२०८२ जेठ १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब

स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब


विराटनगर–विहारका रमेश सिंहले बिहानै घरको आँगनमा टहलिरहेका उनका बुबाको अनुहारमा मुस्कान देखे । ६ महिना अघिसम्म उनका पिता ६८ वर्षीय सुरेन्द्र सिंह आँखाको समस्याले गर्दा घरबाट बाहिर निस्कन हिच्किचाउँथे । मोतियाबिन्दुको समस्या बढ्दै गएपछि उनीहरूले भारतका विभिन्न ठूला सहरहरूमा उपचारको खोजी गरे । तर, खर्च र प्रतीक्षा अवधि दुवै निराशाजनक थियो ।

‘त्यसपछि एक दिन हाम्रो छिमेकी सुनिलजीले विराटनगरको आँखा अस्पतालमा उपचार गराएको अनुभव सुनाए,’ रमेश याद गर्छन्, ‘पहिला त नेपालमा उपचार ? के त्यहाँ राम्रो हुन्छ होला र भन्ने शंका थियो । तर, उनको सफल उपचारको कथा सुनेपछि हामीले पनि प्रयास गर्ने निर्णय ग¥यौं ।’

बिहारबाट नेपालको सीमावर्ती सहर विराटनगरसम्म पुग्न मात्र तीन घण्टा लाग्यो । विराटनगर आँखा अस्पतालमा पुग्दा रमेशलाई आश्चर्य लाग्यो– फराकिलो, सफा परिसर, आधुनिक उपकरण र सबैभन्दा महत्वपूर्ण कुरा व्यवसायिक चिकित्सक टिम ।

‘मैले तुरुन्तै अनुभव गरें कि यहाँ गुणस्तरीय सेवा छ,’ रमेश भन्छन्, ‘परीक्षणदेखि शल्यक्रियासम्म सबै कुरा व्यवस्थित र प्रभावकारी थियो र भारतका ठूला अस्पतालहरूको तुलनामा लागत आधाभन्दा कम ।’

विराटनगरसँग जोडिएको यो कथा कथा केवल रमेश र उनका बुबाको मात्र होइन । पछिल्ला वर्षहरूमा पूर्वी नेपालको यो सहर स्वास्थ्य पर्यटनको एक महत्वपूर्ण केन्द्रको रूपमा उदाउँदै छ । औद्योगिक र राजनीतिक सहरको पहिचान बोकेको विराटनगर अब नेपाल र छिमेकी मुलुकका बिरामीहरूको आशाको केन्द्र बन्दै गएको छ ।

विराटनगर आँखा अस्पतालमा आर्थिक वर्ष २०८०÷०८१ मा ३ लाख ६० हजार बिरामीको आँखा परीक्षण गरियो । तीमध्ये २ लाख १६ हजार जना भारतीय नागरिक थिए । अस्पतालमा दैनिक एक हजार २ सय हाराहारी बिरामी उपचारका लागि आउँछन् ।

अस्पतालको तथ्यांकअनुसार त्यो वर्ष जम्मा ६७ हजार ५ सय जनाको आँखा शल्यक्रिया गरिएको थियो । मोतियाबिन्दु समस्याका बिरामीहरूको संख्या सबैभन्दा धेरै थियो । शल्यक्रिया गर्नेमध्ये ७० प्रतिशत बिरामी त भारतीय नै थिए ।

विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथु भन्छन्, ‘हिजो हामी उपचारका गर्न नेपाली रुपैयाँ भारतीय रुपैयाँ (भा.रु.) बनाएर पारी भारत जाने गर्दथ्यौं । अहिले भारतीय रुपैयाँ बोकेर उताबाट मानिस आउँछन् । यो सबै हाम्रो गुणस्तरीय उपचार सेवाको नतिजा हो । अहिले हामीले प्राप्त गर्ने भारतीय रुपैयाँ पनि बढेको छ ।’

भारतको बेङ्गलुरु बस्ने ५० वर्षीय डब्लु सिंह सवारी दुर्घटनामा परी गम्भीर घाइते भए । स्थायी घर बिहार भएका उनको टाउकोमा गहिरो चोट लागेको थियो । बेङ्गलुरुकै एक अस्पतालमा उपचार गराए । तर, खासै सुधार भएन । बिहार फर्किएर आए । स्तरीय उपचारबारे सुनेका परिवारले विराटनगरको न्यूरो अस्पतालमा सिंहलाई भर्ना गराउने निधो गरे । एम्बुलेन्समा घरबाट न्यूरोसम्म ल्याई पु¥याउन मात्र ७० हजार भारतीय रुपैयाँ खर्च भयो ।

तर, न्यूरोमा उपचार गराएपछि सिंह स्वस्थ भए । स्वस्थ भएका सिंह हालैमात्र घर फर्किएका छन् । ‘मलाई त मर्छु जस्तो लागेको थियो तर विराटनगरमा उपचार गराएपछि नयाँ जीवन पाएँ’, सिंहले भने । आफूलाई पुर्नजन्म दिने न्यूरो अस्पताल र त्यहाँका चिकित्सकलाई धन्यवाद दिएर हसिँलो अनुहार लगाउँदै सिंह बिहार फर्किसकेका छन् । विश्वस्तरीय स्वास्थ्य सेवाको गुणस्तर बढाएसँगै न्यूरोमा भारतसहित विदेशी बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालको चार अर्ब लगानीमा क्यान्सर इन्स्टिच्युट संचालनमा रहेको छ । उक्त इन्स्टिच्युटले एक सय शय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । जसको लागि चार सय करोड रुपैयाँ लगानी भएको उनको भनाइ छ । अस्पतालले क्यान्सरको उपचारको लागि एक सय करोड बढीको लेटेष्ट उपकरणमात्रै ल्याएको जनाएको छ । रेवन्त रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवा दिने उनले बताए ।

‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ डा. कार्कीले भने, ‘अहिले १०० शय्याको रहेको छ । यसलाई अवश्यकताअनुसार थप विस्तार गर्दै अगाडि बढाउनेछौँ ।’ यसअगाडि कोशी प्रदेशमा रहेका क्यान्सरका बिरामीहरुले कि त चितवनको भरतपुर क्यान्सर अस्पताल, काठमाडौँमा वा भारत जानुपर्ने बाध्यता थियो ।

क्यान्सर इन्स्टिच्युटले कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई सेवा दिने जनाएको छ । ‘क्यान्सरका बिरामी चितवन र विदेश जाने गरेका थिए । स्थानीयस्तरमै क्यान्सरका रोगका बिरामीको उपचार विराटमा हुने भएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने ।

इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ । यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् । क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन् । टिममा सुपरस्पेसियालिटी हासिल गरेका चिकित्सकहरू समेत छन् । क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमात्र एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सुपरस्पेसियालिटी सेवाहरु मिर्गौला डायलाइसीस, मुटु रोग, मूत्र रोग, न्यूरो सर्जरी, न्युरोलोजी, पल्मोनोलोजी, इन्डोक्राइनोलोजी रहेको छ ।

नोबेल मेडिकल कलेजले दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको छ । दुई अर्ब २० करोड रुपैयाँको लगानीमा स्थापित यो सेवा प्रारम्भ भएपछि यूरोपका बिरामीहरू समेत उपचारार्थ त्यहाँ आउन थालेका छन् । नोबेलका प्रशासकीय अधिकृत दिपेश राईका अनुसार नेपालबाहेक भारत, बंगलादेश, भुटान, माल्दिभ्सजस्ता देशका बिरामीहरू उपचार गर्न आउँछन् । दैनिक पन्ध्र सय बिरामीले सेवा लिने नोबेलमा मुटु रोगको समेत गुणस्तरीय सेवा उपलब्ध रहेको राईको कथन छ । ‘न्युरो सम्बन्धी सेवा सुरु हुनासाथ काजकस्तानका एक जना बिरामी हेलिकप्टर चार्टर गरेर हामी कहाँ आउनु भयो । साता लामो उपचार गराएर बिसेक भई घर फर्कनु भयो,’ राईले भने ।

कञ्चनबारीको आर्या न्यूरो अस्पतालमा मस्तिष्क र नसा सम्बन्धी रोगहरूको उपचार हुन्छ । विशेषज्ञता हासिल गर्दै कोशी प्रदेशकै भरपर्दो चिकित्सा केन्द्रको रूपमा स्थापित यो अस्पतालमा न्यूरो सर्जरीदेखि स्ट्रोकजस्ता जटिल बिमारीहरूको पनि उपचार हुने गर्दछ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपाल यस क्षेत्रमा दशकौंदेखि सेवारत छन् । उनको नेतृत्वको चिकित्सकहरूको टिमले जटिल प्रकृतिका रोगहरूको उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । ‘मेरो उद्देश्य बिरामीहरूलाई उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्नु थियो,’ डा. नेपालले भने, ‘अहिले यहाँ कोशी प्रदेशका मात्र होइन, मधेश र छिमेकी मुलुक भारतसम्मका बिरामीहरूले पनि सेवा पाएका छन् ।’

भारतीय बिरामी नेपालमा उपचार गराउन आउनुको मुख्य कारण गुणस्तरीय सेवा र तुलनात्मक रूपमा सस्तो शुल्क नै हो । विराटनगरका अस्पतालले जनाएअनुसार आँखा उपचार गर्न भारतमा लाग्ने खर्चभन्दा नेपालमा सस्तो पर्छ । सेवा पनि प्रभावकारी छ । यही विश्वासले गर्दा विराटनगर ‘हेल्थ टुरिजम’को केन्द्र बन्न पुगेको विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक पृथु बताउँछन् । ‘बाहिरका बिरामीले गुणस्तरीय र भरपर्दो सेवा खोज्छन् । त्यो मापदण्ड पूरा गराउन हामी सफल भएका छौं,’ उनले भने ।

दिव्य ज्योति आँखा अस्पतालका प्रशासन प्रमुख देवा यादवका अनुसार नेपाल–भारत खुला सीमाका कारणले भारतबाट नेपाल आउन कठिन छैन । जसरी नेपाली उपचार गर्न भारत जान्छन् उसैगरी भारतीयहरु नेपाल आउँछन् । उनले भने, ‘यहाँका आँखा अस्पतालका प्रमुख बिरामीहरु भनेकै भारतीयहरु हुन् ।’ गोल्छा र तापडिया आँखा अस्पताल पुग्नेहरूमध्ये पनि उनीहरु नै अधिक हुने गर्छन । उत्तरपूर्वी भारतका बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगालजस्ता राज्यका आँखा बिरामीहरूको पहिलो गन्तब्य विराटनगर बनेको पाइएको छ ।

मुटु उपचारमा पनि अब्बल

न्यूरो अस्पतालले आठ वर्ष अगाडि कोशी प्रदेशमै पहिलो पटक अत्याधुनिक ‘क्याथ ल्याब’ स्थापना ग¥यो । चर्चित कन्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. निकेशराज श्रेष्ठसहितको चिकित्सकको टिमले मुटुको विशिष्टीकृत उपचार सेवा अघि बढायो ।

मुटुमा जटिल समस्या भएका बिरामीहरूका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लास्टी र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको छ । हालसम्म दुई हजारभन्दा बढी मुटुरोगीहरूले न्यूरो–कार्डियो अस्पतालबाट सफल शल्यक्रिया तथा उपचार सेवा लिएका छन् ।

न्यूरो अस्पतालले मुटुको जटिल समस्या देखिएका बिरामीहरूको उपचारका लागि अत्याधुनिक प्रविधि (फिलिप्स एफडी २० क्याथ ल्याब) ल्याएपछि उपचारका लागि आउने बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दैं गएको छ । यो प्रविधि नेपालमा जम्मा तीन वटा अस्पतालमा मात्र उपलब्ध छ ।

हाडजोर्नी सम्बन्धी रोगहरूको उपचार पनि न्यूरोमा सफलतापूर्वक हुने गरेको छ । गुणस्तरीय उपचार सेवा प्रदान गरेकै कारण हाडजोर्नीको उपचारमा पनि न्यूरो बिरामीहरूको रोजाइमा परेको छ । अस्पतालमा जोर्नी प्रत्यारोपणसम्मको उपचार हुने गर्दछ । कोशी प्रदेशमा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको माध्यमबाट हुन थालेको छ । पहिले काँधको शल्यक्रिया काठमाडौं र विदेशतिर मात्र हुने गथ्र्यो ।

वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णका अनुसार जोर्नी प्रत्यारोपणसम्मको उपचार सेवा सुरु भएपछि अब बिरामीहरूलाई विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

अन्तर्राष्ट्रियस्तरको सेवाका चुनौती

विदेशी बिरामीहरूको आगमनले होटल, यातायात र अन्य सेवा क्षेत्रमा पनि व्यवसाय बढेको छ । पूर्वाधार विकास, शिक्षित र प्रशिक्षित मानव संसाधन, गुणस्तरीय सेवाको निरन्तरता र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेजस्ता चुनौतीहरू रहेका एसोशिसन अफ प्राइभेट हेल्थ इन्च्युट (अफिन) कोशी प्रदेशको अध्यक्ष डा. शंकर अधिकारी बताउँछन् ।

‘सरकारले स्वास्थ्य पर्यटनलाई प्रोत्साहन गर्न नीतिगत सुधार र सहजीकरण गर्नुपर्छ,’ उनी भन्छन् । स्वास्थ्य पर्यटनको क्षेत्रमा विराटनगरको भविष्य उज्वल रहेको उनले सुझाए । अत्याधुनिक प्रविधि, दक्ष चिकित्सकहरू र गुणस्तरीय सेवाको उपलब्धतासँगै, यो क्षेत्र अझ विकसित हुने रहेकोले अस्पतालहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सेवा प्रदान गर्न निरन्तर प्रयास गर्नुपर्ने अधिकारीले बताए ।

कोशी प्रदेशको राजधानीको पहिचान औद्योगिक र राजनैतिक सहर पनि हो । तर, हिजोआज भने स्वास्थ्य पर्यटन (हेल्थ टुरिजम) को प्रमुख केन्द्रको रूपमा विकसित भएको छ । विगत केही वर्षदेखि यहाँका अस्पतालहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । यसले नेपालभित्रका मात्र नभई छिमेकी भारत र विदेशी बिरामीहरू पनि आकर्षित हुन थालेका छन् ।

विराटनगरमा विराट र नोबेल गरी दुई वटा मेडिकल कलेज, पूर्वी नेपालको सबैभन्दा ठूलो संघीय अस्पताल कोशी अस्पताल, आधा दर्जन नाम चलेका निजी अस्पताल र आठ वटा आँखा अस्पतालहरू रहेका छन् । यी अस्पतालहरूमा स्वदेशी मात्र होइन्, विदेशी बिरामीहरूको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । यसबाट विदेशी मुद्रा आर्जनमा सहयोग पुगेको देखिन्छ ।

कोशी प्रदेशमा १ हजार ६३३ स्वास्थ्य संस्था छन् । तीन वटा मेडिकल कलेज छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार प्रदेशमा १ देखि ३०० शैय्याका ९ वटा जनरल अस्पताल छन् । २५ देखि ५० शैय्याका ४६ जनरल अस्पताल छन् । मोरङमा मात्रै २३९ वटा स्वास्थ्य संस्था छन् । तीमध्ये विराटनगरमा मात्र तीन दर्जनभन्दा बढी स्वास्थ्य संस्थाहरू छन् । विराटनगरका अस्पतालहरूबाट एक आर्थिक वर्षमा ७ लाख ५५ हजार ४९९ जनाले ओपीडीमा सेवा लिएका छन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ