काठमाडौं—भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३२ करोड लागतमा तीन वटा भवन निर्माण गरिने भएको छ । विपी कोइराला क्यान्सर अस्पताललले अनुमानित ३२ करोड ६ लाख ७७ हजार लागतमा बोनम्यारो ट्रान्सप्लान्ट भवन, पी.ई.टी.—सि.टी. स्क्यान भवन र साइक्लोट्रोन भवन निर्माण गर्न लागेको हो ।
अस्पतालले वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) प्रतिवेदनअनुसार भरतपुर महानगरपालिका—७ यज्ञपुरीमा उक्त तीन वटा भवन निर्माण हुनेछन् । अस्पतालले साइक्लोट्रोन भवन निर्माणका लागि ६ करोड ९६ लाख २७ हजार ५५४ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त एक तले भवन ५४५.५३ वर्गमिटर क्षेत्रफलमा बन्नेछ ।
यसैगरी, विपीले निर्माण गर्ने दुई तलाको पी.ई.टी.—सि.टी. स्क्यान भवनका लागि १० करोड १० लाख ४९ हजार ८०४ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त भवन ८५७.८३ वर्गमिटर क्षेत्रफलमा बन्नेछ ।
दुई तलाको बोनम्यारो ट्रान्सप्लान्ट भवन १५ करोड रुपैैयाँ लागतमा बन्ने अनुमान छ । उक्त भवन ९१६.५३ व.मि. मा बन्नेछ ।
उक्त सेवाहरु विस्तारका लागि अस्पतालमा थप ३०६ जना जनशक्ति आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनकाअनुसार हाल अस्पतालमा ८७० जनाको दरबन्दी रहेको छ । जसमध्ये ५६५ स्थायी, ११४ करार र ३५ जना ज्यालादारीमा गरी ७१४ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । अहिले अस्पतालमा १५६ कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।