काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्यमा असहज महसुस गरेपछि राष्ट्रपति पौडेल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
‘कार्डियाक हिसाबले सबै टेष्टहरु गर्यौं । सबै ठिक छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले भने, ‘सबै टेष्टहरु सामान्य आएपछि उहाँलाई निवासमा आराम गर्ने गरी डिस्चार्ज गरेका छौं ।’ उनले राष्ट्रपतिको मुटुमा पेशमेकर राखिएकाले सबै परीक्षणहरु ठीक पाइएपछि डिस्चार्ज गरिएको बताए ।
वान्ता आउने र चक्कर लाग्ने समस्या भएपछि शनिबार अस्पताल पुगेका राष्ट्रपति पौडेललाई मुटुको नभएर कानको समस्या देखिएको थियो । त्यसको उपचारपछि उनलाई डिस्चार्ज गरिएको हो । अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रपतिलाई निवासमै आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
५ असार २०८० मा राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेशमेकर राखिएको थियो । पौडेलको मुटुको चाल कम पाइएपछि उक्त पेशमेकर राखिएको थियो ।
मुटु रोगका बिरामीको उपचारमा प्रयोग हुने पेशमेकर बिरामीको मुटुको चाललाई नियन्त्रण गर्न प्रयोग हुन्छ ।