काठमाडौं—निवर्तमान स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य सचिव नियुक्तिको विषयलाई लिएर बढेको असन्तुष्टिका कारण विदामा बसेकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा मन्त्रालयमा हाजिर भएकी छन् । बिहीबार ६ महिनाभन्दा बढी समय बिदामा बसेकी १२ औं तहकी उच्च अधिकारी डा. संगीता मन्त्रालयमा हाजिर भएकी हुन् ।
जेन—जी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । केपी सरकार ढलेसँगै सोही मन्त्रीमण्डलका प्रदीप पौडेल पनि आउट भएका थिए । पौडेल स्वास्थ्य मन्त्रालयको नेतृत्वबाट आउट भएसँगै डा. संगीता मन्त्रालयमा इन भएकी हुन् ।
मन्त्रालयको प्रशासनका सहसचिव दिवस आचार्यले डा. मिश्रा बिहीबारबाट मन्त्रालयमा उपस्थिती भएर कामकाज सुरु गरेको बताए । ‘उहाँ हिजो आउनुभएको थियो,’ उनले भने, ‘बैठकमा पनि बस्नुभयो र कार्यकक्षबाट कामकाज पनि सुरु गर्नुभएको छ ।’
२१ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमा डा. विकास देवकोटा नियुक्त भएका थिए । डा. देवकोटालाई सचिवमा नियुक्त गरेर वरिष्ठता मिचेर आफूमाथि अन्याय गरिएको भन्दैं डा. संगीता विदा बसेकी थिइन् । त्यसयता उनले निरन्तर विदा थप्दैं आएकी थिइन् ।
उनले स्वास्थ्य सचिव डा. देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा समेत हालेकी छन् । तर, उनको उक्त मुद्धामा अहिलेसम्म फैसला भएको छैन ।
६ असोज २०८१ मा निवर्तमान मन्त्री पौडेलले डा. मिश्रालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट हटाएका थिए । उनले डा. मिश्रालाई मन्त्रालयमा तानेर डा. विकास देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएपछि पौडेलसँग उनको तिक्तता सुरु भएको थियो ।
डा. मिश्रालाई १३ भदौं २०८० मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले महानिर्देशक नियुक्त गरेका थिए । त्यतिबेला महानिर्देशक को भन्ने विषयमा डा. देवकोटा र मिश्राबीच तीब्र प्रतिस्पर्धा चलेको थियो । तर, मन्त्री बस्नेतले अन्ततः डा. मिश्रालाई महानिर्देशक बनाएका थिए ।