काठमाडौं—केही दिन अघिदेखि नै २३ भदौको जेन—जी पुस्ता सडकमा उत्र्ने भन्दै सामाजिक संजाल टिकटकमा आन्दोलनको व्यापक प्रचार—प्रसार चलिरहेको थियो । सिभिल अस्पताल मीनभवनका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मी पनि त्यो सूचनाबाट अन्जान थिएनन् । आन्दोलनकारीले माइतीघरबाट नयाँ बानेश्वर केन्द्रीत आन्दोलनको घोषणा गरेका थिए ।
झण्डै अढाइ वर्षदेखि सिभिल अस्पतालमै काम गरेका र ६ महिनाअघिबाट अस्पतालको नेतृत्व सम्हालेका डा. रेग्मीले यसअघि नयाँबानेश्वर केन्द्रीत आन्दोलनमा हुने झडपबाट हुने घाइते सुरुमा सिभिल अस्पत नै आउने गरेको भोग्दै आएका हुन् । त्यही भएर २३ भदौंमा पनि हुन सक्ने सम्भावित घटना र आउन सक्ने घाइतेको उपचारका लागि पूर्व तयारीको विषयमा उनले अघिल्लो दिनको बैठकमा नै सजग गराइसकेका थिए ।
‘यसअघि पनि नयाँ बानेश्वर केन्द्रीत आन्दोलन हुँदा झडप भएका घाइते यही आउने गरेका कारण सजग थियौं,’ उनले भने, ‘हामी मानसिक रुपमा तयारी अवस्थामा थियौं । तर, २३ भदौंमा सोचेभन्दा धेरै फरक घाइतेहरु आए, फरक प्रकृतिका आए ।’
अघिल्ला आन्दोलनमा जुन प्रकारका घाइते आउँथे र जुन संख्यामा आउथे २३ भदौंको घटनाले निर्देशक डा. रेग्मी मात्र होइन् सिभिल अस्पतालका सबै चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई चकित मात्र बनाएन स्तब्ध पनि बनायो ।
‘एक छिन त के हो के हो अलमलमा नै पर्यौं,’ अस्पतालकी नर्सिङ प्रशासक सविका मुनिकार भन्छिन्, ‘यस्तो त कल्पना पनि गरिएको थिएन ।’ त्यसो त सोही दिन सिंहदरबारमा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिले पनि बैंठक आयोजना गरेको थियो । निर्देशक प्रा.डा. रेग्मीले त्यो तहको आन्दोलन कल्पना गरेका थिएनन्, त्यहीकारण उनी पौने ११ बजेतिर अन्य साथीहरुलाई एलर्ट बस्न भन्दै सिंहदरबारमा समितिको बैठकमा सहभागी हुन पुगेका थिए ।
तर, समितिको कार्यलय पुग्दा नपुग्दै खबर आयो, ‘ठूलो झडप भयो । थामी नसक्नुको क्याजुलटी छ ।’ समितिको बैठक कक्षबाटै उनले ड्युटीमा रहेका सबै चिकित्सक र नर्सिङ स्टाफलाई इमर्जेन्सीमा केन्द्रीत गर्न मेडिकल डाइरेक्टर र नर्सिङ प्रमुखलाई निर्देशन दिए । त्यति भनेर खबर गरेलगतै उनी आफै पनि अस्पताल दौडिए । ‘अस्पताल आइपुग्दा घाइते र बिरामीले इमर्जेन्सीमा खुट्टा राख्ने ठाउँ थिएन्,’ उनी सम्झन्छन्, ‘केही स्पोट डेथ भएका पनि आइपुग्न थालेका थिएँ । नयाँ बानेश्वर क्षेत्र रगतले लतपतिएको थियो ।’
२३ भदौं आन्दोलनको पहिलो दिन १५ शैय्याको इमर्जेन्सीमा एकैपटक २०० बढी बिरामी आइपुगेका थिए । अझ त्यसमाथि अस्पताल भित्रै फाइरिङ पनि भयो । आकस्मिक कक्षमा अश्र्ग्याँस हानियो, लाठी चार्ज पनि भयो । ‘केही क्षण त अस्पताल नै मरुभूमी जस्तो भएको थियो,’ त्यो अकल्पनीय क्षणलाई सम्झदैं प्रा.डा. रेग्मी भन्छन्, ‘अहिले सपना जस्तो लागिरहेछ ।’
जेन—जी आन्दोलनको दुई दिनमा ४ सय ५० घाइतेको उपचार गरेको सो अस्पतालले ५० वटा गोली लागेको शल्यक्रिया मात्र गरेको छ । यस्तो अवस्थामा अस्पतालले कसरी उपचार ग¥यो ? व्यवस्थापन कसरी भयो ?
रणभूमीको झल्को दिने अस्पताल
निर्देशक प्रा.डा. रेग्मी सिंहदरवारबाट २५ मिनेटको फरकमा अस्पताल फर्किदै गर्दा नयाँ बानेश्वरमा रक्तपात भइसकेको थियो । ११ बजेबाट अस्पतालमा घाइते आउन थालिसकेका थिए । एक जना घाइते अस्पताल ल्याइपुर्याउँदा नै मृत्यु भइसकेको थियो । आकस्मिक कक्षमा सयौं घाइते थिए । १२ बजे अस्पताल बाहिर ठूलो भिडन्त भइरहेको थियो । प्रहरी अस्पतालभित्र नै छिरेर लाठी र अश्रुग्यास हान्न थाल्यो । अस्पताल परिसर एक किसिमले रणमैदान बन्योे ।
‘अश्रुग्यास र लाठी आकस्मिक कक्षमै चलेको थियो,’ उनले भने, ‘हाम्रा स्वास्थ्यकर्मी चिकित्सक र नर्सहरुले संयमता अपनाएर निरन्तर सेवा दिइरहनुभयो ।’
दोस्रो दिन राजधानीका विभिन्न ठाउँमा भएका आगजनीले अस्पताल नै धुँवाले भरिएको थियो । अझ अस्पतालमै केही होला कि भन्ने चिन्ता पनि रहेको थियो । त्यो समयमा पनि सिभिल अस्पतालको टिमले उच्च मनोबलका साथ सेवा जारी राख्यो ।
संकटमा पार
सिभिल अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी, नर्स र प्रशासनका सबैले पटक—पटक यस क्षेत्रमा हुने आन्दोलनका घाइतेको उपचार गरिरहेका छन् । त्यो अनुभवले नै यस पटकको महासंग्रामलाई थेग्ने सामर्थ्य जुटायो । ‘पछिल्लो पटक तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनले पनि हामीलाई केही सजग बनाएको थियो,’ निर्देशक डा. रेग्मी भन्छन् ।
अधिकांश अस्पतालहरुले इमर्जेन्सी र ठूलो घटना हुँदा कसरी ह्याण्डल गर्ने भनेर प्रोटोकल बनाएका हुन्छन् । जसलाई डिजास्टर प्रोटोकल भनिन्छ । अस्पतालले घटना सुरु हुनासाथ त्यसलाई सक्रिय बनायो । सबै वार्ड तथा विभागलाई सूचना गर्यो । आपतकालीनबाहेक अन्य सबै सेवालाई निस्क्रिय गरी इमर्जेन्सीमा सबैलाई फोकस गरियो ।
‘तलको बफर जोन र ओपीडी कक्षलाई पूरै आकस्मिक उपचारका लागि प्रयोग गरियो,’ नर्सिङ प्रशासक मुनिकार भन्छिन् ‘सबै स्टाफलाई इमर्जेन्सीमै फोकस गराइयो ।’
निर्देशक डा. रेग्मी आफैले ईआरको कमाण्ड सम्हालेर आकस्मिक कक्षमै बसे भने नर्सिङ निर्देशक मुनिकार पनि त्यही खटिइन् । ‘हाम्रो अस्पतालका स्टाफहरु यति खटिनुभयो कोही—कोहीले ३६ घण्टा नियमित रुपमा काम गर्नुभयो,’ उनी भन्छिन् ‘कम्तिमा पनि २४ घण्टा सबै लगातार खटिनुभएको छ ।’
पहिलो दिन विद्यार्थीहरु थिएँ, विद्यार्थीहरुलाई व्यवस्थापन गर्न गाह्रो भएको थियो । दोस्रो दिन घर जाने अवस्था थिएन ।
एम्बुलेन्स तोडफोड भएका थिए, गाडी जलेका थिए । अस्पताकला सबै स्टाफको बिदा क्यान्सिल गरियो । डबल ड्युटी खटाइयो । मेडिकल सप्लाई र रिसोर्सका कुराहरुमा स्वास्थ्य मन्त्रालयको सपोर्ट लिइयो । केही भोलिन्टियर रुपमा काम गर्न आए । केही बाहिरबाट पनि सहयोगका लागि आए । बिरामी ट्रान्सफर, भित्रका केही अन्य कामहरुमा केही संघसंस्थाहरुले सहयोग पुर्याए । स्टाफ र बिरामीलाई खानाका लागि पनि बाहिर व्यवस्था गरियो ।
‘हामीसँग भएको स्रोत—साधनलाई अधिकतम प्रयोग गरियो,’ निर्देशक डा. रेग्मी भन्छन्, ‘प्रशासनलाई समन्वय र व्यवस्थापनको जिम्मा दिइएको थियो । म आफै ईआरको सेन्टर कमाण्डमा खटिए ।’
एकैपटक ठूलो दुर्घटना भएका कारण घाइतेको संख्या बढ्दै जादा निर्देशक डा. रेग्मीले काठमाडौंका ठूला अस्पतालका सबै निर्देशकहरुसँग समन्वय गरिरहेका थिए । उनीहरुसँग सम्पर्क र समन्वयमा काम भइरहेको थियो । ‘मलाई यहाँहरुको मानवीय स्रोत र एम्बुलेन्स आवश्यक पर्छ भनेर भनेको थिएँ,’ उनी भन्छन्, ‘सबै सरकारी अस्पतालको एम्बुलेन्स र जनशक्ति आउनुभयो । यहाँ आएर सहयोग गर्नुभयो । एम्बुलेन्सले बिरामी अन्तः पनि ट्रान्सफर गर्नुभयो ।’
युद्ध मैदानको अस्पताल
सिभिल अस्पताल नेपालको राजधानीको मुटु नयाँ बानेश्वरमा रहेको केन्द्रीय अस्पताल हो । तर, गत २३ र २४ भदौको दृश्य हेर्ने हो भने गाजा क्षेत्रमा रहेको अस्पतालजस्तो देखिएको निर्देशक बताउँछन् ।
‘यो त एउटा युद्धको समय हो । मैले भनेको पनि छु हामी त गाजाको अस्पतालमा छौं कि जस्तो लागेको थियो,’ उनी भन्छन्, ‘अस्पतालभित्रै भिडन्त भएर अस्पतालको इमर्जेन्सीसम्म लाठी चार्ज र अश्रुग्यास भएपछि स्वास्थ्यकर्मीलाई काम गर्न गाह्रो भएको थियो ।’
४५० उपचार ५० बढी सल्यक्रिया
सिभिलमा पहिलो दिन १७ र दोस्रो दिन १८ वटा जटिल शल्यक्रिया गरिएको थियो । टाउकोमा चोट लागेकाबाहेक अन्य कुनै पनि बिरामीलाई अन्य अस्पताल रिफर गरिएन् । आइतबारसम्म पुग्दा जेन—जी आन्दोलनका क्रममा घाइते भएका बिरामीहरुको झण्डै ५० वटा शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
यस अवधिमा अस्पतालमा आन्दोलनका ४५० बढी बिरामीको उपचार भएको छ । उपचारमा संलग्न चिकित्सककाअनुसार पहिलो दिन आएका अधिकांश घाइतेलाई गोली र लाठीको चोट छ । दोस्रो दिन भने ढुंगामुढा लागेर घाइते भएका बिरामी पनि छन् ।
‘नयाँ बानेश्वरमा अस्पताल हुनु अवसर मात्र होइन् चुनौती पनि रहेछ’
डा. रेग्मी पहिलो दिन आकस्मिक र व्यवस्थापनमा फोकस भएको र दोस्रो दिन वरपरका सबै विल्डिङ जलेर धुँवाले केही देख्न नसक्ने अवस्था थियो । अस्पतालमै आगजनी होला कि भन्ने भय थियो । त्यो ठूलो दुर्घटना टरेको उनी बताउँछन् । उनी अस्पतालभित्र नै रणभूमी हुनु चेतनाको स्तरमा भएको कमीका रुपमा लिन्छन् । ‘जेजस्तो अवस्था परेतापनि रेस्क्यु गर्ने अस्पताल नै हो, यसलाई एउटा सुरक्षित क्षेत्रको रुपमा बनाइनिुपर्छ,’ उनी भन्छन्, ‘यसको सेक्युरिटी, सप्लाई र ट्रान्सपोर्टेसनको पक्षलाई राज्यले नै विशेष ध्यान दिनुपर्छ ।’
अस्पतालका केन्द्रमा हुनु सबल पक्षको रुपमा भनिन्थ्यो, त्यो मात्र होइन रहेछ चुनौती पो रहेछ भन्ने अहिले महसुस भइरहेको उनको भनाइ छ । केन्द्रमा भइसकेपछि सबै खालका चुनौतीलाई सामना गर्ने गरी यसलाई विकास गर्नुपर्ने उनको सरकारसँग अनुरोध छ ।
सहकर्मीलाई धन्यवाद….
‘एक जुगमा एक दिन आउँछ भनेझैं यो अकल्पनीय घटना पनि आयो । सबैले सिभिल अस्पताल (हामी)ले राम्रो काम गर्यौ भनेर प्रशंसा भइरहेको छ,’ उनी भन्छन् ‘सबैले पेशागत उच्च मुल्यांकन गर्नु भएको छ । सेवा दिनेहरु पनि खुसी हुनुहुन्छ । यसको मुल्यांकन समय र इतिहासले गर्ला ।’ उनी त्यसका लागि अस्पतालका सबै चिकित्सक, नर्स, पारामेडिक्स, प्रशासनलगायतलाई धन्यवाद दिन्छन् ।
‘सबैले जटिल परिस्थितीमा सेवालाई मुख्य प्राथमिकतामा राख्नुभयो । टिम वर्कको नमुना देखिएको छ, सहकर्मी सबैलाई धन्यवाद,’ उनको आग्रह छ, ‘यो एक जुगमा एक दिन आउने हो । यस्तो घटना त देशले नै देखेको थिएन । फेरि देख्नु पनि नपरोस् । मेडिकल्ली एक जना जोगाउन एक दिन लाग्छ । यहाँ अकल्पनीय क्षति भएको छ ।’