जुम्ला—सरकारले नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरिसकेको छ । तर, कर्णाली प्रदेशमा भने वर्षेनी कुष्ठरोगका बिरामी बढिरहेका छन् ।
प्रदेशमा नयाँ बिरामी फेला पर्ने, पत्ता लाग्ने दर बढिरहेको हो । पछिल्लो पाँच वर्षको अवधिमा उपचार पूरा गर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७७/२०७८ देखि नयाँ कुष्ठरोगका बिरामी थपिँदै गएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष ०७७/०७८ मा ६७ बिरामी फेला परेकामा ०७८/०७९ मा ६८ जना पुगे । आर्थिक वर्ष ०७९/०८० मा बढेर ७३ जना पुगे । यस्तै, आर्थिक वर्ष ०८०/०८१ म ८० जना पुगे भने ०८२/०८३ मा ८३ जना नयाँ बिरामीहरू थपिएको कुष्ठरोग फोकल पर्सन पदम केसीले बताए ।
यो अवधिमा नयाँ बिरामी पत्ता लाग्ने दर पनि बढ्दैं गएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३.६७ रहेकामा त्यसपछि ४ पुग्यो । यो पछिल्लो वर्ष ४.२, ४.७ र आर्थिक २०८२÷०८३ मा ४.८७ पुगेको केसीले बताए ।
उनकाअनुसार उपचार लिने बिरामीको संख्या पनि वर्षेनी बढेको छ । सुरुमा ७७ जना बिरामीको उपचारमा गर्दै आएकामा त्यसपछि ८४ जना भए । त्यसपछि ९२ जना पुगेकामा अर्को वर्ष १०२ पुगे । आर्थिक २०८२/०८३ मा १११ जना कुष्ठरोगका बिरामी उपचारमा छन् ।
बिरामी बढेसँगै उपचार पूरा हुनेहरू पनि बढेका छन् । सुरुमा ६४ जनाले उपचार पूरा गरेर गए । त्यसपछि ६८ जना, ६९ जना, ७६ जनाले उपचार पूरा गरे । आर्थिक वर्ष २०८२/०८३ मा ७५ जनाले उपचार पूरा गरेका फोकल पर्सन केसीले बताए ।
निर्देशनालयले स्थानीय तहमा गएर कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउने कार्य गरिरहेको जनाएको छ । साथै, नियमित उपचारपछि यातायात खर्च एक हजार रुपैयाँ र भर्ना हुने प्रभावितलाई थप एक हजार रुपैयाँ उपलब्ध गराउने कार्य पनि निर्देशनालयबाट भइरहेको छ । अनुगमलाई पनि निरन्तरता दिएको केसी बताउँछन् ।
कुष्ठरोगका बिरामीलाई साइनिङ अस्पताल आईएनएफ सुर्खेतमा निःशुल्क उपचार गरिन्छ । अस्पतालबाट ओपीडी सेवाका साथै आवासीय उपचार सेवा पनि दिने गरिएको अस्पताल प्रमुख ललितबहादुर सारुले बताए ।