काठमाडौं—बालबालिका तथा किशोर—किशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच सम्झौता भएको छ। बुधबार मन्त्रालय र सिविनबीच सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा इकाईहरू क्रमसः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका छन्।
सिविन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ को विनाशकारी भूकम्पपछि बालबालिका र किशोर—किशोरीमा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न यी सेवाहरू सुरु गरिएका थिए। विगत नौ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएका यी स्वास्थ्य सेवाहरूको दिगोपना सुनिश्चित गर्न अब सरकारले पूर्ण स्वामित्व लिने प्रक्रिया अघि बढाएको हो।
सम्झौता—पत्रमा हस्तान्तरणको स्पष्ट कार्ययोजना उल्लेख गरिएको छ, जसअनुसार, सन् २०२६ सम्ममा सिविन नेपालले हालकै मोडेलअनुसार सेवा सञ्चालनको सम्पूर्ण आर्थिक तथा प्राविधिक जिम्मेवारी लिनेछ। सन् २०२६ देखि २०२८ सम्ममा सरकारले क्रमसः आफ्नो बजेट विनियोजन बढाउँदै लैजाने छ । सन् २०२८ पछि दुवै इकाईहरूको सञ्चालन, व्यवस्थापन र आर्थिक भार पूर्ण रूपमा नेपाल सरकार र सम्बन्धित अस्पतालहरूको मातहतमा आउनेछ।
सम्झौताले नेपालमा बालबालिका तथा किशोर—किशोरीको मानसिक स्वास्थ्यजस्तो संवेदनशील र महत्त्वपूर्ण विषयलाई सरकारको प्राथमिकतामा राखी सेवाको पहुँचलाई देशव्यापी बनाउन सहज हुने मन्त्रालयको विश्वास रहेको छ।