२०८२ भदौ ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा सीप, ज्ञान र समय दिनु हो’

डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा सीप, ज्ञान र समय दिनु हो’


काठमाडौं—वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो कर्म बिरामीको सेवा भएको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै रुइतले हरेक राजनीतिक उथलपुथलपछि आफूलाई कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न अनुरोध गरिएपनि आफ्नो कर्म बिरामीको सेवा भएको बताएका छन् ।

‘मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ,’ डा. रुइतले भनेका छन्, ‘तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो ।’

आफ्नो साधना नै अन्धोपन निवारण भएको बताउँदैं उनले नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु आफ्नो लक्ष्य भएको उल्लेख गरेका छन् । ‘मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस्,’ उनले भनेका छन् ।

डा. रुइतले सबै नेपालीले आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा देशअवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने बताएका छन् । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु,’ उनले भनेका छन्, ‘अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।

जेन—जी आन्दोलनपछि डा. रुइतलाई स्वास्थ्यमन्त्री बनाइनुपर्ने चर्चाकाबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो ।

डा. रुइतको विज्ञप्ती

प्रिय शुभचिन्तकहरू,

भदौ २३ र २४ मा “जेन-जी” ले नेपालमा व्याप्त राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुको परिवारलाई यो असिम शोकको घडीमा समवेदना प्रकट गर्दछु । प्रदर्शनकै क्रममा घाइते हुनुभएका सबैको शिर्घ स्वास्थ्यलाभको कामना गर्दछु ।

लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका नेपालीले साथ दिनुभयो । मलाई भोलीका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविदा छैन ।

मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो । मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस् ।

हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु । अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ