काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्ष पदका लागि युवा चिकित्सक डा. मंगल रावलले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक भिडियोमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका डा. रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘कर्णाली र देशैभरिको चिकित्सा शिक्षा, सेवा र अनुसन्धानमा लामो समयदेखि संलग्न हुँदैं आएको चिकित्सकका रुपमा, चिकित्सा पेशामा बटुलेको अनुभवका आधारमा आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघको अध्यक्ष पदमा यसै भिडियोमार्फत उम्मेदवारी घोषणा गरेको छु,’ उनले भिडियोमा भनेका छन् ।
डा. रावलले जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमीबाट आएका भएपनि विगतमा उल्लेखनीय योगदान पु¥याएका तथा भविष्यमा अझ योगदान दिन सक्ने क्षमता भएका सम्पूर्ण चिकित्सकलाई टिममा जोडिन आग्रह गरेका छन् । ‘किनकी एउटै व्यक्तिको प्रयासले परिवर्तन सम्भव हुँदैन्,’ डा. रावलले भने ।
परिवर्तनको आवाजलाई सशक्त बनाउन १३ मंसिरभित्र नेपाल चिकित्सक संघको सदस्यता लिन समेत उनले चिकित्सकहरुलाई आग्रह गरेका छन् ।
डा. रावलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक्स सर्जरीमा एमएस गरेका उनले बंगलादेशबाट एओए फेलोसीप पूरा गरेका छन् ।
उनी हावार्ड मेडिकल स्कुलका एलआईएमएसईए हुन् । डा. रावल नेपाल ल क्याम्पसमा एलएलबी अध्ययनरत छन् ।
थप पढ्नुहोस्