काठमाडौं-शहीद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित भएका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा बसेको विश्वविद्यालयको पहिलो सभा बैठकले उक्त निर्णय गरेको हो ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्याल ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम विश्वविद्यालय सहकुलपति एंव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बैठक बसेको थियो । विश्वविद्यालय ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (ग) मा अनुसार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सभा सदस्य रहने व्यवस्था छ ।

बैठकले ऐनको परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (छ) बमोजिम स्वास्थ्य विज्ञान सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट मनोनित एक जना सदस्यमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तलाई मनोनित गर्ने निर्णय गरेको छ। यस्तै, विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्येबाट दार्चुलाका प्रा.डा. जयराज अवस्थी, बझाङका प्रा.डा. अम्मराज जोशी, बैतडीका डा. लवदेव अवस्थी, काठमाडौंका प्रा.डा. संगीता राजभण्डारी, दार्चुलाका डा. डम्बरबहादुर पाल र कञ्चनपुरका सह प्रा. अनुराधा रोकायलाई सभा सदस्यमा मनोनित गरेको छ ।
सभा बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार सिफारिसका लागि प्रा. डा. जयराज अवस्थी संयोजकत्वमा समिति बनाएको छ । उक्त समितिमा प्रा.डा. दिपक महरा र प्रा. डा. भारती जोशी सदस्य छन् ।