन्तर्राष्ट्रिय योग नारा पनि सार्थक बन्दछ । त्यसको लागि कथनी र करणीमा समन्वय हुन आवश्यक छ । योग उत्पत्तिधाम नेपालका हामी हरेक नेपाली योगी हौं । तसर्थ, हरेक कर्म यौगिक हुन आवश्यक छ । हाम्रै धराधामबाट उत्पति भएको योगलाई आज पश्चिमा देशबाट प्रभावित र आयातीत गरेर होइन्, हामी आफैं जागृत बनेर उजागर गरौं ।

जीवनको अभिन्न अंगको रुपमा प्रमाणित भैसकेकको योग प्रति हामी आफैं पथिक, अन्वेषक र अभ्यासी बनौं अनि अरुलाई यो साझा ज्ञान बाँडेर सम्पूर्ण र सम्पन्न बनौं । आफ्नो यौगिक जीवनलाई, समाज र देशलाई, अन्तर्राष्ट्रिय जगतलाई पनि गतिलो सन्देश दिऔं । अनि बल्ल हाम्रा पूर्वजहरु, नेपाली भूमी र यहाँको प्राकृतिक वैभवता, यहाँको संस्कार, संस्कृति र सभ्यता, यहाँको प्रकृतिमा उपलब्ध हजारौं आयुर्वेदिक गुणकारी र अमृत तुल्य औषधिहरु वर्तमानमा पूर्ण रुपमा उपयोग गर्दै आगामी पुस्तालाई धरोहरको रुपमा हस्तान्तरण गर्न तयार बनौं । विश्व योग गुरु योगी आचार्य राजन शर्मा भन्नुहुन्छ – ‘हामी पूर्ण नहुन सक्छौं तर पूर्णतातर्फ लम्कने पथिक भने अवश्य बन्न सक्छौं ।’ यही उद्गारलाई मनन गर्दै जो जहाँ, जुन पथ, विश्वास र सिद्धान्तमा अगाडी बढेका छौं, हरेक नेपालीको साझा लक्ष्यका साथ आ–आफ्नो क्षेत्रबाट नेपाललाई विश्व योग गुरुको देश बनाउन हातेमालो गरौं । आफू जागौं र अरुलाई पनि जाग्न प्रेरित गरौं । आफू र शरीर पनि बन्ने, समाज र राष्ट्रको पहिचान पनि उच्च हुने । अस्तु ।

(लेखक विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) सँग आवद्ध अन्र्तराष्ट्रिय योग शिक्षक हुन् । प्रस्तुत विचारहरु अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा दिएका निजका निजी हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, योग, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ