२०८२ असार १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा

निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा


काठमाडौं—मेडिकल कलेजहरुको आफ्नै प्रयोगशाला हुनुपर्ने मापदण्ड विपरित देशभरका धेरैजसो निजी मेडिकल कलेजका प्रयोगशालाहरु ठेक्का दिइएको पाइएको छ । निजी मेडिकल कलेजहरुले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ प्रतिकूल हुने गरी प्रयोगशालाको व्यवस्थापन ठेक्कामा दिएका छन् ।

स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ ले आधारभूत स्वास्थ्य संस्थाकै आफ्नै ‘सी’ वर्गको प्रयोगशाला हुनुपर्ने व्यवस्था छ । उक्त मापदण्डअनुसार ३००—५०० शैय्याको शिक्षण अस्पतालको ‘बी’ वर्गको प्रयोगशाला र ५०० शैय्याको शिक्षण अस्पतालको प्रयोगशाला ‘ए’ वर्गको हुनुपर्ने व्यवस्था छ ।

तर, ३०० शैय्याका अस्पताल सञ्चालन गरिरहेका काठमाडौं सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज (केएसी)देखि पोखरास्थित मणिपाल मेडिकल कलेजसम्मले शिक्षण अस्पतालका प्रयोगशालाहरु ठेक्का लगाएका छन् । प्रयोगशाला ठेक्कामा लगाएपनि कतिपय मेडिकल कलेजले त आफ्नै नाममा बिलिङ गर्ने गरेका छन् ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा नोबेल मेडिकल कलेजका मालिक सुनिल शर्माको भित्रिए लगतै वि.सं. २०७९ देखि नै शिक्षण अस्पतालभित्र सञ्चालनमा रहेका दुई वटा ल्याब नै ठेक्का लगाएको छ । उक्त मेडिकल कलेजले ३०० शैय्याको अस्पताल सञ्चालन गरिरहेको छ । ‘केएमसीका दुई वटा ल्याब अस्पताल व्यवस्थापनले ठेक्कामा चलाइरहेको छ,’ अस्पतालका एक कर्मचारीले भने । जबकी, केएमसीले पिसिआर परीक्षण समेत गर्ने गर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्डअनुसार पिसिआर परीक्षणका लागि पनि बी ग्रेडको आफ्नै प्रयोगशाला हुनुपर्छ ।

काठमाडौं मेडिकल कलेजको अस्पतालभित्र केएसी नामक प्रयोगशाला जयकुमार दासले सञ्चालन गर्दै आएका छन् भने अर्कोे नयाँ केएमसी प्रयोगशाला डा. शैलेश प्रधानले सञ्चालन गरिरहेका छन् । जयकुमार दासले सञ्चालन गरिरहेको प्रयोगशाला ‘बी’ ग्रेडको प्रयोगशाला हो । केएमसी प्याथालोजी ल्याबका सञ्चालक दासले अस्पतालभित्रको प्रयोगशाला अस्पताल र आफूहरु दुवैको स्वामित्वमा रहेको बताए । ‘ल्याबमा उहाँहरुको पनि स्वामित्व छ,’ उनले भने, ‘पुरानो मेसिनहरु सबै उहाँहरुकै हो ।’

केएमसीका प्रमुख सञ्चालकले नै सञ्चालन गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्रयोगशाला पनि ठेक्कामा छ । ‘नयाँ ल्याब’ नामक उक्त प्रयोगशाला ५ वर्षदेखि मदन पाण्डे र मनिष शाहले सञ्चालन गर्दै आएका छन् ।

केएमसी र नोबेल मेडिकल कलेजमात्रै प्रयोगशाला ठेक्कामा लगाउने मेडिकल कलेज होइनन् । सबैजसो निजी मेडिकल कलेजले ‘आर्थिक स्वार्थ’लाई ध्यानमा राखेर कानुन विपरित प्रयोगशालाहरु आउट सोर्सिङ गरिरहेका छन् ।

अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको प्रयोगशाला अहिले मेडिकल एलायन्स प्रोफेसनल सर्विस प्रा.लि. (म्याप्स) भन्ने संस्थाले संचालन गर्दै आएको छ भने चितवन मेडिकल कलेजको प्रयोगशाला पनि सोही संस्थाले चलाइरहेको छ । सोही संस्थाले वीरगन्जस्थित नेशनल मेडिकल कलेजको प्रयोगशालाको व्यवस्थापन पनि हेर्दै आएको छ ।

पोखरास्थित मणिपाल मेडिकल कलेजको प्रयोगशाला नेशनल प्याथ ल्याबले ठेक्कामा लिएको छ । यस्तै, विराटनगरस्थित विराट मेडिकल कलेजको ‘विराट इन्टरनेशनल डाइग्नोष्टिक प्रा.लि.’ को व्यवस्थापन डा. सुशील तपरियाले गर्दै आएका छन् ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले मेडिकल कलेजको हाताभित्रै आफ्नै प्रयोगशाला सञ्चालनमा रहेको हुनुपर्ने बताउँछन् । ‘मापदण्डमा मेडिकल कलेजको हाताभित्र आफ्नै प्रयोगशाला सञ्चालन गरेको हुनुपर्छ,’ उनले भने, ‘हामीले इन्स्पेक्सन गर्दा सबै मेडिकल कलेजले आफ्नै नामको प्रयोगशाला देखाउने गरेका छन् । तर, मैले मेडिकल कलेजका शिक्षण अस्पतालमा अन्य प्रयोगशाला पनि भाडामा चलाइरहेको सुनेको छु । हामीले त्यति गहिरिएर हेरेका छैनौं ।’

एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र कार्की भौतिक पूर्वाधार र इक्वीमेन्टहरु मेडिकल कलेजकै भएको र व्यवस्थापन मात्रै दक्ष व्यक्ति दिइएको स्वीकार्छन् । ‘मेडिकल कलेजका प्रयोगशाला पूर्णतयाः आउटसोर्सिङ गरिएको होइन होला’ उनी भन्छन्, ‘तर, कम्पिटेन्ट मान्छेलाई व्यवस्थापन दिइएको होला ।’ उनले मेडिकल कलेज व्यवस्थापनले अन्य धेरै कुरा पनि हेर्नुपर्ने भएकाले गुणस्तरीयता सुनिश्चित गर्नका लागि व्यवस्थापन अरुलाई दिँदा त्यसको गलत अर्थ निकाल्न नहुने बताए । ‘गुणस्तर दिएको छ कि छैन, रिजनेबल प्राइस छ कि छैन भन्ने हेर्ने हो,’ उनी थप्छन्, ‘कम्पीटेन्ट मान्छेलाई व्यवस्थापन दिँदा त्यसले समस्या आउँदैंन् ।’

चिकित्सा शिक्षा ऐनका मस्यौदाकार समेत रहेका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्व डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल ऐन, नियमावली र मापदण्डअनुसार मेडिकल कलेजहरुको आफ्नै प्रयोगशाला हुनुपर्ने बताउँछन् । ‘मेडिकल कलेजको आफ्नै प्रयोगशाला हुनुपर्छ,’ प्रा.डा. अग्रवाल भन्छन्, ‘अन्यलाई व्यवस्थापन दिने भन्ने कुरा पनि नियमले मिल्दैन् ।’ आन्तरिक रुपमा अर्को पक्षलाई सञ्चालनको अनुमति दिँदा विद्यार्थी पढ्ने पनि भएकाले मेसिन छुन दिन्छ कि दिदैंन्, उसको रोटेशन कसरी गर्छ भन्ने कुरा महत्वपूर्ण हुने उनले बताए । सिटी, एमआरआई पनि केही मेडिकल कलेजहरुले यही शैलीमा सञ्चालन गरिरहेका छन् ।

मेडिकल कलेजकै प्रयोगशालाहरु ठेक्कामा दिँदा गुणस्तरको कुरा झन महत्वपूर्ण हुने  विज्ञहरुको बताउँछन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ