काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बजेट पारित गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभाको छैटौं बैठकले उक्त बजेट पारित गरेको हो ।
प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्याको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धानात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।
बैठकले प्रतिष्ठानका ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरुमा संशोधन सिनेटमा ल्याउने साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ । प्राज्ञिक परिषद् सभामा ७ जना सदस्यहरु मनोनित पनि सभाले गरेको छ ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमी भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गरे। उनले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय शययाको शिक्षण अस्पताल निर्माण सम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराएका थिए ।