२०८३ भदौ ४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यवरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने

वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने


पाँच वर्षमुनिका बालबालिकामा सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामध्ये झाडापखाला र निमोनिया प्रमुख हुन् । वर्षायाममा पानी दूषित हुने भएकाले बालबालिकामा झाडापखालाको जोखिम अझ बढी हुन्छ । ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ, फङ्गस र परजीवीका कारण झाडापखाला हुन सक्छ । झाडापखाला गराउने विभिन्न कारण हुन्छन् ।

झाडापखालाका लक्षण कस्ता छन् र कुन कीटाणुका कारण भएको हो भन्ने आधारमा उपचार गर्नुपर्छ । पेट कटक्क काट्ने, दिसामा रगत आउनेजस्ता लक्षण देखिएमा ब्याक्टेरियाका कारण भएको झाडापखाला हुन सक्छ ।

भाइरल झाडापखाला भएमा औषधि उपचारबिना आफैँ पनि निको हुन सक्छ । शरीरबाट पानी जाने भयो, जस्तै उल्टी भएको छ, पखाला चलेको छ, उल्टी र पखालाका कारण शरीरबाट पानी गइरहेको छ भने शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसकारण शरीरमा पानीको मात्रा पूर्ति गर्नुपर्छ ।

झाडापखाला कम गर्ने औषधि बच्चालाई दिन मिल्दैन । आन्द्राको गति कम गराएर झाडापखाला रोक्ने औषधि पनि बच्चालाई दिनु हुँदैन । दिसा पास हुन दिनुपर्छ । धेरैजसो नेपालीको सोच झाडापखाला आजको आजै ठीक हुनुपर्‍यो भन्ने हुन्छ ।

इन्फेक्सनका कारण भएको झाडापखालामा आन्द्रा खुम्च्याउने औषधि दिन मिल्दैन, किनभने त्यसले शरीरभित्र रहेका कीटाणु झन् फैलिने सम्भावना हुन्छ । आन्द्रा खुम्च्याउने औषधि दिँदा आन्द्राको गति कम हुन्छ, दिसा कम पास हुन्छ र कीटाणुहरू शरीरभित्रै रहने सम्भावना हुन्छ । त्यसकारण झाडापखाला रोक्ने प्रयास गर्नु हुँदैन् ।

यदि भाइरल डायरिया छ भने शरीरमा पानीको मात्रा पूर्ति गरिदिनुपर्छ । जीवनजल खुवाएर पानीको मात्रा पूर्ति गर्न सकिन्छ ।  त्यसबाहेक जिंक चक्की पनि खान दिन सकिन्छ। उल्टी भइरहेको छ भने नआत्तिएर थोरै–थोरै गर्दै जीवनजल खुवाएर शरीरमा पानीको मात्रा पूर्ति गर्नुपर्छ ।

तीन वर्षमुनिका बालबालिकामा भाइरल झाडापखाला बढी देखिन्छ । यसलाई रोक्न सरकारले रोटाभाइरसविरुद्धको खोप दिन थालेको छ । रोटाभाइरसका कारण बालबालिकामा जटिलता र मृत्युदरसमेत बढ्ने भएकाले खोप महत्वपूर्ण छ । अहिले पनि भाइरल झाडापखालाका कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) भएर अस्पताल आउने बिरामीको संख्या उल्लेख्य छ ।  त्यसकारण भाइरल झाडापखालाविरुद्धको खोपलाई सरकारले नियमित खोप तालिकामै समावेश गरेको छ ।

झाडापखालाका मुख्य कारण

झाडापखालाका मुख्य स्रोत दूषित खाना र दूषित पानी हुन् । फोहोर तथा दूषित वस्तुबाट कीटाणु शरीरमा प्रवेश गर्ने प्रमुख माध्यम हात हो । त्यसैले हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

दूषित खानाका कारण फुड पोइजनिङ हुन सक्छ । यो परिवारका धेरै सदस्यलाई एकैपटक हुन सक्छ । सडेको मासु वा माछा खाँदा फुड पोइजनिङ हुन सक्छ । फुड पोइजनिङ हुँदा बेस्सरी ज्वरो आउने, तारन्तार बान्ता हुने र डायरिया हुनेजस्ता समस्या देखिन सक्छन् । उल्टी र पखाला दुवैका कारण शरीरबाट धेरै पानी गुमेपछि बिरामी डिहाइड्रेसन भएर अस्पताल आउन सक्छ ।

डायरियाका मुख्य कारण दूषित खानेकुरा, दूषित पानी र फोहोर हात हुन् । त्यसबाहेक जुकाले पनि कहिलेकाहीँ डायरिया गराउन सक्छ ।  त्यसकारण सरकारले वर्षमा दुईपटक भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि दिने गरेको छ ।

लक्षण

डायरिया बान्ताबाट सुरु हुन पनि सक्छ र पखालाबाट पनि । धेरैजसो भाइरल डायरिया बान्ताबाट सुरु हुने गर्छ । सुरुमा उल्टी आउँछ । उल्टी के कारणले आएको हो भन्ने थाहा नहुन सक्छ । औषधि खुवाइन्छ, बच्चाले त्यसपछि खानामा पनि रुचि देखाउँदैन र पछि डायरिया सुरु हुन सक्छ ।  जस्तै, बिहानबाट बान्ता सुरु भयो भने साँझबाट डायरिया सुरु हुन सक्छ ।

ब्याक्टेरियाका कारण भएको डायरियामा ज्वरो आउने, बान्ता हुने र डायरिया हुने समस्या सँगसँगै देखिन सक्छ । बान्ता र डायरिया भइरहेको बच्चालाई पिसाब कम हुन थाल्यो, चिडचिडापन भयो वा झिँजो गर्न थाल्यो भने अस्पताल लैजानुपर्छ । धेरै अभिभावकले यसतर्फ पर्याप्त ध्यान दिएको पाइँदैन ।

दिसा पातलो भएको वा डायरिया भएको अवस्थामा बच्चालाई कम खाना दिऊँ भन्ने धेरै अभिभावकको सोच हुन्छ । कम खाना दिएमा डायरिया पनि कम हुन्छ भन्ने उहाँहरूको धारणा हुन्छ । तर, यो गलत हो । बच्चाको शरीरले डायरियाका कारण सोडियम, पोटासियमलगायतका आवश्यक तत्त्व गुमाइरहेको हुन्छ ।  खानेकुरा नदिँदा शरीरलाई आवश्यक पोषण पुग्दैन र पानीको मात्रा पनि कम हुन सक्छ ।

डायरिया हुँदा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा बच्चालाई जुस खान दिनु हुँदैन । बच्चा बिरामी भएपछि ताकतका लागि रियल जुस दिने चलन छ, तर यो उचित होइन। डायरिया भएको बच्चालाई धेरै चिनी भएको खानेकुरा वा पेय पदार्थ दिनु हुँदैन । धेरै चिनी भएको पदार्थले डायरिया अझ बढाउन सक्छ । त्यसकारण प्याकेटमा पाइने जुस पनि खान दिनु हुँदैन ।

बच्ने उपाय

  • सरसफाइमा विशेष ध्यान दिने ।
  • हात राम्रोसँग धोएर मात्रै खानेकुरा खाने । हातको राम्रो सरसफाइले धेरैजसो रोगबाट बच्न सकिन्छ ।
  • बच्चाको हात मुखमा हाल्ने वा हात टोक्ने बानीलाई रोक्ने ।
  • बच्चाले बेला–बेला हात मुखमा हाल्छ भने हात सफा गरिरहने ।
  • नङ र हात टोक्ने बानी भएको बच्चाको हात सफा राख्ने ।
  • वर्षमा दुईपटक जुकाको औषधि खुवाउने ।
  • सडेगलेको र बासी खानेकुरा नखाने ।
  • दूषित पानी नखाने र सकेसम्म उमालेको वा सुरक्षित पानी पिउने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ