धनगढी—काठमाडौंस्थित संघीय वीर अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोध सम्बन्धी अध्ययन भइरहेको छ । अन्तर्राष्ट्रिय दातृ निकाय इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)को प्राविधिक सहयोग अन्य दातृ निकाय मिलेर उक्त अनुसन्धान गरिरहेका छन् ।
दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषण नेपाल प्रा.लि.ले नेपालका प्रमुख अस्पतालको रुपमा रहेको वीर अस्पताल र सुदूरपश्चिम प्रदेशमा रहेको सेती प्रादेशिक अस्पतालमा अनुसन्धान कार्य सुरु गरेको हो ।
नेपालको प्रतिजैविक प्रतिरोधी उपचार निर्देशिकाअनुसार नै अनुसन्धान कार्य भइरहेको अन्वेषण नेपालकी प्रोगाम अफिसर सन्जु मर्हजनले बताइन् । उनले यो अनुसन्धान कार्य मात्रै नभएर चिकित्सक, माइक्रोबायोलोजिस्ट, प्रयोगशालाकर्मी, फार्मेसी र नर्सिङ कर्मचारी सबैलाई सो विषयमा उत्तरदायी बनाउने समेत बताइन् ।
सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोध अनुसन्धानको लागि चिकित्सकसँगै अन्य कर्मचारीहरुलाई तालिम प्रदान गरी डिजिटल रुपमा तथ्यांक संकलन गरी तथ्यांक अडिटको काम भइरहेको सेती अस्पतालका अनुसन्धान परियोजनाका अधिकृत रविन चौधरीले बताए ।
त्यसैगरी, सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधसँग सम्बन्धि नमुनाहरु सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण भइरहेको माइक्रोबायोलोजिष्ट डा. रचना शाहीले बताइन् ।
संक्रामक रोगहरुको भार भएको देशमा प्रतिजैविक प्रतिरोध बढ्दो र वातावरण प्रदूषणसमेत बढिरहेकाले एन्टीबायोटीक औषधिको प्रभावलाई कम गर्ने विज्ञहरुको भनाइ छ । नेपाल सरकारले प्रतिजैविक प्रतिरोध कार्ययोजना जारी गरी २०८० बाट नै कार्यान्वयनमा ल्याइसकेको छ ।
प्रतिजैविक प्रतिरोध सम्बन्धी सचेतना, स्वास्थ्य साक्षरतासँगै एन्टीबायोटीकको जथाभावी प्रयोगलाई नियमन गर्नुपर्ने स्वास्थ्य प्रर्वद्धन तथा शिक्षा संघका अध्यक्ष हेमराज खड्काले बताए । उनले भने, ‘एन्टीबायोटीक प्रयोगसँगै प्रतिजैविक प्रतिरोध पशु स्वास्थ्यसँगै कृषिजन्य उत्पादनमा भइरहेको पेस्टीसाइड प्रयोगले वातावरणलाई समेत प्रभावित बनाएको छ । पहिले मान्छे औषधि नपाएर मृत्यु हुन्थ्यो भने अब विश्व बजारमा भएका औषधिले समेत काम नै नगर्ने अवस्था छ ।’ स्वास्थ्य नीति कार्यान्वयनको लागि सबै क्षेत्रहरु लाग्नुपर्ने देखिएको खड्काले बताए ।
बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले विभिन्न संक्रामक रोगहरुको संक्रमण हुने भएकाले एन्टीबायोटीकको प्रयोग बढ्दो छ । काठमाडौं मेडिकल कलेजका नवजात शिशु तथा बालरोग क्रिटीकल केयर विशेषज्ञ डा. पुष्पराज अवस्थीले बालबालिका एन्टीबायोटिक बढ्दो प्रयोगले प्रतिजैविक प्रतिरोध भएका केसहरु आउने गरेको बताए । ‘बच्चामा प्रतिजैविक प्रतिरोध हुनुमा आमाको स्वास्थ्यमा समेत अत्याधिक एन्टीबायोटिक प्रयोगको कारण हुन सक्छ,’ उनले भने ।
विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियालाई भविष्यमा मानिसमाथि आइपर्ने १० प्रमुख स्वास्थ्य समस्यामध्ये एक मानेको छ । विज्ञले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विश्वव्यापी संकटलाई ‘लुकेको महामारी’को संज्ञा दिएका छन् ।
विश्वमा प्रतिजैविक प्रतिरोधको बिषयमा मानव स्वास्थ्यसँगै पशु, वनस्पति र वातावरणमा समेत प्रभाव पारिरहेको सो विषयमा अनुसन्धान भइरहेको प्रतिजैविक प्रतिरोध विज्ञ डा. सन्तोष दुलालले बताए । ‘प्रतिजैविक प्रतिरोधी ब्याक्टेरिया विश्वमा स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रूपमा देखा परेकाले यो विश्वब्यापी जनस्वास्थ्य संकट हो,’ उनले भने ।
प्रतिजैविक प्रतिरोधको विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मानव स्वास्थ्यसँगै वनस्पति स्वास्थ्यमा अनुसन्धान गरिरहेको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले बताए । ‘स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा पहिलो पटक वन मन्त्रालयको समन्वयमा प्रतिजैविक प्रतिरोधको विषयमा वातारणीय स्वास्थ्यमा समेत अनुसन्धान सुरु गरेको छ,’ उनले भने ।
विश्व स्वास्थ्यलाई चुनौती दिइरहेको प्रतिजैविक प्रतिरोधले खाद्य सुरक्षासँगै दिगो विकास लक्ष्य २०३० समेत प्रभावित बनाएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य र सामाजिक आर्थिक संकट नै प्रतिजैविक प्रतिरोध भएको जनाएको छ । यसले मानव र पशु स्वास्थ्य खाद्य उत्पादन र वातावरणमा गम्भीर प्रभाव पारिरहेको छ ।
जनस्वास्थ्य संकट नै मानिएको प्रतिजैविक प्रतिरोध अफ्रिका र दक्षिपूर्वी एसियामा गम्भीर चिन्ताका रुपमा देखा परेको छ । विश्वमा प्रत्येक वर्ष प्रतिजैविक प्रतिरोधसँग सम्बन्धित समस्याका कारण ५० लाख मृत्युका घटना हुने गरेको देखिन्छ । प्रतिजैविक प्रतिरोधका कारण सन् २०३० सम्ममा विश्वब्यापी आर्थिक भार ३४ खर्ब अमेरिकी डलर बराबर थपिने अध्यननले देखाएको छ । नेपालमा मृत्युको प्रमुख कारणमध्ये एक प्रतिजैविक प्रतिरोध पनि हो ।