प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइदैं आइएको छ । उक्त दिवसको अवसरमा नेपालसहित विश्वभर स्तनपान सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ ।
आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो ।
आमाको दूधमा शिशुको वृद्धि विकासका लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू पाइन्छ । यसमा पाइने ‘इम्युनोग्लोबुलिन’ले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा शिशुलाई निमोनिया, झाडापखालाजस्ता विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ । यसका साथै स्तनपानले बच्चाको वौद्धिक र मानसिक विकासमा पनि दीर्घकालीन सकारात्मक प्रभाव पार्छ ।
शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गरिसक्नुपर्छ । ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक पानी वा अन्य कुनै पनि ठोस आहार दिन हुँदैंन् । ६ महिना पुगेपछि मात्र अन्य पोषिलो र नरम खानाका साथै कम्तिमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ । २४ घण्टामा बच्चाको मागअनुसार ८ देखि १० पटकसम्म स्तनपान गराउनु उपयुक्त हुन्छ ।
धेरैजसो आमाहरूले स्तनपान गराउँदा स्तन दुख्ने, घाउ हुने वा दूध नआउने जस्ता समस्या हुन्छन् । स्तनपान गराउने सही तरिका नमिल्दा यस्ता समस्या आउने गर्छन् ।
आमाले प्रशस्त पोषिलो खाना खाने, झोलिलो पदार्थ सेवन गर्ने र मानसिक तनावबाट मुक्त हुनाले दूधको उत्पादनमा वृद्धि हुन्छ । स्तनपान गराउनु आमाको मात्र जिम्मेवारी नभई परिवार, समाज र राज्यको पनि साझा जिम्मेवारी हो ।
नेपाल सरकारले हाल सुत्केरी आमाहरूलाई करिब तीन महिनाको बिदा दिँदै आएको भएपनि उक्त विदा नवजात शिशुका लागि भने कम हो । नवजात शिशुका लागि ६ महिनासम्म पूर्ण स्तनपान अनिवार्य रहेकाले यो विदालाई कम्तिमा ६ महिनासम्म पु¥याउनुपर्छ । यसले सुत्केरी आमा र शिशु दुवैको स्वास्थ्यमा ठूलो टेवा पुग्छ । आमाको दूध बच्चाको अधिकार मात्र नभई उसको जीवनको स्वस्थ सुरुवातको आधार हो ।