काठमाडौं–आगामी २१ फागुनमा हुने निर्वाचनमा हुन सक्ने घटनाबाट उत्पन्न हुने आकस्मिक स्वास्थ्य अवस्थाको व्यवस्थापनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले २६ चिकित्सक नर्स र फर्मासिस्टसहितको तत्काल उद्धार तथा उपचार समिति बनाएको छ ।
अस्पतालका आकस्मिक विभागका विभागीय प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा रहेको सो टोलीमा २४ जना चिकित्सक, अस्पताल नर्सिङ्ग प्रमुख र फर्मेसी प्रमुख रहेका छन् । निर्वाचन अवधिमा हुनसक्ने घटनाबाट आइपर्ने स्वास्थ्य आपतकाल व्यवस्थापन गर्नको लागि केन्द्रिय अस्पताल भएकाले पूर्व तयारी स्वरुप यो समिति गठन गरिएको वीर अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले जानकारी दिए ।
‘वीर अस्पताल केन्द्रीय अस्पताल भएको हुँदा निर्वाचनको समयमा हुन सक्ने सम्भावित स्वास्थ्य आपतकाल व्यवस्थापन चाडो होस भनेर यो समिति गठन गरिएको हो,’ डा. शर्माले भने, ‘सरकारको निर्णयअनुसार हामी तयारी अवस्थामा बसेका छौं, समिति निर्वाचन अवधिभर २४ सै घण्टा अलर्ट हुन्छ ।’
सो समितिमा उपनिर्देशक डा. मीनचन्द्र अधिकारी, हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद जोशी, कलेजो रोग विशेषज्ञ डा. सुधांसु केसी, डा. ऋतु प्रधानलगायत रहेका छन् ।

