२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठएक्सक्लुसिभExculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक

Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक


काठमाडौं-नेपालमा करोडौ खर्च गरेर चिकित्सा शिक्षा पढ्नुपर्ने अवस्था छ । मेडिकल शिक्षा महंगो भएको र विपन्न वर्गका मानिसले पढ्न नसक्ने भनेर सुधारका लागि बेला बेलामा आवाज उठिरहेको पाइन्छ ।

चिकित्सा शिक्षा हासिल गर्न लगानी गरेको पैसा समेत नउठने भन्दै पछिल्लो समय चिकित्सा शिक्षाको चार्म विस्तारै घटेको देखिन्छ । तर, केही चिकित्सकको कमाइ भने वार्षिक करोडौं रहेको पाइएको छ ।

नेपालका चिकित्सकको कमाइका कती हाेला भन्ने विषयमा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आन्तरिक राजस्व विभागले उपलब्ध गराएकाे एक विवरणले नेपालमै चिकित्सककोे मासिक कमाइ  ३० लाख हाराहारीसम्म देखाएकाे छ । साे विवरणलाई आधार मानेर हेल्थ आवाजले करोड वा सो भन्दा बढी वार्षिक आम्दानी गर्ने चिकित्सकहरुमाथि याे समाचार तयार गरेकाे हाे ।

वार्षिक करोडौ आर्जन गर्नेमा वरिष्ठ स्त्री तथा प्रसुती राेग विशेषज्ञ  डा. भोला रिजालदेखि नर्भिक इन्टरनेसनल अस्पतालमा सेवारत प्रा.डा. अचला वैद्यसम्म रहेको पाइएको छ । अन्नपूर्ण न्यूरो अस्पताल खोलेर चिकित्सकीय सेवा प्रदान गर्दै आएका वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तदेखि ग्रान्डी इन्टरनेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेसम्म वार्षिक करोडौ आम्दानी गर्ने चिकित्सकमा   पर्छन ।

डा. पाण्डे नेपालकै सबैभन्दा महंगा चिकित्सकमा दरिएका छन् । उनको कमाइ मासिक २६ लाख २५ हजारका हिसाबले वार्षिक सवा तीन करोड देखिन्छ । पाण्डेले यो रकम विभिन्न शीर्षकमा लिदैं आएका छन् ।

डा. पाण्डेपछि धेरै कमाउने चिकित्सकमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल पर्छन् । डा. रिजालको कमाइ २१ लखका दरले वार्षिक आम्दानी दुई करोड ५२ लाख देखिन्छ । यो रिजालको ओम अस्पतालमा सेवारत हुँदाको कमाइ हो । अहिले ह्याम्स अस्पतालमा समेत उपचार गर्दै आएका डा. रिजालको वार्षिक आम्दानी अझ बढेको जानकारहरुको भनाइ छ ।

रिजालपछि तेस्रो धेरै आम्दानी गर्ने चिकित्सकमा ग्रान्डी इन्टरनेशनल अस्पतालमा कार्यरत अर्थोपेडिक स्पाइन सर्जन डा. विनोद विजुक्छे रहेका छन् । उनको मासिक आम्दानी १२ लाख ५८ हजार ३ सयका हिसाबले वार्षिक १ करोड ५१ लाख आर्जन गरिरहेको प्राप्त विवरणबाट प्रस्ट हुन्छ । विजुक्छेकै हाराहारीमा अन्नपूर्ण न्यूरो अस्पतालका डा. वसन्त पन्तको आम्दानी देखिन्छ । डा. पन्तको मासिक ११ लाख ७५ हजारका दरले वार्षिक कमाइ एक करोड ४१ लाख हुन आउँछ ।

त्यस्तै नर्भिक इन्टरनेसनल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. अचला वैद्यको मासिक कमाइ मासिक १० लाख रहेको छ । उनको मासिक १० लाखको हिसाबले वार्षिक आम्दानी एक करोड २० लाख हुन आउँछ । सम्भवत उनी महिला चिकित्सकमा नै सबैभन्दा बढी मासिक आम्दानी गर्ने चिकित्सकमा पर्छिन् । वैद्यको हाराहारीमा मासिक आम्दानी गर्ने चिकित्सकमा मेडिकेयर अस्पतालमा सेवारत मुत्र तथा पिसाब रोग विशेषज्ञ डा. कृष्णकाजी भोमी पर्छन । उनको पनि मासिक कमाइ १० लाख रहेको छ । मासिक १० लाखको हिसाबले डा. भोमीको वार्षिक रुपमा एक करोड २० लाख नियमित आम्दानी भइरहेको पाइन्छ ।

बयोधा अस्पतालमा कार्यरत बरिष्ठ मुत्र तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. असर्फि साहको मासिक आम्दानी पनि नाम चलेका अन्य चिकित्सकको भन्दा कम छैन । साहको मासिक आम्दानी साढे ९ लाख रहेको छ । उनको वार्षिक आम्दानी भने एक करोड १४ लाख रुपैयाँ रहेको छ ।

बि एण्ड बीमा कार्यरत बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. बाबुकाजी श्रेष्ठको मासिक कमाइ ९ लाख २५ हजार रहेको छ । उनले वार्षिक रुपमा एक करोड एघार लाख रुपैयाँ पारिश्रमिक बुझिरहेका छन् । ओम अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सक स्त्रीरोग विशेषज्ञ डा. सुपात्रा कोइरालाको वार्षिक आम्दानी पनि करोड नाघ्ने देखिन्छ । उनी प्रा. डा. वैद्यपछिको महिला चिकित्सकमा नै सबैभन्दा बढी मासिक आम्दानी गर्ने चिकित्सकमा पर्छिन् । उनको मासिक कमाइ ९ लाख रुपैयाँ रहेको देखिन्छ । यो हिसाबे उनको वार्षिक आम्दानी एक करोड ८ लाख हुन्छ ।

मेडिकेयर अस्पतालमा कार्यरत चिकित्सक पेट सम्बन्धी रोगका विशेषज्ञ डा. प्रदीककुमार (पिके) यादवको वार्षिक आम्दानी एक करोड नाघ्ने देखिन्छ । उनको मासिक कमाइ हेर्दा ८ लाख ३० हजार हाराहारीमा रहेको पाइन्छ । बि एण्ड बी अस्पतालका सञ्चालक समेत रहेको वरिष्ठ चिकित्सक हाडजोर्नी विशेषज्ञ डा. अशोककुमार बाँस्कोटाको मासिक आम्दानी पनि करिब एक करोड हाराहारीमा रहेको छ ।

यी त काठमाडौं उपत्यकाभित्र सेवारत केही चिकित्सकको आम्दानी मात्र हो । उपत्यकाबाहिर मोफसलमा पनि वार्षिक करोडौं आम्दानी गर्ने चिकित्सक दर्जनौ रहेको आन्तरिक राजस्व विभागले जनाएको छ । काठमाडौंबाहिर बिराटनगर, पोखरा, बुटवल, जनकपुर, वीरगञ्ज, हेटौडा, नेपालगञ्जलगायतका ठाउँको सेवारत चिकित्सकको कमाइ करोडौं रहेको विभागका अधिकारीहरु बताउँछन् ।

वार्षिक करोड बढी कमाउने नेपाली चिकित्सक

डा. चक्रराज पाण्डे                                         ३ करोड १५ लाख
डा. भोला रिजाल                                           २ करोड ५२ लाख
डा. विनोद विजुक्छे                                        १ करोड ५१ लाख
डा. वसन्त पन्त                                             १ करोड ४१ लाख
डा. अचला वैद्य                                             १ करोड २० लाख
डा. कृष्णकाजी भोमी                                     १ करोड २० लाख
डा. असर्फि साह                                           १ करोड १४ लाख

डा. बाबुकाजी श्रेष्ठ                                         १ कराेड ११ लाख
डा. सुपात्रा कोइराला                                     १ करोड ८ लाख
डा. पिके यादव                                             १ करोड
डा. अशोककुमार वाँस्कोटा                             करिब एक करोड
स्रोत आन्तरिक राजस्व विभाग


क्याटेगोरी : एक्सक्लुसिभ, विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ