२०८२ जेठ १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि

धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि


काठमाडौं—सूर्तिजन्य पदार्थ सेवनका कारण वर्षेनी ३९ हजार मानिसको मृत्यु हुने सरकारी आँकडा छ । नसर्ने रोगको प्रमुख कारण मानिएको सूर्तिजन्य पदार्थको कर वृद्धिमा सरकार भने उदासिन देखिदैं आएको छ ।

सूर्तिजन्य पदार्थमा कर वृद्धि गरी सेवनकर्ता घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेको सरकारले यस वर्ष पनि जनतालाई झुक्याएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सूर्तिजन्य पदार्थको आन्तरिक राजस्वमा वृद्धि गरेको बताएका थिए । त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक रुपमा नै प्रति खिल्ली १० रुपैयाँसम्म कर बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

तर, सरकारले बढाएको अन्तशुल्कमा प्रति खिल्ली चुरोटमा २ पैसादेखि २१ पैसा मात्र अन्त शुल्क बढाएको पाइएको छ । फिल्टर नभएको चुरोटमा प्रति खिल्ली २ पैसा कर बढाइएको हो । बजेटमा प्रति हजार खिल्लीमा २३ रुपैयाँ कर बढाइएको छ ।

यसअघि प्रति हजारको ७५५ रुपैयाँ रहेकोमा अहिले ७७८ पु¥याइएको छ । त्यसैगरी, ७० एमएमसम्मको लम्बाइ भएको चुरोटमा प्रति खिल्लीमा ५ पैसा, ७० देखी ७५ एमएमको ७ पैसा, ७० देखि ८५ एमएमसम्म लम्बाइमा १५ पैसा र ८५ एमएम भन्दा बढीको चुरोट प्रति खिल्ली २१ पैसा कर बढेको छ ।

चुरोटमा नगन्य रुपमा अन्त शुल्क बढाएको सरकारले अन्य धुम्रपानका माध्यममा कुनै पनि कर बढाएको छैन । सरकारले चुरोटमा कर बढाएको घोषणा गरेतापनि यो जनतालाई झुक्याउने तरिकाले मात्र ल्याएको सूर्तिजन्य पदार्थ नियन्त्रणमा काम गरिरहेको एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले बताए ।

‘भन्दा के—के न गरेजस्तो देखियो । तर, जनताको स्वास्थ्यसँग सरकार जिम्मेवार देखिएन्,’ उनले हेल्थआवाजसँग भने, ‘समग्रमा मुद्रा स्फ्रिती हेर्दा सूर्तिजन्य पदार्थमा कर शु्न्य प्रतिशत बढेको हो ।’ उनी सरकारले अन्तर्राष्ट्रिय सुझावहरुलाई वेवास्ता गरी सूर्ति उद्योगको पक्षमा रहेको सन्देश दिएको बताउँछन् ।

‘सूर्तिजन्य पदार्थका कारण विपन्न वर्गका मनिसहरु थप गरिबीको दुष्चक्रमा फस्न सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थमा कम्तिमा ७५ प्रतिशत कर लगाउनुपर्ने बताउँदैं आएको छ,’ उनी भन्छन्, ‘तर, सरकारले विगतझैं यस पटक पनि यसलाई नजरअन्दाज गरेको छ ।’

दक्षिण एसियामा पनि नेपालले लगाएको सूर्तिजन्य पदार्थको करको दर सबैभन्दा कम रहेको छ । नेपालले सूर्तिजन्य पदार्थमा ३९ दशमलव ४ प्रतिशत कर लगाउँदैं आएको छ । छिमेकी मुलुक बंगलादेशले ५८ दशमलव ४ प्रतिशत, भारतले ५७ दशमलव ३ प्रतिशत, पाकिस्तानले ५९ दशमलव ८ प्रतिशत, श्रीलंकाले ६६ दशमलव ९ प्रचिशत कर लगाउँदैं आएका छन् ।

नेपालमा यस वर्ष अन्तशुल्कमा न्यून रुपमा चुरोटमा २ देखि २१ पैसा कर लगाए तापनि भन्सार र स्वास्थ्य जोखिम करमा पनि कुनै हेरफेर गरेको छैन । स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य जोखिम कर बढाएर त्यसबाट आएको पैसा स्वास्थ्य बीमा सञ्चालन गर्ने पटक—पटक भाषण गरेतापनि त्यो गफमै सिमित भएको छ । २०७९/८० देखि ०८२/८३ सम्म आइपुग्दा बिडीमा ३० पैसा, चुरोट सिगारमा प्रतिखिल्ली ६० पैसा र सूर्ति, खैनी, गुठ्खा, पान मसलामा प्रति केजी ६० रुपैयाँभन्दा कर बढ्न सकेको छैन ।

पछिल्लो समय बढ्दै गएको नसर्ने रोग र यसको प्रमुख कारण रहेको धुम्रपानमा कर वृद्धि नहुँदा आगामी दिनमा यसको प्रभाव झनै बढ्दै जाने विज्ञहरु बताउँछन् । सूर्तिजन्य पदार्थमा कर वृद्धिले मानिसमा यसको क्रय शक्ति कमजोर भई उपभोगमा नियन्त्रण हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ