२०८३ भदौ ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया

अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया


काठमाडौं—लाजिम्पाटस्थित अनमीव हस्पिटलमा १०२ वर्षीय ख्यातिप्राप्त चिकित्सक डा. गौरीशंकर लाल दासको हिपको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. चक्रराज पाण्डे नेतृत्वको टिमले १०२ वर्षको उमेरमा विरलै हुने डा. दासको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

गत सोमबार राति डा. दास बाथरुममा लडेपछि उनको दायाँ हिप फ्याक्चर भएको थियो । तीन दिन मेडिकल व्यवस्थापन पश्चात उनको बुधबार हिपको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हस्पिटलका संस्थापक समेत रहेका डा. पाण्डेले जानकारी दिए ।

‘तीन दिनसम्म औषधोपचार (मेडिकल म्यानेजमेन्ट) पश्चात बुधबार उहाँको शल्यक्रिया गर्‍यौं,’ डा. पाण्डेले हेल्थआवाजसँग भने, ‘उहाँको दायाँ हिपमा बाइपोलर सिमेन्टेड हेमीआर्थ्रोप्लास्टी राखिएको छ ।’

डा. पाण्डे नेतृत्वको शल्यक्रिया टिममा अर्थोपेडिक सर्जनहरू डा. राजीव बराल, डा. राम थापा, डा. प्रोमिश महर्जन, क्रिटिकल केयर तथा एनेस्थेसियोलोजिस्ट डा. रोहित चौधरी, कार्डियोलोजिस्ट डा. अशोक पौडेल, जनरल फिजिसियनहरू, फिजियोथेरापिस्ट र नर्सिङ कर्मचारीहरु सहभागी रहेका थिए ।

बुधबार सफलतापूर्वक शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य छ । हस्पिटलले डा. दासलाई  वाकरको सहायताले हिँडडुल समेत गराइसकेको छ ।

१०२ वर्षको उमेरमा शल्यक्रिया निकै चुनौतीपूर्ण मानिन्छ । ‘१०२ वर्षको उमेरको शल्यक्रिया गर्ने कुरामा नै प्रश्न चिन्ह हो । शल्यक्रिया गर्दा कार्डियाकलगायतका कम्प्लिकेसनको सम्भावना रहन्छ,’ डा. पाण्डेले भने, ‘अर्कोतर्फ कुनै पनि बिरामीलाई उपचार नै नगरेर त्यतिकै पीडामा राख्दा राम्रै हुँदैन् । त्यसबाहेक पिसाब र चेष्टको संक्रमणको जोखिम रहन्छ । माया गर्ने मान्छेहरु वरीपरी बस्दा सबैको रुवावासी हुने भयो ।’ उठाउन पनि नसक्ने र बसाउन पनि नसक्ने अवस्थाले परिवारमा थप पीडा सिर्जना हुने उनले बताए ।

डा. पाण्डेले यो शल्यक्रिया आफूहरुले नियमित गरिरहेको उल्लेख गर्दै तर डा. दासको सन्दर्भमा हड्डी कमजोर भएकाले शल्यक्रिया गर्दा कपासलाई केयर गरे जसरी गरिएको बताए । ‘नत्र अर्को ठाउँमा भाँचिएला भन्ने डर हुन्छ, त्यो चुनौती हुन्छ,’ उनले थपे, ‘तर, हाम्रो एक्स्पीरियन्स, टिम सबै भएकाले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्‍यौं ।’ अनमीव हस्पिटलमा कार्डियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट र इन्टेन्सीभ केयरका चिकित्सकहरुले तीन दिनसम्म डा. दासको स्वास्थ्य अवस्था रिभ्यू गरेर त्यहीअनुसार तयारी गरेपछि बल्ल हस्पिटलले शल्यक्रिया गर्ने निर्णय गरेको थियो ।

‘१०२ वर्षको बिरामीले वेस्ट ट्रिटमेन्ट पाएर भोलिपल्ट हिडाउँदा खेरी देशको हेल्थकेयरकै गौरव हो,’ डा. पाण्डे भन्छन्, ‘तर, यो गर्नैपर्ने भएर गरेको शल्यक्रिया हो । कार्डियोलोजी, इन्टेन्सीभ केयर, एनेस्थेसिया सबैलाई तयारी राखेर शल्यक्रिया गर्‍यौं ।’ यसअघि डा. पाण्डेले एक वर्षअघि उनको बायाँ हिप चर्केको समस्यालाई औषधिबाटैं व्यवस्थापन गरेका थिए ।

शल्यक्रियाको दोस्रो दिन वार्डमा स्वास्थ्यलाभ गराउँदैं हँसिलो मुद्रामा डा. दास । तस्विरः नवराज वाग्ले/हेल्थआवाज

शल्यक्रियापछि वार्डका सारिएका डा. दासले सुरुमा जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताल गएको तर त्यहाँ यो उमेरमा शल्यक्रिया नगर्ने भनेर फिर्ता पठाएपछि आफू अनमीव हस्पिटल आएको बताए । ‘डा. पाण्डेसँग पहिलेदेखि नै चिनजान थियो त्यही कारण यहाँ आए,’ डा. दासले भने, ‘उहाँ एकदमै वेस्ट अर्थोपेडिसियन भएकाले उहाँलाई रोजे ।’ उत्कृष्ट वातावरण, राम्रो सर्जन र डा. पाण्डेले आफूलाई निकै आदर गर्ने भएकाले पनि अनमीव आफ्नो रोजाइमा परेको उनको भनाइ थियो ।

नेपालका अर्थोपेडिक्स सर्जहरुमा डा. पाण्डे नै वेस्ट भएको उल्लेख गर्दै उनले त्यही कारण आफूमा यो उमेरमा शल्यक्रिया गर्ने साहस आएको बताए । ‘मेरो कन्फिडेन्ट उहाँ (डा. पाण्डे)माथि छ,’ उनले थपे, ‘अरु कमैले यो उमेरमा शल्यक्रिया गर्ने आँट गर्छन् ।’

सिरहाको इनर्वाका डा. दासले सन् १९५१ मा पटना मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । नेपालमा ५—६ जना मात्रै डाक्टर रहेको समयका चिकित्सक उनले वीर अस्पताल, टोखा स्यानिटोरियम, सेन्ट्रल चेष्ट क्लिनिक, स्वास्थ्य सेवा विभाग, योजना महाशाखालगायतमा काम गर्नुका साथै केहीमा नेतृत्वदायी भूमिमा पनि रहे । उनी वि.सं. २०५७ सालमा सरकारी सेवाबाट अवकास भएका थिए । त्यसपछि पनि उनले विभिन्न भूमिका रहेर काम गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ