२०८२ असार २, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै


काठमाडौं—प्रख्यात न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको स्मृतिमा स्थापना गरिएको उपेन्द्र देवकोटा फाउण्डेसनले दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन ‘न्यूरोकोन—II’ गर्ने भएको छ । सोमबार फाउण्डेसनकी अध्यक्ष डा. मधु दीक्षित देवकोटाले ४ र ५ असारमा हुने उक्त सम्मेलनमा स्नायु विज्ञानका विविध विषयमा छलफल हुने जानकारी दिइन् ।

दिवगत डा. देवकोटाको सातौं पुण्य तिथीमा हुन लागेको उक्त सम्मेलनको ‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ भन्ने नाराका तय गरिएको उनले जानकारी दिइन् । ‘सम्मेलनले स्नायु विज्ञानका विविध विषयहरु न्यूरो सर्जरी, न्यूरो मेडिसिन, न्यूरो रेडियोलोजी, न्यूरो इन्टरभेन्सन, न्यूरो ओटोलोजी, न्यूरो एनेस्थेसिया, न्यूरो साइक्याट्रीक, न्यूरो नर्सिङ एवं पुनस्थापना विषयलाई एउटै थलोमा ल्याउनेछ,’ डा. देवकोटाले भनिन्, ‘स्ट्रोक, पार्किन्सन, छारे रोग, अल्जाइमरजस्ता रोगहरुको बढ्दो क्रममा भएकाले समयमै पहिचान र उपचार विधीमाथि विमर्श गर्न यो सम्मेलन महत्वपूर्ण हुनेछ ।’

२५ वटा सत्रमा १३५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ उक्त सम्मेलनमा अमेरिकाको बोस्टन चिल्ड्रेन अस्पताल (हावार्ड युनिभर्सिटी), लण्डनको किङ्स कलेज, भारतको अल इण्डिया इन्स्टिच्युठ अफ मेडिकल साइन्सेज र क्रिस्टियन मेडिकल कलेज भेलोर, इजिप्ट, फान्स, पाकिस्तानलगायतका देशका विशेषज्ञ चिकित्सकहरु सहभागी हुनेछन् । त्यसपछि कार्यक्रममाथि छलफल र विमर्श हुने आयोजकले जनाएको छ ।

सम्मेलनपूर्व २ र ३ असारमा अस्पताल परिसरमै ‘प्रि—कन्फरेन्स’मा विभिन्न प्रशिक्षणका साथै मानव शवको प्रयोगात्क सीप कार्यशालासमेत सञ्चालन हुनेछ । जसमा बेलायतका डा. बसेल जेबियन, डा. फ्रान्सेस्को भर्गानी, डा. जोसे पेड्रो लाभाडोर, भारतका डा. आनन्द बाल सुब्रमनियम र डा. आदित्यलगायतका ३१ ज्ना विज्ञहरुले स्नायुको बनोट, फङ्गसनले न्यूरो सर्जरी, इण्डोस्कोपबाट ढाड र दिमागको शल्यक्रिया, न्यूरो इण्डो भास्कुलर तालिमका साथै न्यूरोलोजी वोटुलिन्म टक्सिनको प्रयोगबारे ६०—७० जना प्रशिक्षार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्नेछन् । त्यस्तै, नर्सहरुका लागि एडभान्स कार्डियाक लाइफ सपोर्ट तालिमको पनि आयोजना गरिएको छ ।

डा. देवकोटाले सम्मेलनबाट नयाँ ज्ञान र प्रविधिको प्रयोगले रोग पहिचान र उपचार प्रणालीमा गुणात्मक सुधार ल्याउने, सम्मेलनबाट प्राप्त तथ्यांक र सुझावहरु चिकित्सा अभ्यास र कालान्तरमा स्वास्थ्य नीति सुधार ल्याउने मद्धत पुग्ने विश्वास समेत व्यक्त गरिन् ।

फाउण्डेसनले स्व. डा. देवकोटाले ३७ वर्षअघि थालनी गरेको स्नायुसम्बन्धी आधुनिक शल्यक्रियाका साथै स्नायु विज्ञानको विकासमा गरेको अथक परिश्रमको फलस्वरुप स्नायु विज्ञानका क्षेत्रमा भएको प्रगतिको विश्वव्यापी उत्सवका रुपमा सम्मेलनलाई लिएको जनाएको छ । ‘आफ्‌नो जीवनलाई बिरामीको सेवामा समर्पण गर्नु भएका प्रा। देवकोटाको सम्मान र उहाँले गर्नु भएको कार्यको निरन्तरता, सम्वर्द्धन र विस्तारका लागि यो सम्मेलन हुन लागेको हो,’ फाउण्डेसनले भनेको छ, ‘स्नायु विज्ञानको प्रवर्धनका लागि प्रा। देवकोटाले देखाउनु भएको मार्गलाई आत्मसात गरी नेपाललाई न्युरो विधामा कसरी अगाडि बढाउन संकिन्छ भन्ने विषयमा कार्यपत्र एवं अन्तरक्रिया र छलफल गरिनेछ ।’

डा. देवकोटाको स्मृतिका १८ फागुन २०७९ मा गैरनाफामूलक संस्थाका रुपमा फाउण्डेसन स्थापना भएको हो । फाउण्डेशनले स्नायु विज्ञानको प्रवर्धन र विकासका लागि आवश्यक शिक्षा एवं तालिम, शोधलगायतका कार्य गर्ने, स्नायु रोगहरुका बारेमा जनचेतना जगाउने एवं नीतिगत वकालत गर्ने, स्नायु पुनस्थापना केन्द्रको स्थापना, आर्थिक रुपले विपन्न स्नायुसम्बन्धी विरामीको औषधि, उपचारमा टेवा पुऱ्याउने उद्देश्य राखेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ