विराटनगर—स्वास्थ्य बीमा बोर्डको गरेको निर्णयले पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी ठूलो आर्थिक संकटमा पर्ने देखिएको छ । विराटनगरस्थित कोशी अस्पताललाई बोर्डले १ साउनदेखि ‘प्रथम सेवा बिन्दु’बाट हटाउने निर्णय गरेको छ ।
उक्त निर्णय लागु भएमा अस्पतालको वार्षिक २० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउने निश्चित भएको छ । मासिक रूपमा मात्रै १ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको भुक्तानी गुम्ने अवस्था सिर्जना भएको कोशी अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डको १९ असारमा बसेको १४ औं बैठकले संघीय सरकार मातहतका सबै अस्पताललाई ‘प्रथम सेवा बिन्दु’ बाट हटाउने निर्णय गरेको थियो । सो निर्णय १ साउनदेखि लागू भए कोशी अस्पतालमा अब बिमित बिरामीहरूले स्थानीय वा जिल्ला अस्पतालबाट सिफारिस (रिफरल) लिएपछि मात्र उपचार सुविधा पाउनेछन् । यसअघि कोशी अस्पतालले ‘प्रथम सेवा विन्दु’ तथा ‘रिफरल केन्द्र’ दुवैको रूपमा सेवा दिँदै आएको थियो ।
बोर्डको नयाँ निर्णयले विराटनगर महानगर क्षेत्रभित्रका करिब १ लाख १६ हजार ३ सय ६० जना बिमितहरूलाई प्रत्यक्ष असर पुर्याउनेछ । हाल उनीहरू कोशी अस्पताल र रानी प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिँदै आएका थिए । अब भने उनीहरूले प्रथम सेवा विन्दुको रूपमा मात्र रानीबाट सेवा लिनुपर्ने र सोही अस्पतालबाट मात्र रिफर हुनुपर्नेछ । यो अवस्थाले कोशी अस्पतालमाथि गम्भीर असर पार्नेछ, जुन सेवा प्रदानको सन्दर्भमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमध्ये एक हो ।
अस्पतालको तथ्यांकअनुसार कोशी अस्पतालमा दैनिक औसत ८५१ जना बिरामी आउँछन्, जसमा ४१७ जना बीमा गरेका बिरामी हुन्छन् । तीमध्ये झन्डै २५० जना बिरामीले प्रथम सेवा विन्दुको हैसियतमा उपचार सेवा लिँदै आएका थिए । चालु आर्थिक वर्षको पुससम्म ६ महिनामा १ लाख ५३ हजार ३ सय १० जना बिरामीले कोशी अस्पतालमा उपचार गराएका छन्, जसमध्ये ५८ हजार ७२३ जनाले स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिएका थिए ।
अस्पतालले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १ लाख २४ हजार ४४९ जना बिमित बिरामीको उपचार गरी कुल २८ करोड ५१ लाख ७१ हजार ६१० रुपैयाँ स्वास्थ्य बीमा बोर्डसँग भुक्तानीको दाबी गरेको थियो । तर, सोमध्ये बोर्डले जम्मा ८५ लाख ९० हजार रुपैयाँ मात्रै भुक्तानी गरेको छ । बाँकी २७ करोड ६५ लाख रुपैयाँ बोर्डले भुक्तानी दिनुपर्ने अस्पतालले जनाएको छ ।
अस्पतालको दाबीअनुसार साउन महिनामै मात्रै १२ हजार ५२६ जना बिरामीले बीमामार्फत सेवा लिएका थिए, जसबापत अस्पतालले २ करोड ७८ लाख ११ हजार ७४९ रुपैयाँको दाबी गरेको छ । त्यसमध्ये १ करोड ६६ लाख ८७ हजार रुपैयाँको सेवा प्रथम सेवा विन्दुबाट लिइएको थियो । यस्तो मासिक भुक्तानीको व्यवस्था एकाएक बन्द गर्दा कोशी अस्पताललाई वर्षभरिमा करिब २० करोड २ लाख ४४ लाख ५८८ रुपैयाँ आम्दानी गुम्नेछ ।
कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. रुणा झाले बीमा बोर्डको निर्णय सच्याउन माग गरेकी छिन् । ‘कोशी अस्पतालमा आउने अधिकांश बिरामी आर्थिक रूपमा कमजोर वर्गका हुन्छन्, तिनै बिरामी स्वास्थ्य बीमाको भरमा उपचार गर्न आउँथे । अब रिफरल नलिएसम्म सेवा नपाउने भएपछि ती बिरामीहरूको उपचारमा समस्या पर्छ र अस्पतालको आम्दानीमा ठूलो गिरावट आउँछ । बोर्डले चालेको यो कदमप्रति पुनःविचार गर्नुपर्दछ’ उनले भनिन्, ‘प्रथम सेवा विन्दुबाट हटाउने निर्णय तुरुन्त सच्याइनुपर्छ ।’
कोशी अस्पतालकी मेसु डा. झा
कोशी अस्पताल विकास समितिका ३७६ जना कर्मचारी छन्, जसमा १२४ जना स्थायी, १६२ जना करार तथा ९० जना दैनिक ज्यालादारीमा कार्यरत छन् । ती सबैको मासिक तलब, सेवा, सुविधालगायतको लागि १ करोड ५० लाख रुपैयाँ खर्च हुने गरेको छ, जुन अस्पतालले आफ्नै आन्तरिक आम्दानीबाट व्यवस्थापन गर्दै आएको छ । अब आम्दानीको मुख्य स्रोत बन्द हुँदा तलब, सेवा तथा प्रशासनिक खर्च व्यवस्थापन गर्न अस्पताल गम्भीर दबाबमा पर्नेछ ।
कोशी अस्पताल मात्र नभई देशभरका संघीय सरकार मातहतका सबै अस्पतालहरूलाई ‘प्रथम सेवा विन्दु’बाट हटाउने स्वास्थ्य बीमा बोर्डको निर्णय गैरजिम्मेवार र जनविरोधी भएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
संघीय अस्पतालहरूबाट सिधैं उपचार गर्न नपाउने निर्णयले स्वास्थ्य पहुँच सिमित पार्ने, गरिब जनताको उपचारमा अवरोध पुर्याउने र सेवाको गुणस्तर खस्काउने खतरा भएको कोशी अस्पताल कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काले बताए । विराटनगर महानगरकाभित्र १ लाख १६ हजार ३६० बिमितहरू अब केवल रानी प्राथमिक स्वास्थ्य केन्द्रमा भर पर्नुपर्नेछ, जसको पूर्वाधार, जनशक्ति र सेवा क्षमता त्यस्तो ठूलो चाप थेग्न सक्ने अवस्थामा छैन । यस्तो परिस्थितिमा आम नागरिकको स्वास्थ्य अधिकारको हनन हुनुका साथै ‘स्वास्थ्य बीमा कार्यक्रम’को उद्देश्य नै असफल हुने खतरा देखिने डा. खड्काले बताए ।
जनप्रतिनिधी, महानगरवासीहरू, बिरामीका परिवार, अस्पताल कर्मचारी तथा जनस्वास्थ्य विज्ञहरू समेतले कोशी अस्पतालजस्तो व्यस्त र भरपर्दो संस्थालाई ‘प्रथम सेवा विन्दु’बाट हटाउने बीमा बोर्डको निर्णय ‘हचुवाका आधारमा’ भएको भन्दैं कडा आलोचना गरेका छन् । उनीहरूले तत्काल निर्णय सच्याएर कोशी अस्पताललाई पुनः प्रथम सेवा विन्दुका रूपमा कायम गर्न माग गरेका छन् ।
कोशी अस्पतालले यस विषयमा स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी तत्काल निर्णय फिर्ता लिन आग्रह गरिसकेको छ । मेसु डा. झाले भनिन्, ‘यदि यो निर्णय यथावत् रह्यो भने अस्पतालको सेवा बन्द हुन पुग्ने अवस्था आउन सक्छ । यसले न जनताको हित हुन्छ न सरकारको नीति सफल हुन्छ । त्यसैले निर्णय सच्याएर कोशी अस्पताललाई पुनः प्रथम सेवा विन्दु कायम गरिनुपर्छ ।’
सरकार, स्वास्थ्य मन्त्रालय र बीमा बोर्डले जनताको उपचार अधिकार र अस्पतालको आर्थिक दायित्वलाई गम्भीरतापूर्वक हेर्नुपर्ने अस्पतालले बताएको छ ।