काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या सच्याउन थालेको छ । गत कातिकमा नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा फरक—फरक संख्या देखिएपछि केसको अध्ययन थालिएको थियो ।
मन्त्रालयकी सह—सचिव शैलजा रेग्मीको संयोजकत्वमा गठन भएको समितिले सेना र मन्त्रालयबीच साढे ५ सयको फरक देखिएको प्रतिवेदन तयार पारेको थियो । उक्त संख्यालाई स्वास्थ्य मन्त्रालय आफैले ७ सय ५३ स्थानीय तहबाट पुनः मृत्युको संख्या भेरिफाई गरेको थियो । यस बीचमा ठूलो संख्याको अन्तर देखिएको छ ।
मन्त्रालयले पछिल्लो एक हप्ताको बीचमा ७ सय २ जना मृतकको संख्या थपिएको छ । अझै करिब तीन सयको संख्यामा थपिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार थप तीन सय जनाको मृत्युमा शंका भएकाले विवरणहरु जुधाउने काम जारी छ ।
हाल सम्म २ हजार ७ सय ७७ जनाको कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । गत बुधबार ६ सय १९ जना र बिहिवार पुन ८३ जनाको मृत्यु संख्या थप गरिएको थियो ।
मृत्युको संख्या धेरै हराउनुले स्वास्थ्य मन्त्रालयले सबै नागरिकको तथ्यांक व्यवस्थित रूपमा नराखेको पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको एकिन तथ्यांक पत्ता लगाउन सरकारले नै गठन गरेको समितिले २ कात्तिकसम्म ५ सय १३ जनाको नाम स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छुटेको पुष्टि गरेको थियो । सरकारले कोरोनाबाट मृत्यु हुनेको एकिन तथ्यांक पत्ता लगाउन २ कात्तिकमा समिति नै गठन गरेको थियो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २ कात्तिकसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय ३९ छ । तर, त्यसमा ५ सय १३ जना छुटेको समितिको प्रतिवेदनमा छ । त्यति नै बेला स्वास्थ्य मन्त्रालयको तथ्यांकभन्दा सेनाले शव व्यवस्थापन गरेको मृतकको संख्या चार सय बढी थियो । मन्त्रालय र सेनाको फरक–फरक तथ्यांकपछि अध्ययनका लागि समिति बनाइएको थियो ।