२०८३ साउन ३१, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी

ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी

स्वास्थ्यमा खेलवाड भइरहँदा प्रशासन टुलुटुलु हेरेर बस्दैन् : प्रजिअ


विराटनगर—जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका सात वटा आँखा अस्पतालमा गरेको सिलबन्दीप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन् । जनस्वास्थ्य सेवा ऐन विपरित प्रशासनले ‘प्रशासनिक आतंक’ सिर्जना गरेको आरोप लगाउँदै अस्पताल सञ्चालकहरूले तत्काल सिलबन्दी नखोले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आँखा अस्पताल सञ्चालकहरूले प्रशासनको कदमले कानुनी राज्यको उपहास गरेको र प्रदेश सरकारको क्षेत्राधिकारमाथि नाङ्गो हस्तक्षेप गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा २७ र २८ साउनमा गरिएको अनुगमनका क्रममा मापदण्ड नपुगेको भन्दै सात वटा आँखा अस्पताल सिलबन्दी गरिएको थियो । सिलबन्दी गरिएका अस्पतालहरूमा विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति आँखा अस्पताल, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पताल रहेका छन् ।

आँखा अस्पताल व्यवसायी संघ समितिका सचिव तेजलाल कर्णले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर ऐन र नियमावलीबारे जानकारी गराउने र त्यसपछि पनि अस्पताल नखोलिए कानुनी उपचारसँगै आन्दोलनमा जाने बताएका छन् । स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै ‘ठाडो आदेश’का भरमा अस्पताल बन्द गरिनुले निजी क्षेत्रको लगानी असुरक्षित भएको व्यवसायीहरूको गुनासो छ ।

विराट रानी आँखा अस्पतालका सञ्चालक राजेश प्रसाईले जनस्वास्थ्य सेवा ऐन, २०७५ को प्रक्रिया मिचेर अस्पताल बन्द गरिएको बताए । ‘ऐनको दफा १३ अनुसार कमजोरी पाइएमा सुरुमा सचेत गराउने, दोस्रो पटक जरिवाना गर्ने र तेस्रो पटक मात्र बन्द गर्ने व्यवस्था छ,’ प्रसाईले भने, ‘तर प्रशासनले कुनै मौका नै नदिई सिधैँ सिलबन्दी गरेर कानुन हातमा लिएको छ । यो प्रदेश स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकारमाथिको हस्तक्षेप हो ।’

अस्पतालहरू बन्द हुँदा उपचारका लागि आएका सयौं बिरामी, विशेषगरी शल्यक्रियाको पर्खाइमा रहेका र फलोअपमा रहेकाहरू मर्कामा परेका छन् । आँखा अस्पताल व्यवसायी संघ समितिका अध्यक्ष प्रकाश दाहालका अनुसार प्रशासनको आकस्मिक कदमले बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड भएको छ । ‘अस्पतालमा ताला लगाउँदा अपरेसनको पालो कुरिरहेका बिरामीहरूको बेहाल छ,’ दाहालले भने, ‘कमजोरी भए सुधारको मौका दिनुपर्थ्यो । यसरी अचानक ताला लगाउनु समस्याको समाधान होइन ।’

सञ्चालकहरूका अनुसार यी अस्पतालहरूले ८० प्रतिशत भारतीय बिरामीको उपचार गरेर विदेशी मुद्रा आर्जन गरिरहेका थिए । प्रशासनको कदमले स्वदेशी रोजगारी र विदेशी मुद्रा आर्जनमा समेत धक्का लागेको उनीहरूको तर्क छ ।

प्रशासनले यी संस्थाहरूले ‘आँखा उपचार केन्द्र’को अनुमति लिएर ‘विशेषज्ञ अस्पताल’का रूपमा शल्यक्रिया गरिरहेको दाबी गरेको छ । सहायक प्रजिअ कोइरालाका अनुसार विशेषज्ञ सेवाका लागि १०० शय्या हुनुपर्ने प्रावधान छ । तर, सञ्चालक फिरोज चौधरीले भने प्रदेश स्वास्थ्य निर्देशनालयले वर्षौंदेखि नवीकरण गर्दै आएको र एउटा निकायले इजाजत दिने र अर्कोले बन्द गर्ने कार्यले अन्योल सिर्जना गरेको बताए ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. कीर्तिपाल सुवेदीले अनुगमनमा क्षेत्राधिकारको विरोधाभास देखिएको स्वीकार गरे । ‘ऐनले अनुगमनको अधिकार मन्त्रालयलाई दिएको छ, प्रशासनले समन्वय मात्र गर्ने हो । सिलबन्दी गर्ने विषयमा केही अन्योल छ, हामी छलफलमा छौँ,’ उनले भने ।

यता मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने सुशासन ऐन र स्थानीय प्रशासन ऐन, २०२८ प्रयोग गरेर अनुगमन गरिएको दाबी गरे । उनले मानव स्वास्थ्यमा खेलवाड भइरहँदा प्रशासन टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ