वीरेन्द्रनगर—पछिल्लो समय नेपालमा नसर्ने रोग भयावह बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा ९८ हजार बढी क्यान्सरका बिरामी भेटिएका छन् ।
आर्थिक वर्ष २०८१–०८२ मा नेपालमा प्रदेशगत रूपमा क्यान्सरका बिरामीको सङ्ख्या सार्वजनिक भएको हो । उपलब्ध तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै क्यान्सरका बिरामी दर्ता भएका छन् ।
तथ्यांकअनुसार बागमती प्रदेशमा क्यान्सरका बिरामीको सङ्ख्या ८५ हजार ४०० पुगेको छ, जुन अन्य प्रदेशको तुलनामा अत्याधिक हो । त्यसैगरी, कोशी प्रदेशमा ११ हजार ७२७ जना क्यान्सरका बिरामी रहेका छन् ।
गण्डकी प्रदेशमा २४५, लुम्बिनी प्रदेशमा २२३, मधेश प्रदेशमा २०६, कर्णाली प्रदेशमा १५४ र सुदूरपश्चिम प्रदेशमा १२५ जना क्यान्सरका बिरामी रहेको तथ्यांकमा उल्लेख छ ।
विशेषज्ञहरूकाअनुसार बागमती र कोशी प्रदेशमा बिरामीको सङ्ख्या बढी देखिनुमा उच्च जनघनत्व, सहरीकरण, अस्वस्थ जीवनशैली, रसायनिक विषादीको उच्च प्रयोग, वातावरणीय प्रदूषण, उपचार तथा परीक्षण केन्द्रहरूको पहुँचजस्ता प्रमुख कारण रहेका छन् ।
अन्य प्रदेशहरूमा बिरामीको सङ्ख्या कम देखिएपनि परीक्षणको पहुँच अभावका कारण वास्तविक सङ्ख्या अझै पनि बढी हुन सक्ने अनुमान गरिएको छ । क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि तथा प्रदेशगत रूपमा उपचार पूर्वाधार सुदृढ गर्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेश प्रमुख प्रदीप अधिकारीले बताए ।
‘नसर्ने रोगहरू मुख्यतः अस्वस्थ खानपान, सुर्तीजन्य पदार्थको सेवन र असन्तुलित जीवनशैलीका कारण बढ्दै गएको छ,’ उनले भने, ‘नेपालमा हरेक वर्ष करिब ३९ हजार ९०० जनाको मृत्यु सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा लिइएको छ ।’
नसर्ने रोगको रोकथामका लागी पैरवी
नेपालमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वासलगायतका नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि नागरिक समाजको भूमिका सशक्त बनाउन प्रदेशगत रूपमा पैरवी तथा अन्तक्रिया कार्यक्रम सुरु गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले यो कार्यक्रम कर्णाली प्रदेशबाट सुरु गरेको हो ।
नसर्ने रोग रोकथामका लागि स्वास्थ्यमैत्री नीति निर्माणमा सरकारलाई दबाब दिइएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले बताए । हानिकारक उत्पादनहरूको वितरण र बिक्रीमा कडा अनुगमन गर्नु तथा समुदायस्तरमै स्वस्थ जीवनशैली र खानपान सम्बन्धी शिक्षा दिन नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको उनको दाबी छ ।
‘सरकारले गरेका प्रतिबद्धताहरू कार्यान्वयन भए—नभएको लेखाजोखा गर्ने जिम्मेवारी पनि नागरिक समाजकै हो,’ उनले भने, ‘सबैले आ—आफ्नो क्षेत्रबाट नसर्ने रोग कम गर्न के कसरी भूमिका खेल्न सकिन्छ ? त्यसरी काम गरौँ ।’
मञ्चका महासचिव विष्णु तिमिल्सिना र प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले अस्वस्थ खाद्यवस्तु, रासायनिक विषादी र प्रशोधित खानाका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता नसर्ने रोग बढिरहेको बताए ।
उनीहरूले उपभोक्तालाई सचेत बनाउँदै स्वस्थ विकल्प रोज्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।