२०८२ माघ २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह

निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह


काठमाडौं—ग्वार्कोस्थित नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी (निम्स्ट)कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कार्यक्रम र सेटअप किनबेच भएको छ । निम्स्ट र ग्लोबल हस्पिटलको सेटअप बिक्री गरेको अस्पतालका तत्कालीन अध्यक्षसमेत रहेका सञ्चालक जयप्रकाश ठाकुरले जानकारी दिए ।

शिक्षा व्यवसायी रहेका सुर्खेतका राजेन्द्र शर्मासहितको समूहले निम्स्टको एजुकेशन प्रोग्रामसहित सेटअप र ग्लोबल हस्पिटलको सेटअप झण्डै १० करोड रुपैयाँमा किनेको हो । अध्यक्ष ठाकुरले गत कात्तिक मसान्तबाट आफूहरुले कलेज र हस्पिटलको स्वामित्व बेचेर बाहिरिएको बताए ।

‘गत कात्तिक मसान्तसम्म हामीले नै निम्स्ट कलेज र ग्लोबल हस्पिटलको व्यवस्थापन सम्हालेका थियौं,’ ठाकुरले हेल्थआवाजसँग भने, ‘मंसिरबाट उहाँ (राजेन्द्र शर्मा)लाई बेचेर हामी कलेज र हस्पिटल दुवैको व्यवस्थापनबाट बाहिरिएका छौं ।’

निम्स्ट र ग्लोबल हस्पिटल किनेर भित्रिएका व्यवयासी शर्माले पनि आफूहरुले कलेज र हस्पिटल लिएको बताए । ‘म सहित ५—६ जनाको टिमले निम्स्ट र ग्लोबल हस्पिटल किन्ने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘तर, सबै प्रक्रिया पूरा भइसकेको छैन ।’ तर, शर्माको टिमले १ मंसिरबाटै निम्स्ट र ग्लोबल हस्पिटलको व्यवस्थापन सम्हालेर लोगोसमेत नयाँ बनाएर ब्राण्डिङका काम पनि सुरु गरिसकेको छ ।

निम्स्ट कलेज रहेको पूर्वाधार व्यवसायी ठाकुरकै हो भने ग्लोबल हस्पिटल भाडाको पूर्वाधारमा सञ्चालन हुँदैं आएको छ । ‘निम्स्ट कलेज रहेको भवन हाम्रो आफ्नै हो,’ ठाकुरले भने, ‘हामीले उहाँलाई कार्यक्रम र सेटअप मात्रै बेचेका हौं तर भवन बेचेका छैनौं, भवन भाडामा कलेजलाई नै दिएका छौं ।’

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)अन्तर्गतको नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी (निम्स्ट)मा स्टाफ नर्स, एचएच, फार्मेसी, ल्याब र रेडियोग्राफी गरी पाँच वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । वि.सं. २०६० सालमा स्थापना भएको निम्स्ट कलेजले नै १०० शय्याको ग्लोबल हस्पिटल म्यानेज गर्दै आएको छ ।

व्यवसायी ठाकुरले ग्लोबल हस्पिटल र निम्स्ट कलेजसँगै राजविराजस्थित युनिक कलेज पनि सञ्चालन गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ