२०८२ साउन २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव

संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव

अस्पतालहरूमा ७ सदस्सीय 'व्यवस्थापन समिति' रहने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वटा संघीय अस्पतालको सञ्चालन र व्यवस्थापन प्रभावकारी बनाउनका लागि स्वास्थ्य सचिवको नेतृत्वमा शक्तिशाली निर्देशक समिति बनाउने प्रस्ताव गरेको छ । मन्त्रालयले बनाएको ‘एकीकृत अस्पताल संचालन तथा व्यवस्थापन ऐन, २०८२’ को मस्यौदामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नेतृत्वमा निर्देशक समिति रहने व्यवस्था गरेको छ ।

एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न बनेको उक्त विधेयक मस्यौदामा स्वास्थ्य मन्त्रालय मातहतमा बन्ने स्वास्थ्य सचिव अध्यक्ष रहने ११ सदस्सीय निर्देशक समिति हुने  व्यवस्था गरिएको छ । यो निर्देशक समितिमा स्वास्थ्य सचिव अध्यक्ष हुनेछन् ।

सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक, नीति तथा योजना महाशाखा प्रमुख, समन्वय महाशाखा प्रमुख, मन्त्रालयका प्रशासन (सहसचिव) प्रमुख, स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभागकै नर्सिङ महाशाखा प्रमुख रहनेछन् ।

यसैगरी, अर्थ मन्त्रालयको सहसचिवस्तरको प्रतिनिधी, अस्पताल व्यवस्थापन जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्रको क्षेत्रमा कम्तिमा सात वर्षको अनुभव हासिल गरेका विज्ञमध्येबाट मन्त्रालयले मनोनित गरेका कम्तिमा एक जना महिलासहित दुई जना, उपभोक्ता हित तथा संरक्षण क्षेत्रमा क्रियाशील रही कम्तिमा सात वर्षको अनुभव हासिल गरेका व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनित गरेका कम्तिमा एकजना महिलासहित दुई जना व्यक्ति सदस्य हुनेछन् । निर्देशक समितिको सदस्य सचिव भने स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख हुने व्यवस्था मस्यौदामा गरिएको छ ।

यो निर्देशक समितिले मुख्यतयाः अस्पताल व्यवस्थापन तथा सञ्चालनका लागि नीतिगत निर्देशन तथा समन्वयको काम गर्नेछ । यसबाहेक समितिले सेवा प्रवाह, गुणस्तर, बिरामी सुरक्षा सुशासन सम्बन्धी नीतिहरु तर्जुमा गर्ने, अस्पताल व्यवस्थापनका सम्बन्धमा मन्त्रालयबाट स्वीकृत नीति तथा मापदण्डको प्रभावकारी कार्यन्वयन, मुल्यांकन र अनुगमन गर्ने, सेवा शुल्क तयार पार्ने र अधिकतम सीमा निर्धारण गर्ने, अस्पताल विकास समितिको वार्षिक कार्यक्रम तथा बजेटलाई स्पष्ट मार्गनिर्देशकलगायतका काम गर्ने, अस्पताल विकास समितिले पेश गरेका बजेट तथा कार्यक्रम स्वीकृत गर्ने छ ।

यसैगरी, अस्पतालको कार्यसम्पादन मुल्यांकन गर्ने, सेवाग्राहीको गुनासो सुनुवाई र सम्बोधनका लागि संयन्त्र विकास गरी कार्यन्वयन गर्ने, अस्पतालका तथ्यांक र सूचनालाई एकीकृत र व्यवस्थित गर्न अस्पताल व्यवस्थापन सूचना प्रणाली लागु गर्ने, अस्पतालको फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने र नवीन प्रविधी, अनुसन्धान र विकासलाई स्वास्थ्य सेवामा प्रोत्साहन गर्नेछ ।

समितिलाई आवश्यकताअनुसार विज्ञहरुलाई बैठकमा आमन्त्रित गर्न सक्ने अधिकारी पनि दिइएको छ । समितिका सदस्यको कार्यकाल चार वर्षको हुने व्यवस्था गरिएको छ । समितिलाई उपसमिति वा कार्यदल गठन गर्न सक्ने अधिकार मस्यौदामा प्रस्ताव गरिएको छ ।

ऐनको मस्यौदामा अहिलेको अस्पताल विकास समितिको ठाउँमा ‘व्यवस्थापन समिति’को प्रस्ताव गरिएको छ । उक्त समितिमा स्वास्थ्य मन्त्रालयले नियुक्त गरेको व्यक्ति अध्यक्ष र सम्बन्धि अस्पतालको प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

७ सदस्सीय व्यवस्थापन समितिमा अस्पताल रहेको स्थानीय तह प्रमुख वा निजले तोकेको प्रतिनिधी, अस्पतालको नर्सिङ विभाग प्रमुख, अस्पतालको बरिष्ठ चिकित्सकमध्येबाट एक जना, अस्पताल रहेको स्थानीय तहमा स्थायी ठेगाना भएर उपभोक्ता हित र संरक्षणका क्षेत्रमा क्रियाशील रही कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको एक जना र अस्पताल रहेको स्थानीय तहको समाजसेवी एक जना  सदस्य रहने प्रस्ताव मस्यौदामा छ ।

एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न बनेको विधेयक मस्यौदा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ