२०८२ जेठ २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिडानले स्वास्थ्यमन्त्रीलाई भन्यो, ‘टेन्डरको औषधिमा मूल्य नराखौं, संस्थागत सप्लाई लेखौं’

पिडानले स्वास्थ्यमन्त्रीलाई भन्यो, ‘टेन्डरको औषधिमा मूल्य नराखौं, संस्थागत सप्लाई लेखौं’


काठमाडौं—नेपाल औषधि थोक व्यवसायी संघ (पिडान)ले स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेललाई औषधि ब्यवसायमा देखिएका समस्याबारे ध्यानाकर्षण गराउँदै सुझाव पत्र बुझाएको छ। सोमबार संघका अध्यक्ष गणेश नेपालको नेतृत्वमा स्वास्थ्यमन्त्रीलाई भेटेको प्रतिनिधि मण्डलले मौजुदा औषधि ऐन, स्वास्थ्य बीमा वक्यौताको समस्या लगायतका कारण औषधिका थोक व्यवसायीहरुले झेल्दै आएको विविध समस्या निराकरणको माग सहित ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएको हो।

सुझाव पत्रमा अस्पतालका लागि टेन्डरमार्फत पठाइएका औषधिहरुसमेत बजारमा बिक्री हुने गरेको पाइएको भन्दै टेन्डर प्रक्रियामार्फत अस्पतालका लागि पठाइएका औषधिमा खुद्रा बिक्री मूल्य नराखी संस्थागत सप्लाई उल्लेख गरिनुपर्ने सुझाव दिइएको छ।

पत्रमा स्वास्थ्य बीमाको बक्यौता रकम रोकिंदा औषधि ब्यवसायीको समेत बक्यौता उठ्न नसकेको तर्फ ध्यानाकर्षण गराउँदै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने सोचको यथार्थपरक कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै, औषधि बजारमा एकाधिकार कायम गर्ने मनसायसहित एनओसी लिनुपर्ने प्रवृति मौलाउँदै आएको भन्दै संघले यस्ता बेथितीको अन्त्य गर्दै औषधिको बजारलाई सुरक्षित र मर्यादित बनाउन नियामक निकाय लगायत सम्बद्ध सबैलाई विशेष सर्कुलर जारी गर्न आवश्यक रहेको विषयमा ध्यानकर्षण गराइएको थियो।

संघले औषधि बजारमा औषधि ऐन, २०३५ र सोसँग सम्बन्धित नियमावली विपरितका क्रियाकलापसंगै औषधि सप्लाई चेनको पारदर्शिता, गुणस्तरको निगरानी र निमनको विषयमा समेत ध्यानाकर्षण गराएको संघका अध्यक्ष नेपालले जानकारी दिए।

संघले बुझाएको पत्र बुझ्दै मन्त्री पौडेलले प्राप्त सुझावलाई थप अध्ययन गरेर आवश्यक प्रक्रियामा लगिने आश्वासन दिएका थिए। त्यसअघि संघले स्वास्थ्य सचिवसहितको विभागीय सरोकारवाला अधिकारीसँगको घनिभुत छलफलको क्रममा पछिल्लो समय औषधि व्यवसायीले झेल्दै आएका समस्याबारे जानकारी गराएका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ