काठमाडौं—निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मी र अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका मुख्यसचिव एकनारायण अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार मुख्यसचिव अर्याल र डा. रेग्मीबीच भएको कार्यसम्पादन सम्झौतामा निजामती अस्पतालमा मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्र स्थापना स्थापनाको आधार तयार पार्नेदेखि क्याथ ल्याब स्थापना गर्नेसम्मका लक्ष्य प्रस्तुत गरेका छन् ।
डा. रेग्मीले सम्झौतामा कार्य सम्पादन लक्ष्यमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने, अस्पताल विस्तारित स्वास्थ्य सेवा सुदृढीकरण गर्ने, अस्पताल फार्मेसीको सुदृढीकरण गर्ने र रेडियोथेरापी भवन तला थप्ने उल्लेख छ ।
यस्तै, ब्लड बैंक व्यवस्थित गरी पूर्ण रुपमा सञ्चालन गर्ने, रेडियोथेरापी उपकरण खरिद गरी सेवा विस्तार गर्ने, टेलिमेडिसिन सेवाका लागि आवश्यक व्यवस्था मिलाउने, निजामती कर्मचारीको स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न आधार पार्ने पनि कार्यसम्पादन लक्ष्यका रुपमा उल्लेख छ ।
कार्यकारी निर्देशक डा. रेग्मीले प्रस्तुत गरेका २० वटा लक्ष्यहरुमा युरोलोजी सेवाको विस्तार, न्यूरोलोजी ईएमजी सेवा विस्तार गर्ने, मिनिमल इन्भेजीब सर्जरी सेवा विस्तार गर्ने, क्याथ ल्याब स्थापना गरी सेवा प्रदान गर्ने र मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रको आधार तयार पार्ने उल्लेख छ ।
सैगरी, एचएमआईएसलाई विस्तार र सुदृढीकरण गर्ने, अस्पतालको क्षमतालाई वृद्धि गर्न पूर्वाधारको विकास गर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य स्वास्थ्य संस्थासँग सहकार्य गरी पिजी कार्यक्रमको स्तरोन्नती गर्ने, निजामतीको सेवामा सहज पहुँचका लागि विशेष व्यवस्था गर्न पहल गर्ने, अस्पतालजन्य फोहोरहरुको वैज्ञानिक व्यवस्थापन गर्ने र प्रदेशमा अस्पतालको सेवा विस्तार गर्न प्रादेशिक अस्पतालसँग सहकार्य गर्ने उल्लेख छ ।