जुन महिनालाई विश्वभर मोतीबिन्दु सचेतना महिनाका रूपमा मनाइन्छ । यस अवसरमा आँखाको स्वास्थ्यबारे सही जानकारी समुदायसम्म पुर्याउने, समयमै परीक्षण र उपचारप्रति सचेत गराउने तथा अनावश्यक रूपमा दृष्टि गुम्नबाट बचाउने उद्देश्य राखिएको हुन्छ ।
मोतीबिन्दु (Cataract) आँखाभित्र रहेको प्राकृतिक लेन्स धमिलो हुने अवस्था हो । लेन्स पारदर्शी नभएपछि प्रकाश राम्ररी आँखाभित्र प्रवेश गर्न सक्दैन र दृष्टि क्रमशः धमिलो हुँदै जान्छ । विश्वमा अन्धोपनको प्रमुख कारणमध्ये मोतीबिन्दु एक हो तर खुसीको कुरा के हो भने यसको उपचार सम्भव छ र समयमै उपचार गरेमा दृष्टि पुनः प्राप्त गर्न सकिन्छ ।
मोतीबिन्दु सामान्यतया कुन उमेरदेखि लाग्छ?
मोतीबिन्दु प्रायः ४० वर्षपछि विस्तारै विकास हुन थाल्छ र ६० वर्षभन्दा माथिका व्यक्तिहरूमा बढी देखिन्छ । तर, यो केवल वृद्धवृद्धाको रोग होइन् ।
निम्न अवस्थामा जुनसुकै उमेरमा पनि मोतीबिन्दु हुन सक्छः
• जन्मजात (जन्मँदै)
• बालबालिका वा किशोरावस्थामा
• आँखामा चोटपटक लागेपछि
• मधुमेह भएका व्यक्तिमा
• लामो समय स्टेरोइड औषधि सेवन गर्दा
• आँखाका अन्य रोगका कारण
• अत्यधिक पराबैजनी (UV) किरणको असरका कारण
मोतीबिन्दुका प्रकारहरू
बालबालिकामा देखिने संकेतहरू
• आँखामा सेतो दाग देखिनु
• वस्तु वा अनुहार नपछ्याउनु
• आँखा बटारिनु (Squint)
• दृष्टि कमजोर हुनु
• असामान्य आँखाको चाल देखिनु
• उज्यालोमा असहज हुनु
यस्ता लक्षण देखिएमा ढिलाइ नगरी आँखा विशेषज्ञसँग परामर्श लिनु अत्यन्त आवश्यक हुन्छ।
उमेरसँग सम्बन्धित मोतीबिन्दुका लक्षणहरू
• दृष्टि क्रमशः धमिलो हुँदै जानु
• उज्यालोमा हेर्न गाह्रो हुनु (Glare)
• राति कम देखिनु
• रङ फिका देखिनु
• बारम्बार चस्माको नम्बर परिवर्तन हुनु
• बत्ती वरिपरि घेरा देखिनु (Halos)
• एउटै वस्तु दोहोरो देखिनु
• पढ्न, गाडी चलाउन वा दैनिक काम गर्न कठिनाइ हुनु
मोतीबिन्दुको स्थायी उपचार सम्भव छ कि छैन?
हो, सम्भव छ । हालसम्म मोतीबिन्दु हटाउने कुनै औषधि, आँखामा हाल्ने ड्रप वा घरेलु उपायले स्थायी उपचार गर्न सक्दैन् । मोतीबिन्दुको प्रभावकारी र वैज्ञानिक उपचार भनेको शल्यक्रिया (सर्जरी) नै हो ।
शल्यक्रियामा धमिलो भएको प्राकृतिक लेन्स निकालेर त्यसको ठाउँमा कृत्रिम लेन्स (Intraocular Lens – IOL) राखिन्छ । आधुनिक शल्यक्रियापछि अधिकांश बिरामीको दृष्टि उल्लेखनीय रूपमा सुधार हुन्छ ।
मोतीबिन्दु लाग्न नदिन के गर्न सकिन्छ?
उमेरसँग सम्बन्धित मोतीबिन्दुलाई पूर्ण रूपमा रोक्न सकिँदैन, किनकि यो प्राकृतिक बुढ्यौली प्रक्रियासँग सम्बन्धित छ। तर जोखिम कम गर्न निम्न उपायहरू उपयोगी हुन सक्छन्:
- मधुमेह नियन्त्रणमा राख्ने
- धूम्रपान नगर्ने
- अत्यधिक मदिरा सेवन नगर्ने
- घाममा निस्कँदा UV सुरक्षा भएको चस्मा प्रयोग गर्ने
- सन्तुलित आहार खाने (हरियो सागसब्जी, फलफूल, भिटामिनयुक्त खाना)
- आँखामा चोट लाग्न नदिने
- चिकित्सकको सल्लाहबिना लामो समय स्टेरोइड औषधि प्रयोग नगर्ने
- नियमित आँखा परीक्षण गराउने
मोतीबिन्दुको शल्यक्रिया र मौसम
धेरै मानिसमा ‘जाडोमा मात्र शल्यक्रिया राम्रो हुन्छ’ भन्ने भ्रम पाइन्छ। वास्तवमा मोतीबिन्दुको शल्यक्रिया वर्षको कुनै पनि मौसम—जाडो, गर्मी वा वर्षा—मा सुरक्षित रूपमा गर्न सकिन्छ ।
आधुनिक प्रविधि, संक्रमण नियन्त्रण र सुरक्षित शल्यक्रिया विधिका कारण मौसमले सफलतामा खास प्रभाव पार्दैन । त्यसैले लक्षण देखिएपछि मौसम कुर्नु भन्दा समयमै उपचार गर्नु नै उचित निर्णय हो ।
प्रचलित भ्रम र यथार्थ
❌ मोतीबिन्दु औषधिले निको हुन्छ ।
✅ यथार्थ: शल्यक्रिया नै प्रभावकारी उपचार हो ।
❌ मोतीबिन्दु पाकेपछि मात्र शल्यक्रिया गर्नुपर्छ ।
✅ यथार्थ: दृष्टिमा असर पर्न थालेपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गर्न सकिन्छ ।
❌ मोतीबिन्दु वृद्धवृद्धालाई मात्र हुन्छ ।
✅ यथार्थ: यो जन्मजातदेखि जुनसुकै उमेरमा पनि हुन सक्छ ।
❌ गर्मी वा वर्षामा शल्यक्रिया गर्नु हुँदैन ।
✅ यथार्थ: आधुनिक प्रविधिका कारण जुनसुकै मौसममा सुरक्षित रूपमा गर्न सकिन्छ ।
निष्कर्ष तथा सन्देश
🔹 दृष्टि कमजोर हुँदै गएको छ भने बेवास्ता नगर्नुहोस् ।
🔹 ४० वर्षपछि नियमित आँखा परीक्षण गराउनुहोस् ।
🔹 बालबालिकाको आँखाको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस् ।
🔹 मधुमेह भएका व्यक्तिले नियमित आँखा जाँच गराउनुहोस् ।
🔹 मोतीबिन्दुका लक्षण देखिएमा विशेषज्ञसँग परामर्श लिनुहोस् ।
🔹 समयमै उपचारले दृष्टि जोगाउन र जीवनको गुणस्तर सुधार गर्न मद्दत गर्छ ।
आँखा हाम्रो जीवनको अमूल्य सम्पत्ति हो । मोतीबिन्दुका कारण दृष्टि गुमाउनु आजको समयमा आवश्यक छैन । समयमै जाँच, सही जानकारी र उचित उपचारले उज्यालो भविष्य सुनिश्चित गर्न सकिन्छ ।