२०८२ चैत्र १, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशको नीति तथा कार्यक्रमः सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

कर्णाली प्रदेशको नीति तथा कार्यक्रमः सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने


वीरेन्द्रनगर— कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु पेश गरेको छ । बिहिबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु पेश गर्दै सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने बताएका हुन् ।

कर्णाली प्रदेशका सरकारले आगामी आर्थिक वर्षमा सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि प्रदेश सरकारले विशेष नीति लिएको मन्त्री सिंहले जानकारी दिए । ‘आगामी आर्थिक वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरूको सहकार्यमा कर्णाली प्रदेशभित्रका सबै नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षणलाई अभियानको रुपमा सञ्चालन गर्ने नीति लिइनेछ,’ मन्त्री सिंहले भने ।

उनले स्वास्थ्य जनशक्ति, उपकरण र स्वास्थ्य सामग्रीको सहज आपूर्ति एवं उपलब्धताको सुनिश्चित गरी विभिन्न किसिमका महामारी तथा रोगको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको उचित प्रबन्ध मिलाइने उल्लेख गरे । उनले भने, ‘त्यसका लागि अत्यावश्यक औषधिको नियमित आपूर्तिको व्यवस्था मिलाइनेछ ।’

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार विकास, जनशक्ति र उपकरणको व्यवस्थापन गरी विद्यमान स्वास्थ्य प्रणालीको सुदृढीकरण गरिने मन्त्री सिंहले बताए । ‘दुर्गम स्थानका बासिन्दाका लागि टेलिमेडिसिन तथा घुम्ती स्वास्थ्य शिविरहरूका साथै जटिल अवस्थाका बिरामीलाई आकस्मिक उद्धारमार्फत उपचार सेवाको व्यवस्था मिलाइनेछ,’ उनले भने ।

आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीजस्ता परम्परागत चिकित्सा पद्धतिलाई संस्थागत गर्न यस सम्बन्धी संस्थाहरूलाई औषधि उत्पादन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने नीति लिइने उनले बताए । योग र ध्यानजस्ता पूर्वीय प्राचीन विज्ञानलाई आम नागरिकको दैनिक जीवनचर्याको रुपमा विकास गर्न सम्बद्ध निकायसँग सहकार्य गरिने नीति प्रदेश सरकारले लिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ