२०८२ वैशाख ३०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाको आशंकामा क्वारेन्टाइन बसेका ४३ जनामा औलो, स्क्रब र डेंगु पनि देखिन थाल्यो

कोरोनाको आशंकामा क्वारेन्टाइन बसेका ४३ जनामा औलो, स्क्रब र डेंगु पनि देखिन थाल्यो


काठमाडौं—कोरोनासँगै नेपालमा कालाजार, डेंगु, औलो र स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुुसार कोभिड—१९ को आशंकामा क्वारेन्टाइन बसेका ४३ जनामा मलेरिया अर्थात औलोको संक्रमण देखिएको छ । वर्षात रोकिएकाले अब संक्रमणको दर बढ्ने विज्ञहरु बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोभिड–१९ सँगै डेंगु, मलेरिया, कालाजार र स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । यसले ज्वरोको जाँच निकै महंगो हुने देखिएको छ । ‘ज्वरो आए चिकित्सकले छाड्दैनन् । डेंगुदेखि स्क्रब टाइफससम्म परीक्षण गर्दा १० हजार बढी शुल्क लाग्छ ।’

काठमाडौंमा समेत डेंगु, मलेरिया र स्क्रब टाइफसका बिरामी फेला परेको चिकित्सक बताउँछन् । यो बीचमा कोभिड—१९ को आशंकामा क्वारेन्टाइनमा बसेका ४३ जनामा मलेरिया देखिएको छ । यी रोगले संक्रमित व्यक्ति थप मारमा पर्ने बास्तोला बताउँछन् ।

पुस यता मात्रै कालाजारको संक्रमित संख्या १ सय ९ जना रहेकामा कालिकोटका १८ जना, ओखलढुंगामा ८ जना, मुगुमा ३ जना, काठमाडौंमा २ जना, हुम्लामा २ जना छन् । यी जिल्ला पहाडी र हिमाली हुन् ।

त्यस्तै, सोही समययता काठमाडौंमा ६ जना, अछाममा २ जना र भोजपुरमा १ जनामा डेंगुका बिरामी देखिएका छन् । पछिल्लो एक वर्षमा भने ७ सय २४ जनामा मलेरियाको संक्रमण देखिएको छ । जसमा अछाममा ३४ जना, काठमाडौंमा १८ जना, सुर्खेतमा १७ जना, कालिकोटमा १२ जना, हुम्लामा १० जना, बाजुरामा ११ जना, दैलेखमा ८ जना, मुगुमा २ जना र जुम्लामा १ जना छन् । यो एक हप्ता मात्रै १४ जनामा मलेरिया संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

त्यस्तै, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सामाजिक सन्जालमा स्क्रब टाइफसमा बिरामीहरु पनि भेटिन थालेको बताएका छन् । उनले सामाजिक सन्जालमा एक फोटो राख्दैं लेखेका छन्, ‘यो आज स्क्रब टाइफस कन्फर्म भएको बिरामीको शरीरमा देखिएको इस्कार (घाउ) हो । स्क्रब टाइफस सबैभन्दा सक्रिय हुने महिना साउन र भदौ आइपुगेको छ । स्क्रब टाइफस र कोरोनाको लक्षणहरु मिल्दोजुल्दो हुने र दुबैमा निमोनियाको जटिलता देखिने हुँदा कोरोना मात्र भन्दै गर्दा स्क्रब टाइफस नछुटोस् ।’

पाँच वर्षको तथ्यांक हेर्नोस


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ