हुम्ला—सिमकोट गाउँपालिका–८ याङगुगाउँका ५६ वर्षीय धनवीरे कामी ६ वर्षदेखि जीवन जिउनका लागि संधर्ष गर्दै आएका छन् । तर, गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण उनी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आएका छन् ।
कुष्ठरोगले उनी शारीरिक रूपले पूर्ण रूपमा अपाङ्ग बनेका छन् । उनका हात, खुट्टाका औंला बाङ्गो छन् भने शरीर जाम भएर हिँडडुल गर्नसमेत कठिन भएको छ । गाउँलेको अन्धविश्वासका कारण उनलाई छाउगोठमा राखिएको छ, जहाँ उचित उपचार र हेरचाहको अभाव छ । उनी रातदिन चिसो, भोक र वेदनासँग जिउन बाध्य छन् ।
परिवारमा उनी जेठो छोरा हुन् । सबै भाइहरू छुट्टिएर बसेका छन् । उनको हेरचाहको लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका छन् । घरपरिवारले घरमै बस्न भनेपनि गाउँलेहरूको डरले टाढै छाउगोठमा राखिएको परिवारजन बताउँछन् । ६ वर्षदेखि एकल जीवन बिताइरहेका कामी रातभर चिसो, दिनभर घाम अनि भोको पेट, बिरामीले शिथिल भएका छन् ।
‘मलाई अझै आशा छ म फेरि स्वस्थ भएर गाउँ फर्कन सक्छु । मेरो सबैभन्दा ठूलो चाहना भनेको फेरि जिउन र समाजमा स्वाभिमानका साथ बसेर जीवन बिताउनु हो,’ उनले थपे, ‘म चाहन्छु, मजस्तो पीडित अरूलाई पनि सरकार र समाजले सहयोग गरुन्, ताकि उनीहरूको जीवन पनि उज्यालो होस् ।’

सिमकोट गाउँपालिकाका वडाध्यक्ष कमल बुढाले आफ्नो वडामा यस्ता खालका बिरामीको उपचार गर्नको लागि सरोकारवाला निकायहरूसँग आग्रह गरेको बताए । ‘हामीले यस्ता बिरामीको सकेको उपचार गरेका छौं,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयकाअनुसार यस विषयमा बैठकमै छलफल भएको हो । बिरामीको उपचारका लागि जनस्वास्थ्य कार्यालयका मेसुलाई निर्देशन गरिएको छ । बिरामीलाई जिल्ला अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार बिरामीको घर मोटर बाटोदेखि एक घण्टा टाढा रहेको छ । ‘एक घण्टाको मोटर बाटो गाडी जानेसम्म बोकेर ल्याउने र त्यसपछि गाडीमा अस्पताल उपचारका लागि ल्याउने तयारी गरेका छौं,’ उनले भने, ‘अहिले कुष्ठरोगले हो कि बाथरोगले हो । रोग पत्ता लागेको छैन । अस्पतालमा ल्याएर उपचार परीक्षण गरेपछि मात्रै रोग पत्ता लाग्ने भएको छ । गाउँमा कुष्ठरोग भनेतापनि लामो समयसम्म बाथ रोगले गर्दा पनि यस्तो हुन सक्छ । तर, उपचार र परीक्षणले मात्रै थाहा हुनेछ ।’