एकपटक फेरि भारतलगायत विश्वभर कोभिड—१९ भाइरसको सक्रियता देखिएको छ। केही व्यक्तिको भारतमा मृत्युसमेत भएको समाचारले धेरै मानिसहरु स्वास्थलाई लिएर चासो र केही चिन्तित पनि भएको देखिन्छ।
विगतमा कोभिड—१९ ले पारेको प्रभाव अनि लामो समयदेखि खोप पनि नलगाएकोले यस्तो चिन्ता स्वभाविक पनि मानिन्छ। हालसम्म अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएअनुसार संक्रमित गराउने कोभिड—१९ भाइरस ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता रहेको देखिन्छ।
विशेषत एनबी.१.८.१ भाइरस बढी चर्चामा देखिन्छ। नेपालमा यो भाइरस हालसम्म पुष्टि नभएको भएतापनि एसियाली मुलुकमा तीब्र रुपमा फैलिरहेको हुँदा ढिलो चाडो नेपाल भित्रिन सक्ने जोखिमलाई नकार्न भने सकिदैन्।
अझ भारतमा देखिइसकेपछि नेपालसम्म आइपुग्ने सम्भावना झन बढी हुने गरेको विगतको अनुभवले पनि देखाउँदछ । तत्काल अहिले धेरैको मनमा उब्जिएको प्रश्न भनेको ‘के यो घातक होला ?’ ‘कति संक्रामक छ त ?’
यो लेख तयार पार्दै गर्दा हाल तीब्र गतिमा फैलिन कारक मानिएको भाइरस विशेषत एनबी.१.८.१ नेपालमा पुष्टि भैसकेको छैन। तर, भारतमा पुष्टि भएकोले नेपाल पनि जोखिममा रहेको देखिन्छ। विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले हालै यो नयाँ भाइरसको विश्लेषण गरेको देखिन्छ। डब्लूएचओका अनुसार भाइरसमा संक्रामकता बढी देखिएको भएतापनि घातकता भने अघिल्लो प्रजातिहरु भन्दा बढी देखिएको छैन। विशेषत जेष्ठ नागरिक, दीर्घ रोगका बिरामी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई जटिल अवस्था बनाउन सक्ने भनिएको/देखिएको छ।
हाल भारतलगायत अरु देशहरुमा कोभिड—१९ बाट मृत्यु हुनेहरु पनि यही समूह रहेको जानकारीहरु आउँदैं गरेको देखिन्छ। हुनतः ओमिक्रोन भेरियन्टको प्रादुर्भाव हुँदा नै अघिल्लो भेरियन्टहरु भन्दा कम घातक नै मानिएको/देखिएको थियो।
तर, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भने ओमिक्रोनको लहरमा जेष्ठ अनि दीर्घ रोगका बिरामीहरुको मृत्यु बढी भएको तथ्यांक देखिन्छ। अहिलेका कोभिड—१९ भाइरसहरु पनि ओमिक्रोन भेरियन्टका नयाँ पुस्ताहरु भएको हुँदा सम्भवतः आगामी दिनहरुमा (नेपाल भित्रिएपनि) जेष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरुलाई नै बढी सकस बनाउन सक्ने अनुमान गर्न सकिन्छ।
यसको अधिक संक्रामकता र हाल मास्क लगाउने, साबुन पानीले हात धुने बानी धेरै हदसम्म कम भइसकेको हुँदा घरको सक्रिय सदस्य वा युवा पुस्ता बढी संक्रमित हुने सम्भावना स्वाभाविक बढी हुनेछ। जसका कारण युवा र सक्रिय सदस्यमार्फत घरका जोखिम सदस्यसम्म भाइरस पुग्न सक्ने सम्भावना बढेर जानेछ।
एनबी.१.८.१ का मुख्य लक्षणहरुः
१. खोकी लाग्ने
२. घाटी दुख्ने
३. आलश्य हुने
४. मांशपेशीका दुख्ने
५. नाक बन्द हुने
६. ज्वरो आउने
यो भाइरस जहाँ बढी फैलिएको छ—ती देशहरुमा बढी संक्रमितहरु अस्पताल जान बाध्य बनाएको देखिएतापनि आईसीयु नै जानुपर्ने अवस्था भने देखिदैन् । अर्थात् यसबाट पनि यो नयाँ भाइरस तुलनात्मक रुपमा अघिल्लो प्रजातिहरू भन्दा बढी घातक नदेखिएको/नभएको भन्न सकिन्छ।
नेपालमा यो लेख लेख्दासम्म कोभिड—१९ को नयाँ भेरियन्ट एनबी.१.८.१ पुष्टि भइनसकेको भएतापनि भारतलगायत अरु देशहरुमा केही संक्रमितको मृत्युसमेत भएको भनिएको अनि ढिलो चाँडो नेपालमा पनि देखिन सक्ने भएकोले हामी आफै पनि सतर्क रहनुपर्ने देखिन्छ।
माथि उल्लेखित लक्षणहरु विशेषत: जेष्ठ नागरिक वा तथा दीर्घ रोगका बिरामीमा देखिए स्वास्थकर्मीको परामर्श तुरुन्त लिनु उचित अनि उत्तम हुनेछ।