२०८२ माघ १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य

‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य


कथा सुरु हुन्छ ओपीडीको ढोकाबाट । बिहानको ओपीडी । बिरामीको लामो लाइन।

एकजना सेवाग्राही मुस्कानसाथ भित्र आउनुहुन्छ र भन्नुहुन्छ, ‘डाक्टर साब, म त बीमाको ३५०० तिरेको नि’छु केही जाँच गरेको नै छैन लौन आज भिटामिन डी, भिटामिन बी१२ र थाइराइड पनि जाँच गरिदिनुस् न। खासै समस्या त छैन, मन लागेर आएको।’

म केही क्षण मौन हुन्छु।

मेरो अगाडि दुईवटा जिम्मेवारी ठोक्किन्छन्—
एकातिर बिरामीको अपेक्षा
अर्कोतिर चिकित्सा विज्ञान र बिमा नीतिको नियम ।

अनि म शान्त हुँदै भन्छु, ‘यी जाँचहरू अहिले तपाईंको लक्षणसँग सम्बन्धित देखिँदैन नि हजुर। पछि आवश्यक परे जाँचौला नि हस् ।’

त्यसपछि तः
—‘अनि बीमा किन तिर्‍या त ?’
—‘यहाँ त जाँचै नगर्ने रहेछौ।’
—‘अरू अस्पतालमा डाक्टरले त सबै लेखिदिन्छन् है ।’

कहिलेकाहीँ त कठोर शब्द, गुनासो, र ओपिडी टिकट मुख्मै फ्याकेर अस्पताल बदनाम गर्ने आरोप पनि झेलेको छौ।

तर, यथार्थ के हो त ?

नेपालको स्वास्थ्य बीमा प्रणाली ‘मन लागेको जाँच गरिदिने व्यवस्था’ होइन। स्वास्थ्य बिमा बोर्डको स्पष्ट नियम छ—
—जसमा केवल चिकित्सकीय रूपमा आवश्यक (क्लिनिकल इन्डिकेटेड) जाँचहरू मात्र बीमाले भुक्तानी गर्छ।

यसको अर्थः
—भिटामी डी, बी१२ र थाइराइड आदि जाँच सबै बिरामीलाई नियमित रूपमा लेख्न मिल्दैन् ।
—लक्षण, रोगको शंका वा गाइडलाइनअनुसार आवश्यक ठहरे मात्र ।

यदि डाक्टरले अनावश्यक जाँच लेखिदियो भने—
—स्वास्थ्य बीमा बोर्डले भुक्तानी अस्वीकार गर्छ
—अस्पतालले रकम पाउँदैन
—डाक्टरलाई स्पष्टीकरण सोधिन्छ
—प्रणाली कमजोर बन्छ

हाल स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई स्पष्ट निर्देशन दिएको छ— जस्तैः लक्षणसँग असम्बन्धित, गाइडलाइन विपरित ‘बिरामीको इच्छाअनुसार’ जाँच नलेख्नू।

यो निर्देशन बिरामी विरुद्ध होइन बरु स्वास्थ्य बीमा प्रणाली बचाउनका लागि पनि हो।

बुझ्नुपर्ने कुरा डाक्टरको काम जाँच ‘लेखिदिनु’ मात्र नभएर किन चाहिन्छ, किन चाहिँदैन बुझाउनु पनि हो भने बिरामीको अधिकार सही उपचार पाउनु र स्पष्ट जानकारी पाउनु हो।

मैले बुझेअनुसार यो समस्या न्यूनीकरण गर्न ।
—बिरामीलाई शिक्षा दिएर बीमाको दायरा बुझाउने
—डाक्टर–बिरामी संवादमा दुवैले समय लिएर शान्त रूपमा समझाउने
—बीमा नीति स्पष्टता जसमा अस्पतालमा सूचना बोर्ड र पम्प्लेटमार्फत सचेतना

अन्त्यमा,

ओपीडीमा बसेको डाक्टर, बिरामीको शत्रु होइन। उ नियम र विज्ञानको बीचमा उभिएको एक जिम्मेवार कर्मचारी हो। यदि आज अनावश्यक जाँच रोकिएन भने भोलि साँचो बिरामीले पाउनुपर्ने सेवा नै बन्द हुन सक्छ।

अन्त्यमा बीमा बचाउनु भनेको—सबैको स्वास्थ्य बचाउनु हो ।

(के.सी. धौलागिरी अस्पतालमा मेडिकल अधिकृत हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ