ललितपुर-किष्ट शिक्षण अस्पतालले उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ। शनिबार ललितपुरस्थित हिमालय होटेलमा एक कार्यक्रम गर्दै मेदान्त अस्पतालका प्रतिनिधी तथा अन्तराष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र अन्तराष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमित कुमार ओझाको उपस्थितीमा सम्झौतामा हस्ताक्षर भएको हो ।
हालै मात्र किष्ट शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता एनएबिएच मान्यता प्राप्त गरेको थियो । एनएबिएच मान्यता प्राप्त गरेको एक वर्षभित्रै किष्टले अन्तर्राष्ट्रियस्तरको यो साझेदारी सुरू गरेको हो।
सम्झौता पश्चात दुवै अस्पतालबीच चिकित्सकीय तथा शल्य-उपचार सहकार्यमा उत्कृष्टताको ढाँचामा प्रविधि, विशेषज्ञता र ज्ञान आदानप्रदान हुनेछ। यस सम्झौता बाट किष्टमा अत्याधुनिक उपकरण तथा उपचार सेवाको विस्तार भई जटिल रोगको उपचार र अनुगमन सेवा नेपालमै सहज हुने अपेक्षा गरिएको किष्ट अस्पतालका अस्पताल निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बताए ।
सहकार्यले हृदय शल्यक्रिया), अस्थि मज्जा प्रत्यारोपण, विकिरण उपचारलगायतका विशेष सेवाहरूको क्षमतामा वृद्धि गर्नेछ भने चिकित्सक र प्राविधिक कर्मचारीका लागि तालिम र विशेषज्ञता आदान-प्रदानका अवसर पनि उपलब्ध हुनेछन्।
दुवै संस्थाबीच दुरदराज स्वास्थ्य सेवा प्रणाली जडान गरिनेछ भने गम्भीर अवस्थाका बिरामीका लागि हवाई एम्बुलेन्स सेवामार्फत रेफरल र उपचार प्रक्रिया सहज हुनेछ।
किष्ट शिक्षण अस्पताल एक बहुविशिष्टीकृत तृतीयस्तर स्वास्थ्य सेवा केन्द्र हो भने मेदान्त अस्पताल भारतको प्रमुख बहु-विशेषज्ञता सम्पन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था मानिन्छ। यस सहकार्यलाई किष्ट-मेदान्त स्वास्थ्य साझेदारी नाम दिइएको छ।