२०८३ वैशाख २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी

हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी


जुम्ला— हुम्लामा २० प्रतिशतभन्दा बढी १९ वर्षमुनिका किशोरी सुत्केरी हुने गरेका छन्  । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा वृद्धि भएको हो ।

जिल्लाभर २०८२ साउनदेखि चैत मसान्तसम्म २५ प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा ५ सय ९४ जना सुत्केरी भएकामध्ये १ सय ५० जना किशोरी १९ वर्षमुनिका रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी तथ्यांक सहायक दुर्गा श्रेष्ठले बताए ।

अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा यो उमेर समूहका सुत्केरी हुने किशोरीको संख्या १ सय ३७ जना थियो भने त्योभन्दा अघिल्लो वर्षमा १ सय ७ जना थिए ।
२० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको संख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ४० जना रहेका छन् । पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको संख्या घट्नुभन्दा झन् वृद्धि भएको श्रेष्ठले बताए । उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउनुको मुख्य कारण अशिक्षा, गरिबीलगायतका विभिन्न समस्याले यस्ता घटनाहरू बढ्दो क्रममा रहेका छन् ।

बालबालिकामा देखियो कुपोषण

सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माएर पोषणमा ध्यान नदिनेजस्ता समस्याले हुम्लाका बालबालिकामा कुपोषण देखिने गरेको छ । ताजाकोट गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा देखिएको गम्भीर कुपोषण समस्या देखिएको हो । गाउँपालिकाकाले १ देखि ५ नम्बर वडासम्मका विभिन्न टोल–बस्तीमा गरिएको पोषण लेखाजोखाका क्रममा ११ जना बालबालिका अति शीघ्र कुपोषणको अवस्थामा भेटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापन केन्द्र संयोजक महेन्द्र हमालले बताए ।

उनका अनुसार ती बालबालिकासँगै १० जना आमालाई उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रमा ल्याइएको छ । बैशाख २२ गते पहिलो चरणमा पठाइएका १० जना आमाहरूमा रहेका छन् । उनीहरू आफ्ना कुपोषित बालबालिकासहित उपचारका लागि जुम्ला पुगेका छन् ।

ताजाकोट गाउँपालिकाका अनुसार ताजाकोटमा कुपोषण समस्या जटिल बन्नुमा भौगोलिक अवस्था, खाद्य असुरक्षा, जनचेतनाको कमी तथा स्वास्थ्य सेवामा पहुँचको अभाव रहेका छन् । यी कारणले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने परिवारहरू पोषणयुक्त आहारको अभावका कारण जोखिममा पर्ने गरेका छन् ।

यस अभियानमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी, गाउँपालिका सरकार र जिल्ला स्वास्थ्य सेवा कार्यालयको सक्रिय भूमिका रहेको छ । सबै निकायको समन्वयका कारण जोखिममा रहेका बालबालिकालाई समयमै उपचारको दायरामा ल्याउन सम्भव भएको छ ।

पोषण पुनःस्थापना केन्द्रका संयोजक हमालका अनुसार जुम्लास्थित प्रतिष्ठानले कर्णाली प्रदेशका विभिन्न पहाडी तथा हिमाली जिल्लाबाट आएका कुपोषित बालबालिकालाई निःशुल्क आवासीय उपचार सेवा प्रदान गर्दै आएको छ । यहाँ बालबालिकालाई पोषणयुक्त आहार, नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचार सेवा उपलब्ध गराइन्छ ।

हमालले विकट क्षेत्रबाट कुपोषित बालबालिकालाई खोजी गरी उपचारमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको बताए । ‘ताजाकोटबाट बालबालिका ल्याउन समन्वय गरेर अभियानलाई सफल बनाउन विशेष पहल गरिएको हो,’ उनले भने, ‘स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ