२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलपश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र

पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र

जसले भेरी अस्पतालमा दुरविन प्रविधीबाट २०० बढी घुडाको लिगामेन्ट पुनःसंरचना सम्बन्धी शल्यक्रिया


दाउरा काटन जंगलमा गएको बेला लडेर अछाम ढकारी गाउपालिकाकी—१९ वर्षीया सौर्या बुढाको दाँया घुडा दुख्ने र सुन्निने समस्या भयो । दुखाइ कम गर्ने औषधी र मलम लगाएर आराम गर्दा ठिक भएको जस्तो गर्ने र राम्रोसँग सन्चो हुने समस्या भइ नै रह्यो । घरायसी कामको सिलसिलामा घाँस दाउरा गर्दा, भैसी चराउन जाँदा र मेलापात गर्दा हिड्डुल गर्दा सौर्या पटक—पटक गरी ६ पटकसम्म लडिन् । दायाँ खुटटाको भर नै हुन छाड्यो कतिबेला कहाँ लडिने हो भन्ने चिन्ता बढ्दै गएपछि उनका आफन्तहरुले सौर्यालाई नेपालगन्जमा ल्याए ।

नेपालगन्जको एउटा निजी अस्पतालले उपचार गर्दा करिब २ लाख लाग्ने बताएपछि कम पैसामै राम्रो उपचार गर्ने डाक्टर र अस्पतालको खोज्दैं उनका आफन्त भेरी अस्पतालमा पुगे । भेरीमा पुगेको भोलिपल्ट अर्थात पुस १ गते सौर्याको लिगामेन्ट पुनःसंरचना सम्बन्धी शल्यक्रिया भयो । शल्यक्रिया गरेको १० हजार शुल्क लागे पनि अन्य औषधी र परीक्षण गर्दा थप ६०/७० हजार जति खर्च लाग्यो । शल्यक्रिया गरेको ३ दिनमै उनको डिस्चार्ज भएको छ । एक वर्षदेखि घुडा सम्बन्धी समस्याले पिरोलिएकी सौर्याको जीवनमा खुशी फर्किएको छ । उनी आइतबार नै अस्पतालबाट डिस्चार्ज भइन् ।

सौर्यालाई उपचारका लागि भेरी अस्पतालमा ल्याएका उनका आफन्त गोरख साउँद पनि भेरी अस्पतालको उपचार सेवा र चिकित्सकहरुको ब्यवहारबाट खुसी छन् । ‘सरकारी अस्पताल भएपनि भेरी अस्पतालको हाडजोर्नी विभागको उपचार सेवा राम्रो रहेछ,’ उनले भने ।
सौर्यासँग डा. तिर्थेन्द्र
राजधानी बाहिरका सरकारी अस्पतालहरुमा पनि अत्याधुनिक प्रविधिबाट सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । विश्वास नलाग्नुको कारण अधिकांश सरकारी अस्पतालको ब्यवस्थापन र त्यहाँ कार्यरत चिकित्सकहरुको कार्यशैलीलाई पनि मान्न सकिन्छ ।

तर, केही अपवादमा रहेका सरकारी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरुले भने सिमित साधन स्रोतको अधिकतम प्रयोग गरेर काठमाडौंका सुविधासम्पन्न अस्पताल र त्यहाँ कार्यरत दक्ष चिकित्सककै हाराहारीमा अत्याधुनिक प्रविधिबाट शल्यक्रियासहितको गुणस्तरीय सेवा दिइरहेका छन् ।

विभिन्न किसिमका दुर्घटनामा परेर घुडाको लिगामेन्टमा समस्या भएका सौर्याजस्तै बिरामीहरुको दुरबिन प्रबिधीबाट लिगामेन्ट पुनःसंरचना सम्बन्धी शल्यक्रिया गरेर धेरै बिरामीहरुलाई उपचार सेवा प्रदान गर्ने सरकारी अस्पताल हो— नेपालगन्जको भेरी अस्पताल । भेरी अस्पताल नेपालगन्जको अर्थोपेडिक (हाड जोर्नी) विभागमा कार्यरत बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा. तिर्थेन्द्र खड्का र उनको टिमले भेरी अस्पतालमै दूरबिन प्रविधीबाट २ सयवटा घुडाको लिगामेन्ट पुनःसंरचना (Arthroscopic knee ligament reconstruction)  सम्बधी शल्यक्रिया गरिसकेको छ । पछिल्ला दिनमा घुडाको जोर्नी प्रत्यारोपण (joint replacement)  पनि भइरहेको छ । राजधानी बाहिरको सरकारी अस्पतालमै विश्वप्रसिद्ध कम्पनीको अर्थोस्कोपी उपकरणहरुको प्रयोग गरेर २ सयवटा बिरामीको लिगामेन्ट पुनःसंरचना सम्बन्धी सफल शल्यक्रिया गरेर डा. खड्का र उनको टिमले महत्वपूर्ण योगदान पु¥याएको छ ।

काठमाडौंको ट्रमा सेन्टर र वीरेन्द्र सैनिक अस्पतालका वरिष्ठ चिकित्सकहरुसँग सहकार्य गरेर डा. खड्काले वि.सं. २०७५ साउनदेखि भेरी अस्पतालमै घुडाको लिगामेन्ट पुनःसंरचनाका साथै घुडाको जोर्नी प्रत्यारोपण सम्बन्धी शल्यक्रिया सुरु गरेका थिए । काठमाडौंबाट आएका बरिष्ठ चिकित्सकहरुको नेतृत्वमा ३० वटा जति शल्यक्रिया गरेपछि डा. खड्काकै नेतृत्वमा भेरीमा शल्यक्रिया भइरहेको छ ।

पछिल्ला दिनहरुमा भेरी अस्पतालमै हरेक हप्ता २ जनासम्म बिरामीको लिगामेन्ट पुनःसंरचना सम्बन्धी सफल शल्यक्रिया हुने गरेको छ । काठमाडौंका सुविधासम्पन्न अस्पतालहरुमा लिगामेन्ट पुनःसंरचना सम्बन्धी शल्यक्रिया गर्दा कम्तीमा ३ लाख लाग्छ । तर, भेरी अस्पतालमा करिब ८० हजारमा बिरामीहरुले पूर्ण उपचार सेवा पाइरहेका छन् ।

लिगामेन्ट पुनःसंरचना सम्बन्धी उपचारका लािग भेरी अस्पतालमा पुग्ने बिरामीहरुले शल्यक्रियाका लागि एक हप्ताभन्दा बढी समय पालो पर्खनु पर्दैन् । अधिकांश बिरामीहरुको अस्पतालमा भर्ना भएको भोलि वा पर्सिपल्टै शल्यक्रिया हुने गरेको छ । शल्यक्रियापछि कम्तीमा ६ हप्तासम्म नियमित रुपमा फिजियोथेरापी गर्नुपर्छ । भेरी अस्पतालकै फिजियोथेरापिष्ट बिहानी श्रेष्ठले शल्यक्रिया गरेका बिरामीहरुलाई फिजियोथेरापी गर्ने तरिकाहरु सिकाएपछि बिरामीलाई डिस्चार्ज गर्ने गरिएको छ । शल्यक्रियापछि बिरामीले राम्रोसँग फिजियोथेरापी गरे भने बिरामी पूर्ण रुपमा निको हुन्छन् ।

भेरी अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी बाइक दुर्घटना परेका, लडेका, घाँस दाउँरा, खेतीपाती, मेलापात गर्ने क्रममा रुख तथा भीरबाट लडेका र फुटबललगायतका विभिन्न खेल खेल्ने क्रममा र दौड्ने क्रममा घुडामा समस्या भएका बिरामीहरु छन् ।

लिगामेन्ट सम्बन्धी समस्या भएका बिरामीहरमा घुडा दुख्ने र सुन्निने समस्या हुन्छ । तर, उपचारका क्रममा सामान्य एक्सरे गर्दा घुडामा कुनै समस्या देखिदैंन् । एक्स-रे गर्दा समस्या नदेखिएपनि लामो समयसम्म घुडाको समस्या भइ रह्यो भने घुडाको एमआरआई गरेपछि मात्रै लिगामेन्टमा समस्या भएको देखिन्छ । त्यस्ता समस्या बिरामीहरुको भेरी अस्पतालमा सहजै शल्यक्रियासहितको उपचार भइरहेको छ ।

भेरी अस्पतालसँगै सुर्खेतको प्रादेशिक अस्पताल, धनगढीस्थित सेती अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दुरबिन प्रविधीबाट लिगामेन्ट पुनःसंरचना सम्बन्धी शल्यक्रिया गर्ने उपकरण थपिएका थिए । करोडभन्दा बढी मुल्य पर्ने ती उपकरणहरुको प्रयोग गरेर भेरीबाहेक अन्य अस्पतालहरुले शल्यक्रियासहितको उपचार सेवा सुरु गर्न सकेका छैनन् ।

को हुन् डा. तिर्थेन्द्र ?

बाग्लुङका तिर्थेन्द्र सानैदेखि पढनमा तगडा थिए । उनले गाउँकै सरकारी स्कुलबाट वि.सं. २०४९ सालमा एसएलसी परीक्षा दिएका हुन् । एसएलसीमा धौलागिरी अञ्चल नै टप गरेपछि उनको चर्चा बाग्लुङ मात्रै नभएर धौलागिरी अञ्चलभर नै भएको थियो ।

एसएलसीपछि काठमाडौंको अमृत साइन्स कलेजबाट आइएस्सी गरे । त्यसपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्कलरसीपमा २०५५—५९को ब्याजमा एमबीबीएस गरे । त्यसपछि एक वर्ष धरानमै मेडिकल अफिसरको रुपमा काम गरे । त्यसपछि मकवानपुरको पालुङ, बाग्लुङ जिल्ला अस्पतालमा काम गरे ।

चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिस्ठान न्याम्स अर्थात वीर अस्पतालबाट पूर्ण छात्रवृत्तिमा २०६६—०६८ मा एमएस गरे । त्यसपछि डा. खड्काको न्याम्समा सँगै एमएस गरेका साथी डा. प्रकाश थापासँगै नेपालगन्जको भेरी अस्पतालमा आठौं तहको चिकित्सकको रुपमा वि.सं. २०६९ मा पोष्टिङ भएर आए ।

त्यसपछिका एक दशक डा. खड्का र उनका ब्याचमेट डा. थापाले भेरी अस्पतालकै हाडजोर्नी विभागमा निरन्तर काम गर्दै आएका छन् । डा. खड्का भेरी अस्पतालमा पोष्टिङ हुँदा भेरी अस्पतालको हाडजोर्नी विभाग बन्द थियो । हाडजोर्नी विभागमा कार्यरत डा. विनोद थापा सरुवा भएर दाङ र बुटबल गएका कारण बिरामीले सेवा पाउन सकेका थिएनन् ।

डा. खड्का र डा. थापाको जोडीको प्रयासमा वि.सं. २०७१ सालमा पहिलो पटक भेरी अस्पतालमा सी—आर्म मेसिन आयो । त्यसपछि थप २ वटा सी—आर्म मेसिन थपिए । डा. विनोद पनि पुनः सरुवा भएर भेरी अस्पतालमा पर्किए । त्यसपछि डा. विनोदको नेतृत्वमा हाडजोर्नी विभाग थप प्रभाबकारी बन्यो । अनुभवी र दक्ष चिकित्सकको टिम भएकै कारण भेरी अस्पतालको शान्ति कोषको सहयोगमा विश्व प्रसिद्ध कम्पनीको अर्थोस्कोपी गर्ने उपकरणहरु थपियो ।

हाडजोर्नी विभागमा साधन स्रोत र दक्ष जनशक्ति थपिने क्रम बढेसँगै पश्चिम नेपालका बिरामीहरुले सहज रुपमा गुणस्तरीय सेवा भेरी अस्पतालमै पाउने क्रम बढ्दैं गएको छ । डा. थापा बीचमा २ पटकसम्म भेरी अस्पतालको प्रमुख भएर अस्पताललाई रोलमोडल नेतृत्व दिइसकेका छन् भने डा. खड्काले निरन्तर हाडजोर्नी विभागमा रहेर बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका छन् । पछिल्ला दिनहरुमा भेरी अस्पतालमा हुने घुडाको लिगामेन्ट पुनःसंरचना र घुडाको पूर्ण जोर्नी प्रत्यारोपण सम्बन्धी शल्यक्रियाको नेतृत्व डा. खड्का र मेरुदण्ड सम्बन्धीको शल्यक्रियाको नेतृत्व डा. थापाले गर्दै आएका छन् ।

अहिले पनि भेरी अस्पतालको हाडजोर्नी विभागमा हरेक महिना करिब १ सय वटा शल्यक्रिया हुने गरेको छन् । डा. खड्काले आफ्नो करिब एक दशकको करियरमा ३ हजारभन्दा बढी शल्यक्रिया गरिसकेका छन् । घुडाको लिगामेन्ट पुनःसंरचना र घुडाको पूर्ण जोर्नी प्रत्यारोपण सम्बन्धी शल्यक्रियाका क्षेत्रमा डा. खड्का विगत ५/६ वर्ष निरन्तर लागि परेका छन् ।

यो अवधिमा डा. खड्काले बेलायतको लन्डनस्थित वाटफोर्ड अस्पतालबाट एक महिनाको फेलोसीप गरे भने वीरेन्द्र सैनिक छाउनी अस्पतालबाट पटक—पटक गरी करिब ६ महिना फेलोसीप गरे । उनले नेपालको राष्ट्रिय मेडिकल जर्नलमा दुई वटा खोजमूलक लेख प्रकाशित गरिसकेका छन् । भेरी अस्पतालमै बसेर सुविधासम्पन्न अस्पतालले प्रयोग गर्ने अत्याधुनिक प्रविधिको प्रयोग गरेर त्यही गुणस्तरको घुडाको लिगामेन्ट पुनःसंरचना साथै घुडाको पूर्ण जोर्नी प्रत्यारोपण सम्बन्धी उपचार सेवा प्रदान गर्ने डा. तिर्थेन्द्र र उनको टिमको प्रयास प्रशंशायोग्य छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ