२०८३ साउन २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी

फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी

बिरामीलाई सम्पूर्ण उपचार निःशुल्क


काठमाडौं—पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलले अत्याधुनिक मुटु उपचार सेवातर्फ ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो पहिलो ओपन हर्ट सर्जरी (मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी) सफलतापूर्वक सम्पन्न गरेको छ । १६ साउनमा शल्यक्रियामार्फत झापाका २२ वर्षीय ब्रम्हदेव ज्वाला सिंह एट्रियल सेप्टल डिफेक्ट अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो ।

उक्त शल्यक्रिया वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराई नेतृत्वको टिम संलग्न रहेको थियो । शल्यक्रिया टिममा डा. प्रभात खकुराल, डा. समिरकुमार यादव, लक्ष्मी श्रेष्ठ भट्टराई साथै एनेस्थेसियामा डा. विभुस श्रेष्ठ र टिम तथा नर्सिङ टोली संलग्न थियो ।

प्रा. डा. भट्टराईका अनुसार ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी’ आधुनिक कार्डियाक सर्जरीको प्रभावकारी प्रविधि हो, जसले बिरामीलाई कम पीडा, कम रक्तस्राव, न्यून संक्रमण जोखिम तथा छिटो स्वास्थ्य लाभ प्राप्त गर्न सहयोग पुर्‍याउँछ ।

‘फ्रन्टलाइन हस्पिटलमा यस्तो अत्याधुनिक सेवा सफलतापूर्वक सुरु हुनु महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘अब धेरै बिरामीहरूले उच्चस्तरीय कार्डियाक उपचार फ्रन्टलाइन अस्पतालमै प्राप्त गर्न सक्ने विश्वास लिएको छु।’

बिरामीको आर्थिक अवस्था कमजोर रहेको पाइएपछि फ्रन्टलाइन हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयु सेवा, प्रयोगशाला परीक्षण तथा सम्पूर्ण उपचार सेवा सतप्रतिशत निःशुल्क उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

आर्थिक अभावका कारण कुनै पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने फ्रन्टलाइन हस्पिटलको विश्वास रहेको अस्पतालका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए । ‘यही सोचलाई व्यवहारमा उतार्दै हामीले विपन्न तथा उपचार खर्च बहन गर्न नसक्ने बिरामीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतामा काम गरिरहेका छौं,’ उनले भने ।

अध्यक्ष पाण्डेले यस उपलब्धिले अस्पतालको सामाजिक उत्तरदायित्व र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए । ‘हामी केवल उपचार गर्ने संस्था मात्र होइन, समाजप्रति उत्तरदायी स्वास्थ्य संस्था पनि हौं । आर्थिक अभावका कारण कसैले पनि जीवनरक्षक उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने हाम्रो विश्वास हो,’ पाण्डेले थपे, ‘यसै उद्देश्यअनुसार योग्य तथा विपन्न बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छौं । आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति र मानवीय सेवामार्फत गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्‍याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ ।’

परिवारसँग बिरामी

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. अशोक बर्धनले यो उपलब्धि केवल एउटा सफल शल्यक्रिया मात्र नभई फ्रन्टलाइन हस्पिटलको चिकित्सा क्षमता, आधुनिक पूर्वाधार, दक्ष विशेषज्ञ टोली तथा बिरामीप्रतिको उत्तरदायित्वको प्रतीक भएको बताए । ‘विश्वस्तरीय स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउँदै बिरामीलाई विदेश जानुपर्ने बाध्यता कम गर्नु हाम्रो दीर्घकालीन लक्ष्य हो,’ उनले भने । उनले आगामी दिनमा अझ धेरै जटिल मुटु तथा अन्य विशिष्टीकृत शल्यक्रियाहरू सफलतापूर्वक सञ्चालन गर्दै जाने जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ