काठमाडौं—स्वदेशी—विदेशी बिरामीलाई विश्वस्तरीय अर्थोपेडिक्स सेवा दिइरहेको लाजिम्पाटस्थित अनमीव हेल्थले कार्डियोलोजी सेवा सुरु गरेको छ । आइतबारबाट टर्कीको प्रतिष्ठित अस्पतालमा ८ वर्ष काम गरेर फर्किएका क्लिनिकल इन्टरभेनसनल कार्डियोलोजिष्ट डा. अशोक पौडेलको नेतृत्वमा अस्पतालले कार्डियोलोजी सेवा सुरु गरेको हो ।
अस्पतालका संस्थापक तथा मेडिकल निर्देशक डा. चक्रराज पाण्डेकाअनुसार बिरामीलाई विश्वस्तरीय र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ अनमीवले कार्डियोलोजी सेवा सुरु गरेको हो । टर्कीको प्रतिष्ठित अस्पतालमा अनुभव हासिल गरेका र त्यहीको वर्ल्ड क्लास युनिभर्सिटीमा पढेका चिकित्सकको नेतृत्वमा कार्डियोलोजी सेवा सुरु गरेको डा. पाण्डेले जानकारी दिए ।
‘राम्रो चिकित्सक नहुँदासम्म इन्भेष्टमेन्ट गर्ने कुरा पनि भएन । क्वालिटी, कमिटमेन्ट र लङ टर्म नेपालमा केही गर्छु भन्ने भावना भएको चिकित्सक पाएपछि हामीले कार्डियोलोजीको क्याथ ल्याब आवश्यक पर्नेबाहेक सबै सुविधाहरुमा इन्भेष्टमेन्ट गर्न लागेका हौं,’ उनले भने ।
अनमीवको कार्डियाक सेन्टरको नेतृत्व गर्न लागेका डा. पौडेलसँग टर्कीको विश्वप्रसिद्ध हस्पिटल असिबादेम अल्तुनिजादे हस्पिटलमा ८ वर्ष कन्सल्ट्यान्ट क्लिनिकल इन्टरभेनसनल कार्डियोलोजिष्टका रुपका काम गरेको अभुनव छ । अंकारा युनिभर्सिटी स्कुल अफ मेडिसिनबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएस गरेका उनले टर्कीकै मार्मारा युनिभर्सिटी स्कुल अफ मेडिसिनबाट कार्डियोलोजीमा विशेषज्ञता हासिल गरेका हुन् ।
‘क्लिनिकल इन्टरभेनसनल कार्डियोलोजीको नलेज लिएर आएको र अमेरिकी, युरोपियनसहितका विदेशी चिकित्सकहरु काम गर्ने इस्तानबुलको धेरै फेमस अस्पतालमा झण्डै ८ वर्ष काम गरेका प्रचुर अनुभव भएको युवा चिकित्सकमार्फत हामीले हाम्रा बिरामीलाई गुणस्तरीय कार्डियोलोजी सेवा उपलब्ध गराउन थालेका छौं,’ डा. पाण्डेले थपे, ‘टर्कीमा म आफै पढेकाले त्यहाँको प्रयाक्टिस मलाई राम्रोसँग थाहा छ ।’
अनमीवले अहिले कार्डियाक कन्सल्टेसन, एक्जामिनेसन, इकोलगायतका सेवा सुरु गरेको छ भने टिएमटी, एबीपी, हल्टरलगायतका क्याथल्याबबाहेका सबै सुविधा दशैंभित्रै सुरु गर्ने योजना छ । ‘बिरामीको संख्या बढ्दैं गएपछि आफ्नै क्याथ ल्याब पनि स्थापना गर्छौ,’ डा. पाण्डेले थपे, ‘अर्थोपेडिक्सको उच्च गुणस्तरीय केयर स्वदेशी तथा विदेशी बिरामीले अस्पतालबाट पाएजस्तै हामी कार्डियाक बिरामीलाई पनि क्वालिटी केयर दिन चाहन्छौं ।’ उनले आफूहरुको प्रयास नेपालको हेल्थ केयरमा ‘स्टेप वाई स्टेप ट्रान्सफर्मेसन’ गर्ने रहेको बताए ।
डा. पौडेलले टर्कीमा आफूले हासिल गरेको युरोपियन स्ट्याण्डर्डको कार्डियोलोजी सेवा नेपालमा सुरु गर्न पाउँदा खुसी लागेको बताए । ‘कार्डियोलोजीका क्याथ ल्याब आवश्यक पर्नेबाहेकका सबै सेवा एक महिनाभित्र सुरु गर्दैछौं,’ डा. पौडेलले भने, ‘म आफ्नो देशमा सेवा गर्न पाउँदा अत्यन्त खुसी छु ।’ डा. पौडेलकाअनुसार अनमीव हेल्थमा आएको बिरामीलाई निकट भविष्यमै कप्लिट केयर दिने योजना छ । ‘त्यसका लागि क्याथ ल्याबसहितका सबै प्रक्रिया पूरा गरेपछि हामी कप्लिट केयर सुरु गर्छौ,’ उनले भने, ‘राम्रो केयर दिने मेरो योजना हो ।’
को हुन् डा. पौडेल ?
बुटवल सालझण्डीका डा. पौडेलले सिद्धार्थ वनस्थलीबाट स्कुल शिक्षा पूरा गरेका हुन् । त्यसपछि इन्जिनियरिङ अध्ययन संस्थानमा १४ नम्बरमा नाम निकालेर इन्जिनिरिङ पढ्दा—पढ्दै टर्कीको अंकारा युनिभर्सिटी स्कुल अफ मेडिसिनमा एमबीबीएसको छात्रवृत्ति पाए । ‘इन्जिनियरिङ पढ्दा—पढ्दै एमबीबीएस पढ्ने अवसर पाएपछि म अंकारा युनिभर्सिटी गए,’ पौडेलले भने, ‘मलाई कम्प्युटरभन्दा पनि मान्छेसँग अन्तक्रिया गर्न मन थियो ।’
सन् २००६ मा टर्की गएका उनले सुरुका एक वर्ष भाषा सिके । अंकारा युनिभर्सिटी स्कुल अफ मेडिसिन एमबीबीएस गरे । टर्कीकै मार्मारा युनिभर्सिटी स्कुल अफ मेडिसिनबाट कार्डियोलोजीमा विशेषज्ञता हासिल गरे ।
त्यसपछि उनले ८ वर्ष टर्कीको विश्वप्रसिद्ध हस्पिटल असिबादेम अल्तुनिजादेमा क्लिनिकल इन्टरभेनसनल कार्डियोलोजिष्टका रुपमा काम गरे । केही समय उनले उक्त अस्पतालको सीसीयु (क्रोनरी केयर युनिट) इञ्चार्जको जिम्मेवारी पनि सम्हाले । टर्कीको ठूलो हस्पिटलका रुपमा चिनिने यो हस्पिटलको टर्कीसहित युरोपका विभिन्न देशमा २२ वटा शाखा छन् ।
सन् २०१८ मा उनले मेड्ट्रोनिक इस्तानबुलमा ‘द पेसमेकर प्रिन्सिपल इन क्लिनिकल प्र्याक्टिस’ सन् २०१८—२०१९ मा बेल्जियमबाट ‘कार्डियाक एरिदमिया म्यानेजमेन्ट’मा फेलोसीप गरे । साथै, उनले मुटु रोगका बिरामीको कन्सल्टेसन, गम्भीर बिरामीको उपचार, एरिदमिया व्यवस्थापन, हर्टअट्याक व्यवस्थापन, कोरोनरी धमनी र पेरिफेरल धमनीका रोगको व्यवस्थापन र इन्टरभेन्सन (एन्जियोग्राफी, एन्जीओप्लाष्टी र स्टेन्ट), डिप भेन थ्रोम्बोसिस व्यवस्थापन र इन्टरभेन्सन, पल्मोनरी एम्बोलिज्म व्यवस्थापन र इन्टरभेन्सन, हर्ट फेलियर म्यानेजमेन्ट, पेसमेकर र आईसीडी प्रत्यारोपणमा अनुभव हासिल गरे ।
डा. पौडेलले टर्कीमा रहँदा फेनेरबाचे र बेशिक्तास फुटबल क्लबका खेलाडीहरुको कार्डियोलोजी एक्जामिनेसनमा पाँच वर्ष काम गरे । ‘वल्र्डक्लास प्लेयरहरुको एक्जामिनेसन गरे, चिनजान पनि भयो,’ उनले भने ।