काठमाडौं—स्वास्थ्य बीमाले अघिल्लो आर्थिक वर्षको बक्यौताअन्तर्गतको ४ अर्ब ३५ करोड रुपैयाँ अस्पतालहरुलाई निकासा गरेको छ ।
गत हप्ता बसेको बोर्ड बैठकले गत आर्थिक वर्षको असोजसम्मको सम्पूर्ण बक्यौता चुक्ता गर्ने निर्णयअनुसार २९६ वटा स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
यसअघि स्वास्थ्य बीमा बोर्डले कात्तिकदेखि चैतसम्मको पेश्कीस्वरुप २५ प्रतिशत रकम उपलब्ध गराइसकेको छ ।
१५ जेठको बजेट भाषणमा निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमाको बाँकी रहेको बक्यौता पर्स्योट गर्ने र चालु आर्थिक वर्षका लागि १० अर्ब छुट्याएका थिए ।
तर, हालसम्म गत वर्षकै १५ अर्ब ३३ करोडभन्दा बढी बक्यौता रकम बोर्डले स्वास्थ्य संस्थालाई तिर्नुपर्ने रकम बाँकी छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले अहिलेसम्म गत वर्षको असोजसम्मको सम्पूर्ण बक्यौता रकम फरफारक भएको र चैतसम्मको पेश्की रकम पनि भुक्तानी भइसकेको जानकारी दिए ।