महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर बढी देखिने गरेको छ । गरिब र कम विकसित देशहरुमा पाठेघरको मुखको क्यान्सर बढी देखिन्छ भने विकसित देशहरुमा स्तन क्यान्सर बढी देखिने गरेको छ ।
तर, स्त्रीरोगको हिसाबले मुख्य रुपमा देखिने भनेको पाठेघरको दुवै तिर डिम्ब हुने भएकाले डिम्बासयको क्यान्सरको समेत जोखिम हुन्छ । सो भन्दा तल हुने पाठेघर मुखसँगै योनीको पनि क्यान्सर हुन सक्दछ ।
महिलामा देखिने स्तन क्यान्सरसँगै प्रजनन प्रणालीमा पाठेघर, अण्डासय, डिम्ब र पाठेघरको मुख, योनीको क्यान्सर देखिने गर्दछन् ।
किशोरावस्थामा देखिने ट्युमर धेरै खतरनाक भने हुँदैन । यस्तो अवस्थामा देखिने ट्युमर शल्यक्रिया वा किमोथेरापी गरेपछि निको हुन्छ ।
किशोरावस्थामा देखिने क्यान्सर भनेको अण्डासयको ट्युमर हो । यो पहिले नै भएर विकसित हुदाँखेरी उमेर बढ्दै जाँदा अन्तिम अवस्थामा आउने हुन्छ । महिलाहरुमा देखिने अण्डासयको क्यान्सर भने समयमै परीक्षणसँगै उपचारपछि निको हुन्छ ।
अहिलेको समयसँगै आधुनिक जीवनशैलीका कारणले मोटोपना बढ्यो, जसले कारण हार्मोन असन्तुलन हुन्छ । जसका कारण महिनावारी अनिमियत हुन्छ, हरेक महिना अण्डा बन्ने हुँदैन अण्डा नबनेपछि निः सन्तानपन हुने गर्दछ ।
हार्मोन असन्तुलित, अनिमियत रगत बग्ने कारणले ४०–४५ वर्ष उमेर कटेपछि पाठेघरको झिल्लीको क्यान्सरसमेत हुने गर्दछ । महिलाहरुले गर्ने मद्यपान, धुम्रपानले क्यान्सरको जोखिम झन बढाएको हुन्छ ।
कसरी जोगिने ?
—महिलाहरुमा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सरबाट जोगिन किशोरावस्थामै पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने । उमेर बढी भएपछि पनि उक्त खोप लगाउन मिल्छ तर प्रभावकारी कम हुन्छ ।
–विहे पश्चात अथवा बच्चा जन्मिसकेको ३ वर्षपछि हरेक महिलाले प्याप स्मेयर टेष्ट गराउने जुन स्क्रीनिङ टेष्ट हो । जसका कारणले प्रारम्भिक अवस्थामै पत्ता लाग्दा क्यान्सरबाट जोगिन सकिन्छ ।
–अर्को महिलामा देखिने भनेको अण्डासयको टयुमर हो, जसको क्यान्सरको पारिवारिक रुपमा हिस्ट्री रहेको छ । तिनीहरुमा जेनेटिक क्यान्सर हुने हुन्छ, जलाई नियमित रुपमा अल्ट्रासाउण्डबाट परीक्षण गर्ने सकिन्छ ।
–क्यान्सरको धेरै नै पारिवारिक हिस्ट्री छ भने जीनमै क्यान्सर भए—नभएको पत्ता लगाउन जेनेटीक परीक्षण नै गर्ने गरिन्छ ।
–जेनेटीक क्यान्सर देखिने सम्भावना भएमा बच्चा जन्मिसकेपछि अथवा पारिवारिक जीवन पूर्ण भइसकेपछि क्यान्सर नदेखिँदा समेत फेलोपियन ट्युबसँगै अण्डासयसमेत निकाल्न मिल्छ ।
(डा. भगत रोबोटिक/ल्याप्रोस्कोपिक गाइनाकोलोजिष्ट तथा गाइनो अंकोलोजिष्ट हुन् ।)