काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेलाई पठाएको छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीकाअनुसार आइतबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी उनलाई सो जिम्मेवारी दिइएको हो ।
यसअघि इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको रहेका डा. पाण्डेलाई एक महिना अघि मन्त्रालयमा सरुवा गरी फाजिलमा राखिएको थियो । दुई महिनापछि अनिवार्य अवकास पाउँदै गरेका डा. पाण्डेलाई मेसु बनाएर पठाएपछि अबको दुई महिनापछि पुनः अस्पतालले नयाँ मेसु पाउने पक्का छ । एक वर्ष भित्र सो अस्पतालमा चार जना मेसु परिवर्तन भइसकेका छन् ।
२५ भदौमा भेरी अस्पताल नेपालगञ्ज दरवन्दी रहेका डा. राजन पण्डेलाई काजमा खटाएर मेसुको जिम्मेवारी दिइएको थियो । तत्कालीन मेसु श्रीराम तिवारीलाई केन्द्रीय कारागार अस्पतालमा सरुवा गरेपछि डा. राजनलाई ल्याइएको थियो । डा. राजनले काम गर्ने वातावरण नभएको भन्दै काज फिर्ता गरी एक महिना सकिने बितिकै भेरी फर्किएका थिए ।
उनी भेरीमा फर्किएपछि १० औं तहका डा. जगन्नाथ तिवारीलाई मेसुको जिम्मेवारी दिइएको थियो । १० औं तहले निमित्त चलाइरहेको ठाउँमा ११ औं तहको चिकित्सक पठाइएको प्रशासन महाशाखा प्रमुख रेग्मीले बताए ।
भरतपुर विकास समितिका अध्यक्ष भोजराज अधिकारीले भने चाडो—चाडो मेसु परिवर्तन हुँदा अस्पतालका नियमित कामहरुमा नै अप्ठ्यारो परेको बताए । ‘एक वर्ष नहुँदैं चार जना मेसु फेरिइसके,’ उनले भने, ‘नयाँ आउनुभएको मेसु पनि दुई महिनापछि अवकास पाउँदैं हुनुहुन्छ । काम कसरी अगाडि बढ्छ ?’