२०८२ भदौ ३१, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा

अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा


काठमाडौं—२२ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी सीता तिमिल्सिनाको अटोइम्युन आर्थ्रैटिस (autoimmune arthritis )कारण बायाँ घुँडाको जोर्नी बिग्रियो । सन् २०१७ मा घुँडाको दुख्न थालेपछि उनले अमेरिकामै उपचार सुरु गरिन् ।

औषधिहरु खाइन् तर समस्या ज्युका त्युँ रह्यो । टेक्सासमा बस्दैं आएकी उनको समस्या डाइग्नोस हुँदा नै जटिल अवस्थामा रहेकाले चिकित्सकहरुले घुँडाको जोर्नी प्रत्यारोपण गर्न सुझाएका थिए । ‘सिभियर अवस्थामा डाइग्नोस भएका कारण डाक्टरले जोर्नी प्रत्यारोपण गर्न सुझाव दिनुभएको थियो,’ उनले भनिन् । तर, अमेरिकामा जोर्नी प्रत्यारोपणका लागि सहजै समय पाइदैन् ।

त्यही कारण सीताले डाक्टरको सल्लाहमा मेडिसिनबाट घुँडाको दुखाइ कम गर्ने विधीहरु अपनाइन् । त्यसले काम नगरेपछि उनी सन् २०२२ मा नेपाल फर्केका बेला करुणा अस्पताल गइन् । करुणा अस्पतालमा बाथ रोग विशेषज्ञ डा अन्जल बिस्टमार्फत उपचार गरेर अमेरिकामा फर्किइन् । उक्त उपचारले केही समय सन्चो भयो ।

त्यो बेला नेपालका चिकित्सकहरुले पनि उनलाई घुँडाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए । उनले अमेरिका नै फर्केर जोर्नी प्रत्यारोपण गर्ने सोच बनाइन् । ‘अमेरिका फर्केपछि घुँडाको जोर्नी प्रत्यारोपण गर्ने भनेर कुरा अगाडि बढाए । तर, इन्स्युरेन्स, चिकित्सक कन्सल्टेसन, पालोलगायतका कारण लामो समय लाग्ने भएकाले त्यहाँ मैले तत्काल सर्जरी हुने सम्भावना देखिन्,’ उनले भनिन् । उनको दुखाइ यति धेरै थियो कि उनले तत्काल घुँडाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने आवश्यकता महसुस गरिसकेकी थिइन् तर अमेरिकामा तत्काल त्यो सम्भव थिएन ।

अमेरिकामा सर्जरीको प्रक्रिया नै पूरा गर्न लामो समय लाग्ने भएपछि सीता घुँडाको जोर्नी प्रत्यारोपण गर्नका लागि नेपाल आइन् । ‘अमेरिकामा स्वास्थ्य सेवा एकदमैं राम्रो छ तर नियम—कानुन र प्रक्रिया पूरा गर्दै लामो समय पर्खनुपर्ने भएपछि नेपाल आएकी हुँ,’ ४४ वर्षीया उनले भनिन्, ‘सबैभन्दा ठूलो कुरा यहाँ मेरो साथी नै डाक्टर भएकाले भरपर्दो सेवा निश्चित भयो । त्यसबाहेक चाँडो र गुणस्तरीय सेवा पाउने सुनिश्चितता भयो र खर्चका हिसाबले पनि यहाँ निकै कम खर्च छ ।’

नेपाल फर्केपछि चुनिखेलस्थित करुणा अस्पतालमा डा. रामकुमार श्रेष्ठ कहाँ पुगिन् । डा. राम उनका स्कुलका सहपाठी पनि हुन् । करुणा अस्पतालले घुँडाको जोर्नी प्रत्यारोपणको तयारी पूरा गरेकाले शनिबार जोर्नी प्रत्यारोपण सर्जन डा. शैलाज रन्जितकारले सीताको घुँडाको जोर्नी प्रत्यारोपण गरे । बेलायतमा झण्डै ८ वर्षको अनुभव लिएर फर्किएका डा. शैलाजले जोर्नी प्रत्यारोपण गरिदिएपछि उनलाई बुधबार डिस्चार्ज गर्ने तयारी अस्पतालको छ ।

‘उहाँ (सीता) को बाथ रोगले घुँडाको जोर्नी पूरै खिइएको थियो । हिड्न नसक्ने अवस्था थियो,’ डा. शैलाज भन्छन्, ‘हामीले उहाँको शनिबार बायाँ घुँडाको जोर्नी प्रत्यारोपण गरेका छौं ।’ घुँडाको जोर्नी खिइएर वर्षौदेखि खुट्टा नचलाइएका कारण सीताका मसल्सहरु पनि कमजोर भएकाले राम्रोसँग हिड्डुल गर्न भने केही समय लाग्ने उनले जानकारी दिए । ‘उहाँलाई फिजियोथेरापी एकदमै जरुरी छ । मासुलाई बलियो बनाउन ३ देखि ६ महिना लाग्न सक्छ,’ उनले भने, ‘अर्को घुँडाको जोर्नी पनि गएकाले त्यो जोर्नी तीनदेखि ६ महिनापछि प्रत्यारोपण गर्नुपर्छ ।’

घुँडाको जोर्नी खिइएका कारण बिरामीलाई पेन हुने, हिड्न नसक्नेजस्ता समस्या आउने डा. शैलाज बताउँछन् । ‘त्यस्तो बिरामीमा घुँडाको जोर्नी प्रत्यारोपण गरिन्छ,’ उनी भन्छन्, ‘उमेर गएको मान्छेलाई यो बढी गर्छौ । तर, कहिलेकाहीँ अन्य रोग वा ट्रमा कारण घुँडाको जोर्नी बिग्रिएमा पनि जोर्नी प्रत्यारोपण आवश्यक पर्छ ।’ उनले करुणा अस्पतालमा भर्खर यो सेवा सुरु भएकाले निरन्तरता दिइने बताए ।

करुणा अस्पतालमा प्रमुख कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले घुँडाको जोर्नी खिइएर दुखाइ भएका बिरामीका लागि अस्पतालले जोर्नी प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिए । ‘घुँडाको जोर्नी प्रत्यारोपण नियमित गर्ने गरी हामीले सुरु गरेका हौं,’ डा. श्रेष्ठले भने, ‘करुणा अस्पतालले घुँडा जोर्नी फेर्नुपर्ने बिरामीको दुखाइ कम गर्ने योजनामा काम गरिरहेको छ ।’ उनले बेलायतमा ८ वर्ष लामो अनुभव हासिल गरेर फर्केका डा. शैलाज रंजितकार अस्पतालसँग आवद्ध भएपछि करुणाले घुँडाको जोर्नी प्रत्यारोपण सुरु गरेको बताए । ‘अब नियमित रुपमा घुँडाको जोर्नी प्रत्यारोपण हुन्छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ