२०८२ जेठ ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान

कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान


वीरेन्द्रनगर—कर्णालीका बिरामीलाई मध्यनजर गरी सुर्खेतबाट अब्स्ट्रेटिक फिस्टुलाको निःशुल्क सेवा प्रदान गरिएको छ । फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पताल सुर्खेतका अनुसार साइनिङ्ग अस्पताल सुर्खेत आईएनएफ नेपालको सहकार्यमा निःशुल्क सेवा प्रदान गरिएको हो ।

अस्पतालका अनुसार सन २००९ भन्दा पहिला आईएनएफ नेपालले पश्चिमाञ्चल, मध्यमश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका दुर्गम जिल्लाहरुमा स्त्री रोग सम्बन्धी शिविर सञ्चालन गर्ने क्रममा केही फिस्टुलाका बिरामीहरु पत्ता लागेका थिए ।

तिनीहरुलाई काठमाडौंको पाटन अस्पतालमा प्रेषण गरिएको थियो । प्रेषण गरिएका कतिपय बिरामीहरु आर्थिक अभावका कारण काठमाडौंसम्म जान असमर्थ भएका थिए ।

फिस्टुलाबाट पीडित महिला बिरामीहरुलाई सुर्खेतबाट नै निःशुल्क सेवा प्रदान गर्ने उद्देश्य राखेर आईएनएफ नेपालमा स्वयंसेवकको रुपमा कार्यरत बेलायती नागरिक स्त्रीरोग विशेषज्ञ डा. शेली हेउड सन् २००८ मा इथियोपियाबाट फिस्टुलाको शल्यक्रिया सम्बन्धी तालिम प्राप्त गरेर फर्केका थिए ।

त्यसपछि सन २००९ देखि तत्कालीन मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र आईएएफ नेपाल सुर्खेतको सहकार्यमा वार्षिक शिविरको आयोजना गरेर फिस्टुलाबाट पीडित महिला बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान गर्न थालिएको हो । प्रत्येक वर्ष निःशुल्क शिविरको आयोजना गरेर सन् २०१८ सम्ममा २४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको थियो । फिस्टुला उपचार केन्द्रबाट २३२ गरी जम्मा ४७७ जना फिस्टुलाबाट पीडित बिरामीहरुको शल्यक्रिया गरि उपचार गरिएको छ ।

त्यसैगरी, सन् २०११ देखि सन् २०१७ सम्ममा पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत रहेका स्वास्थ्य संस्थामा कार्यरत २३९८ जना स्वास्थ्य कर्मीहरुलाई फिस्टुला सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

यसैगरी, जनवरी २०२० देखि दोस्रो चरणको फिस्टुलाको जनचेतनाका लागि अभिमुखीकरण, कार्यक्रम सुरु गरेर हाल कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा सञ्चालन भइरहेको छ । यस अवधिमा लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका महिला सवयंसेविका, आमा समूह, स्वास्थ्यकर्मी, डाक्टर, नर्स विद्यार्थी र समूदायका मानिस गरी जम्मा ४१ हजार ४१९ जनालाई फिस्टुला सम्वन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश अस्पताल, कर्णाली प्रदेश सुर्खेतबाट नियमित रुपमा फिस्टुलाको उपचार सेवा प्रदान गर्नका लागि तत्कालीन मध्य पश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र आईएनएफ नेपाल सुर्खेत बीचमा फिस्टुला उपचार केन्द्रको स्थापना गरेर नियमित सेवा प्रवाह गर्ने उद्देश्यका साथ १६ मे २०१४ मा फिस्टुला केन्द्रको स्थापनाको सम्झौता भएको थियो । सम्झौताअनुसार आईएनएफ नेपाल सुर्खेतको सहयोगमा फिस्टुला उपचार केन्द्र भवनको निर्माण पूरा भई २७ मे २०१८ मा १७ शैय्याको आर्थिकला उपचार केन्द्रको भवन प्रदेश अस्पताल कर्णाली प्रदेश सुर्खेतलाई हस्तान्तरण गरियो ।

तत पश्चात साइनिङ्ग अस्पताल आईएनएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा फिस्टुला उपचार केन्द्रबाट निःशुल्क सेवा प्रदान हुँदैं आएकोमा २० अक्टोबर २०२४ मा फिस्टुला उपचार केन्द्रलाई पूर्णरुपमा प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण पश्चात पनि आईएनएफले प्राविधिक सहयोगको साथै बिरामीको निःशुल्क उपचारका लागि प्रदेश अस्पताललाई सहयोग पु¥याउँदै आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ