२०८२ साउन १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री

वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री

‘अब किड्नी ट्रान्सप्लान्ट गर्नेलाई साढे सात लाख र स्ट्रेन हाल्नेलाई पाँच लाखको सुविधा उपलब्ध हुन्छ’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य सेवा सुधार हुने बताएका छन् । सोमबार वीर अस्पतालको १३६ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले त्यसका लागि वीर अस्पतालको सुधारमा मुख्य जोड दिनुपर्ने बताए ।

‘वीर हस्पिटलको सुधार भयो भने मात्रै नेपालको स्वास्थ्य क्षेत्रको सुधार हुनेछ । आम नागरिकले वीर अस्पतालमा व्यवहारको सुधार भएको, उपचार प्रणालीमा सुधार भएको र झन्झटहरु हटेको स्थिती महसुस गर्ने स्थिती भयो भने मात्रै नेपालमा स्वास्थ्य क्षेत्रमा सुधार हुने स्थिती हुनेछ । सरकारको साँच्चै उपस्थिती देखिनेछ,’ उनले भने । वीरमा थप लगानीका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्दै उनले सेवा सुधारिएको र गुणस्तरीय हुनुपर्ने बताए ।

मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा बिरामीको आकर्षण बढेको उल्लेख गर्दै त्यो आकर्षणलाई व्यवस्थापन गर्न नसकिएको बताए । ‘त्यो व्यवस्थापन गर्ने सन्दर्भमा हामीले ध्यान दिन आवश्यक छ,’ उनले भने । वीर अस्पताल सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार अस्पतालको समग्र सुधारका लागि काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।

गुणस्तरीयताको कुरा चिकित्सकको व्यवहारमा देखिने मन्त्री पौडेलले बताए । ‘तर, उपकरण, औषधि र पूर्वाधारमा गुणस्तरीय नपुग्ने कुरा स्वभाविक हुन सक्दैंन्,’ उनले भने, ‘त्यसकारण यो अस्पताललाई विकसित गर्न जरुरी छ ।’ नेपालको स्वास्थ्य क्षेत्रका पहिलो अभ्यास वीर अस्पतालमा हुने उल्लेख गर्दै उनले यसैका आधारमा नेपालको स्वास्थ्य क्षेत्रको अनुमान गर्न सकिने बताए ।

‘यो नेपालको केन्द्रीय संस्था हो, यसैबाट नेपालको स्वास्थ्य सेवा गाइड हुन्छ,’ उनले भने, ‘नेपालको स्वास्थ्य सेवाको तस्विर वीर हस्पिटल हेरेपछि देखिन्छ ।’ सफा राख्ने, लाइन घटाउने र तीन महिनाभित्र शल्यक्रिया गर्ने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले भदौं महिनाभित्र सबै अस्पतालमा स्वास्थ्य बीमाको रकम फरफारक हुने जानकारी दिए । ‘बीमा एक लाखबाट दुई लाख भएको छ, अब विपन्न पनि यसमा जोडिदैंछ,’ उनले भने, ‘एक लाखको सुविधा प्राप्त हुने ठाउँमा अब तीन लाखको हुन्छ । किड्नी ट्रान्सप्लान्ट गर्नेलाई त अब साढे सात लाख उपलब्ध हुने स्थिती हुन्छ । स्ट्रेन हाल्नेलाई पाँच लाखको सुविधा उपलब्ध हुने स्थिती हुन्छ ।’ यसले अस्पतालको आम्दानी पनि बढ्ने उनले बताए । योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो ।

उनले वीर अस्पतालले सम्पूर्ण क्षमतामा उपचार प्रदान गर्नका लागि लागि मन्त्रालयले जनशक्ति उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘के कस्ता उपकरण आवश्यक छन् ती उपकरण उपलब्ध गराउन लागि मन्त्रालयले हदैसम्म प्रयास गर्नेछ,’ उनले भने । वीर अस्पतालको सेवा विस्तार गर्नका लागि राज्यले सक्ने सबै प्रयास गर्ने उनले बताए । कतिपय विषय नीतिगत कुरासँग जोडिएको बताउँदैं मन्त्री पौडेलले विशिष्टीकृत सेवा भनेपनि नीतिगत रुपमा त्यो व्यवस्था गर्न आवश्यक रहेको बताए ।

‘यो क्षेत्रमा रहेको जनशक्तिलाई अझ क्षमतावान बनाउनका लागि राज्यले लगानी गर्नुपर्छ,’ उनले भने, ‘वीर अस्पतालको दरबन्दी जनताका लागि हो । जनतालाई समस्या नपर्ने गरी सेवा प्रवाह गर्नुपर्छ ।’ स्वास्थ्य क्षेत्रमा काम गर्नका लागि सहज वातावरण बन्नुपर्नेमा उनको जोड थियो । डाक्टरको नियत बिरामीलाई थप बिरामी बनाउने नहुने बताउँदैं उनले चाहँदा—चाहँदैं कतिपय कुराहरु नहुने बताए । सुरक्षित कार्यस्थल निर्माणमा जोड दिनुपर्ने उनको मत थियो ।

१५ शैय्याबाट सुरु भएको अस्पताल १००० बेडको अस्पतालका रुपमा विकास हुने गरी अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले नागरिकलाई सेवा पु¥याउने गरी स्थापना भएको अस्पतालमा राज्यले सबैभन्दा बढी लगानी गरेको बताए । ‘राज्यको उपस्थिती स्वास्थ्य क्षेत्रमा यो अस्पतालले देखाइरहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार आवश्यक छ । तर, सुधार पूर्ण रुपमा हुन सकेको छैन,’ उनले भने ।

आम नागरिकलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य संस्थाहरुको पूर्ण विकास गर्न नसकिरहेका बताउँदैं मन्त्री पौडेलले पूर्ण ढंगबाट स्वास्थ्य संस्थाको विकास गर्न थप लगानी गर्न जरुरी रहेको उल्लेख गरे । ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, विशिष्ट स्वास्थ्य सेवा सस्तो, सर्वसुलभ र नसक्नेलाई निःशुल्क दिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘नसक्नेलाई स्वास्थ्य सेवा उपलब्ध गराउने पहिलो संस्था वीर अस्पताल हो ।’ अस्पतालको सुधारपछिमात्रै नागरिकले स्वास्थ्य सेवा सुधार भएको अनुभव गर्ने उनले बताए ।

अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भइरहेका काम र आगामी योजनाबारे जानकारी गराएका थिए । सो क्रममा उनले वीर अस्पताल नेपालकै केन्द्रीय अस्पताल भएकाले राज्यको बढी लगानी वीरमा स्वभाविक भएको बताए । उनले वीर अस्पतालका सेवा विस्तार, भौतिक पूर्वाधार विकासलगायतका कुराहरु राखेका थिए ।

सो क्रममा मृगेन्द्र सम्झना चिकित्सा गुठी एवार्डबाट कार्डियोलोजीका चिकित्सक डा. विनायक गौतम र स्टाफ नर्स सिता घर्ती सम्मानित भए । यस्तै, दया फाउण्डेसनले प्रदान गर्ने नर्सिङ एक्सीलेन्स एवार्ड नर्स अन्जु शर्मा, कमला तिमिल्सिना बस्ने, चन्द्रकला कोइराला, भगवती थापा, सरिता रोकायाले प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ